
नेपाल हेल्थ न्युज, काठमाडौँ । काठमाडौं महानगरपालिकाले विपन्न, असहाय र बेवारिसेको निःशुल्क उपचार गर्न अनलाइन प्रणाली सार्वजनिक गरेको छ । महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिनुभएको हो ।
उहाँका अनुसार हाल यो प्रणालीमा ४१ अस्पतालका ३२३ शय्या उपलब्ध भएका छन् । काठमाडौं महानगरपालिका भित्रका अस्पतालमा निःशुल्क उपचार सेवा उपलब्ध गराउन यसै वर्ष छुट्टै कार्यविधि समेत ल्याइएको थियो ।सोही अनुसार निजी ता सामुदायिक अस्पतालहरूमा यही १ फागुनदेखि यो व्यवस्था कार्यान्वयन गर्न पत्राचार समेत गरिसकिएको मेयर शाहले जानकारी दिनुभएको छ ।
‘कोही नभएका र केही नभएकाले न औषधि किन्न सक्छन् । न कुनै शुल्क तिर्न सक्छन्,’ उहाँले भन्नुभयो–‘यस्ता व्यक्तिको सबै उपचार र त्यसमा लाग्ने खर्च निःशुल्क हुनुपर्छ ।’
महानगरपालिकाको अनलाइन प्रणालीमा आबद्ध ४१ ओटा अस्पतालमा कूल तीन हजार २३९ शय्या रहेका छन् । जसको दश प्रतिशत अर्थात् ३२३ शय्या लक्षित वर्गका लागि उपलब्ध हुनेछन् ।
यस बाहेक अन्य अस्पतालहरूसँग समेत सम्पर्क गर्ने र प्रणाली सञ्चालनका लागि अनुरोध गर्ने कार्य भइरहेको मेयर शाहले बताउनुभयो । निःशुल्क उपचार पद्धतिलाई प्रणालीमा आधारित पारदर्शी बनाउन फ्रि हेल्थ डट काठमाडौं डट जीओभी डट एनपी वेब एड्रेसमा उपलब्ध गराइएको छ ।
यो प्रणालीमा अस्पतालहरूलाई आबद्ध गराउन युजरनेम र पासवर्ड दिइएको छ । यो प्रणालीमा कुन अस्पतालमा सेवा छ, बेड सङ्ख्या कति हो कति बेडमा बिरामीले उपचार गराइरहेका छन्, कति खाली छन् भन्ने जानकारी हेर्न सकिन्छ । क्षेत्रपाटी निःशुल्क चिकित्सालय र काठमाडौं मोडेल अस्पतालमा परीक्षण गरेपश्चात् अनलाइन प्रणाली कार्यान्वयनमा ल्याइएको बताइएको छ ।
यो प्रणालीले सेवा प्रदायक अस्पताल र सेवाग्राहीलाई जोड्ने काम गर्छ सेवाग्राहीको आवश्यकता अनलाइन प्रणालीबाटै पूरा हुने मेयर बालेनले बताउनुभयो ।
निःशुल्क उपचारको सेवा देशका जुनसुकै भेगबाट आएका व्यक्तिले तोकिएको मापदण्ड बमोजिम उपभोग गर्न पाउने महानगरले जनाएको छ । यो सेवा प्रभावकारी रूपमा कार्यान्वयन गराउन साझेदार तथा सरोकारवाला सङ्घसंस्था, व्यक्ति तथा प्रतिनिधिसँग छलफल समेत गरिएको थियो ।
जसबाट निःशुल्क उपचार सेवा निर्देशक समिति समेत गठन गरिएको छ । सेव लिन र दिन सहज होस् भन्ने उद्देश्यका साथ अनलाइन प्रणाली विकास गरिएको मेयर शाहले बताउनुभयो ।
कसरी लिने निःशुल्क स्वास्थ्य उपचार सेवा ?
- गरिबी परिचय पत्र भएका बिरामीहरूले सोझै अस्पतालमा गई उपचार सेवा लिन सकिने ।
- यदि गरिबी परिचय पत्र छैन भने बिरामीहरूले कार्यविधिको अनुसूची २ बमोजिमको निवेदन र आर्थिक अवस्था खुल्ने अनुसूची ५ बमोजिमको फाराम भरी सम्बन्धित वडा कार्यालयमा दिने ।
- वडा कार्यालयबाट दिइने अनुसूची ४ बमोजिमको सर्जमिन र अनुसूची ३ अनुसारको सिफारिस पत्र लिई अस्पतालमा जाने
- यदि बिरामीलाई उपचारका लागि कुन अस्पताल जाने अन्योल भएमा सम्बन्धित वडाको सिफारिस पत्र लिई काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागको निःशुल्क उपचार सहजीकरण एकाइमा सम्पर्क गर्ने । जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठलाई मोबाइल नम्बर ९८०१३०६८९३ मा सोझै सम्पर्क गर्न सकिनेछ ।
- बेवारिसेको हकमा नजिकको वडा कार्यालय तथा प्रहरी कार्यालयको सिफारिसको आधारमा निःशुल्क उपचार प्रदान गरिनेछ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
