
नेपाल हेल्थ न्युज, चितवन । जिल्लामा एक लाख ६१ हजार बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ । नौ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई खोप लगाउन लागिएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार सात सय खोप केन्द्रबाट उनीहरुलाई खोप दिन लागिएको कार्यालयका क्षय–कुष्ठ अधिकृत जयराम दुवाडीले जानकारी दिनुभयो । उहाँका अनुसार अभियानकै क्रममा नियमित खोप छुटेका आठ सय हाराहारीका बालबालिकालाई छुट खोप दिइने छ ।
यही फागुन १३ गतेदेखि चैत १ गतेसम्म सञ्चालन हुने उक्त अभियानमा एक हजार छ सय स्वास्थ्यकर्मी र दुई हजार दुई सय स्वंयसेवक परिचालन गरिने छ । स्वास्थ्य कार्यालय चितवनले अभियानलाई दुई चरणमा विभाजन गरेर सञ्चालन गर्न लागेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपािलकामा १३ गते देखि २२ गते सम्म अभियान सञ्चालन हुने छ ।
अन्यमा राप्ती खैरहनी, रत्ननगर र कालिका नगरपालिकामा भने दोस्रो चरणमा फागुन २३ गतेदेखि चैत १ गतेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ । प्रत्येक दिन ६ घण्टा खोप सञ्चालन गरिने छ । जिल्लामा विसं २०७९ मङ्सिर ३ गते देखि २०८० पुस १५ गते सम्म ५२ जनामा दादुरा रुवेला रोगको सङ्क्रमण देखिएको छ । जिल्लामा भेटिएका सङ्क्रमितमध्ये अधिकांश इच्छाकामना गाउँपालिकाका रहेका रहेका छन् ।
केही सङ्ख्यामा राप्ती नगरपालिकामासमेत यो रोगको सङ्क्रमण रहेको दुवाडीले बताउनुभयो । गर्भवती, एड्स सङ्क्रमित, केमोथेरापी वा उच्च क्षमताको औषधि सेवन गरिरहेका र कडा खालको ज्वरो भएका बालबालिकालाई यो खोप लगाउन मिल्दैन । दुई सय ५० जनाभन्दा बढी बालबालिका भएका संस्थागत र सामुदायिक विद्यालयमा खोप केन्द्र रहने कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिनुभयो । विद्यालय नभएका ठाउँमा पनि खोप केन्द्र रहने छन् ।
यसैगरी सहरका घना बस्ती, सुकुम्बासी बस्ती, उद्योग, कारखाना, बालमन्दिर, अनाथ आश्रम, इँटाभट्टा, अन्तरदेशीय सीमा, बसपार्क जस्ता ठाउँमा पनि खोप केन्द्र राखेर सेवा दिइने उहाँले जानकारी दिनुभयो । खोप केन्द्र निर्धारण गर्दा गाउँपालिकाको प्रत्येक वडामा कम्तीमा एउटा, नगरपालिकाको प्रत्येक वडामा कम्तीमा दुईवटा, उपमहानगरपालिकाको प्रत्येक वडामा कम्तीमा तीनवटा र महानगरपालिकाका प्रत्येक वडामा कम्तीमा चार वटा खोप केन्द्र रहने व्यवस्था रहेको छ । अभियानको क्रममा नौ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई दादुरा–रुबेला खोपका अतिरिक्त डिपिटि–हेप बी–हिव, पिसिभी र आईपिभि खोप लगाइने छ ।
दादुरा रुबेला खोप अभियानको लक्ष्य लक्षित उमेरका बालबालिकालाई दादुरा रुबेला खोप लगाएर दादुरा र रुबेला रोगविरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरी ती रोगबाट सङ्क्रमण हुनसक्ने सम्भावनालाई न्यूनीकरण गर्ने रहेको उहाँको भनाइ छ । पाँच वर्ष मुनिका बालबालिकाको नियमित खोपको अवस्था पहिचान गरेर छुट भएका नियमित खोपको मात्रा लगाउन सहजीकरण गर्ने अभियानको उद्देश्य रहेको छ । रासस
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
