
जनस्वास्थ्य सरोकार, डडेल्धुरा । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कालाजार रोग जाँच गर्ने किट खरिद गर्न सकेको छैन । कालाजारको जाँच गर्न आरके–३९ किट आवश्यक पर्छ ।
हाल दातृहरुको सहयोगमा किट खोजेर जाँच गर्नुपर्ने ठूलो चुनौती रहेको महाशाखा प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिनुभयो । किट खरिदका लागि टेण्डर आह्वान गरेको भए पनि आपूर्तीकर्ताबाट आवेदन नै नपरेको उहाँले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले डडेल्धुरामा बुधबारदेखि आयोजना गरेको दुई दिने उपेक्षित उष्ण प्रादेशीय तथा किटजन्य रोगको प्रदेशस्तरीय वार्षिक समिक्षा कार्यक्रममा उहाँले कालाजार रोगको स्क्रिनिङमै चुनौती रहेको बताउनुभयो ।
महाशाखासँग किट नभएका कारण स्क्रिनिङको चुनौती हो । उहाँले भन्नुभयो, “किट खरिदका लागि टेण्डर आह्वान गर्यौं । तर आपूर्तीकर्ताबाट आवेदन नै परेनन् । हाल दातृ निकायको सहयोगमा किट उपलब्ध भएपछि स्क्रिनिङ गरिन्छ ।
सरकारले सन् २०२६ सम्म कालाजार निवारण गर्ने लक्ष्य लिएको छ । उहाँका अनुसार सन् १९८० मा नेपालमा पहिलो पटक कालाजार देखिएको थियो । सुदूरपश्चिम र कर्णाली प्रदेशमा कालाजारका बिरामी बढी रहेको उहाँले जानकारी दिनुभयो । डा. दाहालका अनुसार पछिल्लो समय छालामा देखिने कालाजारका बिरामी बढेका छन् ।
सन् २०२३ मा नेपालमा कालाजारका बिरामीको संख्या १९१ रहेको थियो । सुदूरपश्चिम प्रदेशमा मात्र ४५ जनामा संक्रमण देखिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सुदूरपश्चिमका जिल्लागत अवस्था हेर्दा सबैभन्दा बढी बैतडीमा ९ जना, कैलाली र अछाममा ७–७ जना, डोटी, बाजुरा र दार्चुलामा ६–६ जना, कञ्चनपुरमा ३, बझाङमा १ जनामा संक्रमण देखिएको थियो । सुदूरपश्चिम प्रदेशमा डडेल्धुरा बाहेकका सबै जिल्लामा कालाजारका बिरामी फेला परेका छन् ।
यसका साथै उहाँले भारतसँग सीमा जोडिएकाले नेपालमा पनि मलेरियाको जोखिम अझैं कायम रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मलेरिया निवारणको चरणमा छ । सन् २०१४ देखि २०२५ सम्म मलेरिया निवारण गर्ने लक्ष्य छ ।’
सन् २०२२ मा संसारभरी मलेरिया रोगका कारण ६ लाख मानिसको मृत्युभयो । उहाँले भन्नुभयो, “यसको ७९ प्रतिशत संक्रमण भारतमा देखियो । भारतसँग खुल्ला सिमानाका जोडिएकाले सुदूरपश्चिममा यसको जोखिम उच्च देखिन्छ । नाकाहरुमा जाँच र उपचारको व्यवस्था नहुँदा हिमाली जिल्लामा समेत मलेरियाको संक्रमण बढेको छ ।
चालुआर्थिक वर्ष २०८०–८१ को साउन महिनासम्ममा नेपालभरी मलेरियाका बिरामीको संख्या १४१ रहेको छ । यसमध्ये सुदूरपश्चिममा मात्रै ११६ जना छन् । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कैलालीमा ७७ जनामा संक्रमण देखिएको थियो । सुदूरपश्चिममा बाजुरा बाहेका सबै जिल्लामा मलेरिया देखिएको तथ्याङ्क उहाँले प्रस्तुत गर्नुभयो ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख निर्देशक डा. रुद्र मरासिनीले प्रदेश संरचनामा अलग्गै स्वास्थ्य मन्त्रालय चाहिने बताउनुभयो । सुदूरपश्चिम प्रदेशमा हाल सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय वा स्वास्थ्य क्षेत्र रहेकाले विज्ञको अभावमा काम अघि बढ्न नसकेको उहाँले बताउनुभयो । सुप प्रदेश योजना बनाउन नसक्दा पछि परिरहेको उहाँले बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालयलाई कमजोर बनाइएकाले स्वास्थ्य क्षेत्रमा समस्या देखिएको उहाँले बताउनुभयो । स्थानीय सरकारले डाटा उपलब्ध नगराउँदा झन समस्या हुने उहाँले बताउनुभयो । केही समयअघि २५ लाख कोभिड भ्याक्सिन हराएको भन्ने खबर स्थानीय सरकारले तथ्यांक उपलब्ध नगराउँदा भएको उहाँले बताउनुभयो ।
तीन तहका सरकार र स्वास्थ्य क्षेत्रका कार्यालयविच समन्वयको अभाव रहेकाले समन्वय गर्दै जानुपर्ने उहाँको भनाइ छ । निर्देशक डा. मरासिनीले स्थानीय सरकारले कीटजन्य रोगको उन्मूलनका लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । प्रदेश र स्थानीय तहबिच समन्वय नभएसम्म पब्लिक स्वास्थ्यमा सुधार नहुने उहाँको भनाइ छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीका निमित्त निर्देशक रामप्रसाद ओझाले सरकारी ल्याबहरू खुलेको भए पनि दरबन्दीअनुसार कर्मचारी नभएको बताउनुभयो । ल्याबमा काम गर्ने प्राविधिकलाई दक्षता विकास तालिम आवश्यक रहेको उहाँको भनाइ छ । गोरखापत्र अनलाइन
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
विश्व क्यान्सर दिवस २०२६ः फरक पहिचान, साझा लडाइँ
बुधबार, माघ २१, २०८२
बी एन्ड बी अस्पतालमा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ उद्घाटन
सोमबार, माघ १२, २०८२

