
जनस्वास्थ्य सरोकार, कैलाली । सेती प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण सम्पन्न नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समेत समस्या परेको छ ।
विसं २०७४ कात्तिक २७ गते रु २१ करोडको लागतमा दुई तले नवजात र मातृ शिशु विस्तारित भवन निर्माण गर्न काठमाडौँको रविना थेगिम जेभीले अस्पतालसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौतामा ३० महिनामा निर्माण सम्पन्न गरी भवन सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गर्ने उल्लेख छ ।
हालसम्म पनि ठेकेदार कम्पनीको लापर्वाहीका कारण भवन निर्माण अधुरै रहेको अस्पतालले जनाएको छ । निर्माण कम्पनीले हालसम्म ८० प्रतिशतमात्र काम पूरा गरेको अस्पतालका सूचना अधिकारी सौरभ कलौनीले जानकारी दिनुभयो । धनगढीको मुख्य सडक विस्तारका क्रममा अस्पतालको ‘ओेपिडी’ भवन भत्किएपछि भवनको अभाव भएको छ । अस्पतालले निर्माणाधीन अधुरो भवनका केही कोठाबाट ओपिडी सेवा सुरु गरेको छ ।
सो भवन निर्माणका लागि छैटौँ पटकसम्म म्याद थप गर्दा ठेकेदार कम्पनीले दई महिनाभित्रै भवन हस्तान्तरण गर्ने जनाएको थियो । तर सो म्याद गुज्रिदा पनि ठेकेदार कम्पनी सम्पर्कविहीन हुन खोजेको अस्पताल विकास समितिका अध्यक्ष नरबहादुर शाहले जानकारी दिनुभयो । सहरी विकास सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीले सम्झौताअनुसार २०७७ वैशाख २७ मा भवन निर्माणको काम सम्पन्न हुनुपर्ने जनाएको छ । सो भवन निर्माण सम्पन्न गर्न अझै १५/२० प्रतिशत काम बाँकी रहेको छ ।
भवन निर्माणका धेरै काम बाँकी हुँदा पनि निर्माण कम्पनीले काममा तदारुकता नदेखाएको उहाँको भनाइ छ । समयमै ठेकेदार कम्पनीले काम पूरा नगरे ठेक्का रकमको शून्य दशमलव शून्य पाँच प्रतिशत दैनिक जरिवाना गरिँदै आएको जनाइएको छ ।
भवन अभाव हुँदा अस्पतालले बाध्यतावश अधुरो भवनबाट ओपिडी सेवा सुरु गरेको अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. शेरबहादुर कमरले जानकारी दिनुभयो । भवन हस्तान्तरण नहुँदै सेवा सुरु गर्नाका कारण दुवै भवनमा ठाउँ अभाव रहेको उहाँको भनाइ छ ।
अस्पताल भवन हस्तान्तरण भइसकेपश्चात् आइसियु र डायलाइसिस वार्ड तथा एमआरआई मेसिन राख्न सकिने भए पनि अहिले भवन अधुरो हुँदा राख्न सक्ने अवस्था नभएको उहाँले बताउनुभयो । प्रदेशको ‘रिफरल’ अस्पतालका रूपमा रहेको सेतीमा सुदूरपश्चिमका पहाडी जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेका छन् । भवन अभावले सहजरुपमा उपचार प्रदान गर्न समस्या भइरहेको अस्तापलले जनाएको छ । रासस
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
