जनस्वास्थ्य सरोकार, दाङ । सरकारले निःशुल्क घोषणा गरेका यी औषधी बिरामीले सहजै पाउनुपर्ने भए पनि घोराही उपमहानगरपालिकाले औषधी खरिदमा ढिलाइ गर्दा स्वास्थ्य संस्थामा बिरामीलाई समस्या हुने गरेको छ ।
निःशुल्क घोषणा गरेका औषधी नागरिकले बाहिर किन्नुपर्ने बाध्यता छ । घोराही उपमहानगरपालिकाका सहरी प्रवर्धन केन्द्रमा सिटामोल, एन्टासिट, जीवनजल, एस्पिरिनलगायतका अत्यावश्यक औषधि नपाइने गोरखापत्रले जनाएको छ ।

मङ्सिरसम्म औषधी भए पनि पछिल्लो समय औषधी सकिँदा बिरामीलाई बाहिर खरिद गर्न सुझाव दिने गरेको नारायणपुर सहरी प्रवर्धन केन्द्रका प्रमुख डिल्लीराज आचार्य बताउनुहुन्छ ।
औषधि नहुँदा ज्वरो आएका, टाउको दुख्ने, चोटपटक लागेका बिरामीले निःशुल्क पाइने औषधी किन्नुपर्ने बाध्यता छ ।
उपमहानगरले समयमै औषधी व्यवस्थापन गर्न नसक्दा नगर अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरूमा औषधी अभाव भएको छ तर उपमहानगरपालिकाले टेन्डर आह्वान गरे पनि कसैले ठेक्का नलिँदा औषधी खरिद गर्न नसकेको जनाएको छ ।
नागरिकलाई निःशुल्क उपलब्ध गराउनुपर्ने औषधी टेन्डरमार्फत ल्याउनुपर्ने भएका कारण ढिलाइ भएको घोराही उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण घर्ती बताउनुहुन्छ । दुई पटक टेन्डर आह्वान गरे पनि ठेक्का लागेको छैन । हाल १८ प्रकारका औषधी मगाए पनि १७ प्रकारका औषधी मात्रै आएको छ । उपमहानगरले अहिले चार लाख बजेटमा औषधी खरिद गरेको छ । बाँकी औषधि खरिद गर्ने प्रक्रियामै छ ।
औषधी खरिदकै लागि भनेर सङ्घीय सरकारबाट ३५ लाख रुपियाँ बजेट आएको छ । घोराही उपमहानगरले २५ लाख रुपियाँ औषधी खरिदका लागि छुट्याएको छ । त्यसैले औषधी खरिदमा ढिलाइगर्न नहुने बुद्धिजिवीहरुको भनाइ छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

