
आज विश्व निद्रा दिवस । हरेक वर्ष मार्च १५ मा यो दिवस मनाउने गरिएको छ । यस वर्षको नारा ‘स्लिप इक्विटी फर ग्लोवल हेल्थ’ रहेको छ । वास्तवमा स्वास्थ्यका लागि निद्रा अपरिहार्य छ । पर्याप्त निद्रा भएमा शरीर स्वस्थ्य र हल्का हुन्छ । यद्यपी २४ घण्टामध्ये ८ घण्टा काम, ८ घण्टा निद्रा र ८ घण्टा मनोरञ्जन लिन आवश्यक हुन्छ ।
प्रयाप्त निद्रा नपुगेमा शरीर आलस्य हुने र विभिन्न मानसिक समस्या समेत हुनसक्छ । निद्रासँग एन्जाइटी डिसअर्डर, डिप्रेसन, म्यानिया, सिजोफ्रेनियाको सम्बन्ध हुन्छ । निद्रा नलागेमा सम्बन्धित चिकित्सकसँग परामर्श लिनुपर्छ ।
निद्रा र एन्जाइटी डिसअर्डर
निद्राको गडबढीले हुने एक मानसिक समस्या हो एन्जाइटी डिसअर्डर । राती सुतेको बेला निद्रा नलाग्नु एन्जाइटी डिसअर्डरको मुख्य लक्षण हो । यस्ता व्यक्तिहरुलाई ओछ्यानमा गएपछि एक–दुई घण्टासम्म निद्रा आउँदैन ।
समयावधि अलि लामो हुने भएकाले यसलाई ल्याटिन्ट स्लीप भनिन्छ । यो ओछ्यानमा सुतेपछि निद्रा पर्दासम्मको समय अवधि हो । समयमा निदाउन नसक्दा सुत्ने ढाँचा बिग्रन्छ र निदाउने समयमा एकरुपता हुँदैन । कहिले कुन समय कहिले कुन समयमा निदाएको हुन्छ । जसका कारण बिहान उठ्न गाह्रो हुन्छ । यसलाई ‘डिफिकल्टी फलिङ एस्लीप’ भनिन्छ ।
एन्जाइटी डिसअर्डर भएका व्यक्ति कारणवश निदाएको बेला बिउँझिए भने पुनः निद्रा पर्दैन । यसरी निद्राको गडबढी हुँदा समस्या एन्जाइटी डिसअर्डर हो ।
निद्रा र डिप्रेसन
डिप्रेसन भएका व्यक्तिहरुमा बिहान चाँडै निद्राले छोड्ने समस्या हुन्छ । ‘डिप्रेसन भएका व्यक्तिलाई राती निद्रा त आउँछ तर बिहान तीन चार बजे नै निद्राले छोड्छ । त्यसपछि निद्रा पर्दैन । निद्रा खुलेपछि मनमा अनेकन कुराहरु खेल्न थाल्छन् । छटपटी हुन्छ । घर व्यवहार, ऋण, व्यापार व्यवसायको तनाव आदि इत्यादि कुराहरुले झन् व्याकुल बनाउन थाल्छ । बिहान चाँडै निद्रा खुल्नु डिप्रेसनको प्रमुख लक्षण हो । निदाइको ढाँचाबाट डिप्रेसन भएनभएको पत्ता लगाउन सकिन्छ ।

निद्रा र म्यानिया
म्यानियाको लक्षण डिप्रेसनको ठीक उल्टो हुन्छ । डिप्रेसन भएका व्यक्ति झोक्राएर बस्ने र शरीर थकित भएको महसुस गर्छन् । तर, म्यानिया भएका व्यक्तिहरु रातभर सुत्दैनन् । आवश्यकभन्दा बढी फूर्ति लाउने, अरुलाई बाधा पुर्याउने, ठूल्ठूला कुरा गर्ने जस्ता असामान्य व्यवहार देखाउँछन् । यस्ता व्यक्तिलाई भोलिपल्ट पनि निद्राको आवश्यकता पर्दैन । त्यसैले म्यानिया एक प्रकारको मानसिक समस्या हो ।
निद्रा र सिजोफ्रेनिया
सिजोफ्रेनिया निद्राको गडबढीले हुने जटिल मानसिक रोग हो । सिजोफ्रेनिया भएका व्यक्तिमा बढी डर, त्रास र भ्रम सृजना हुन्छ । सिजोफ्रेनिया भएका व्यक्तिहरुले आफूलाई कसैले मार्न खोजेको जस्ता भ्रम पाल्ने गरेका हुन्छन् र रातभर नसुती चनाखो भएर बस्ने गर्छन् । यसरी निद्राको ढाँचा सोधेर रोग पहिचान गर्न सजिलो हुन्छ । कोभिड–१९ महामारीले पनि धेरैलाई निद्रा र एन्जाइटीसम्बन्धि समस्या बढाएको थियो ।
पर्याप्त निद्रा
मानसिक स्वास्थ्यका लागि पर्याप्त सुत्नुपर्छ । जस्तोः केही व्यक्तिहरु परीक्षा आउने समयमा रातभर पढ्ने, क्रिकेट र फुटबल चलेको बेला रातभर हेर्ने गर्छन् । यसले क्षणिक रमाइलो हुने तर भोलिपल्ट धेरै गाह«ो हुन्छ । दिनभर सुत्नुपर्ने हुन्छ । त्यसैले नियमित सुत्ने तालिकामा एकरुपता हुनुपर्छ ।
विना औषधि निद्रा लगाउने तरिका
राम्रो निद्राका लागि औषधि सेवन नै गर्नुपर्छ भन्ने पनि हुँदैन । औषधि सेवन नगरी निदाउने विभिन्न तरिका पनि छन् । यसलाई ‘नन फर्माकोलोजिकल म्यानेज्मेन्ट अफ इन्ड्युसिंग स्लिप’ भनिन्छ ।
- हरेक दिन नियमित एउटै समयमा सुत्नुपर्छ ।
- निन्द्रा गडबढी भएका व्यक्तिले दिउँसो सुत्नु हुँदैन । आफूलाई काममा व्यस्त राख्नुपर्छ । यसले बेलुका थकित महशुस भएपछि आफैँ निद्रा आउँछ ।
- सुत्नअघि हातखुट्टा चिसो पानीले धुनुपर्छ ।
- सुत्दा खुकुलो कपडा लगाउनुपर्छ ।
- चुरोट, खैनीहरु खान हुँदैन ।
- सुत्नअघि चिया, कफी र दूध पिनउन हुँदैन ।
- सुत्नेबेलामा मोबाइल चलाउन हुँदैन ।
- कोल्टे परेर न्यानो भई सुत्ने र आँखा बन्द गरेर लामो सास लिने र छोड्ने गर्नुपर्छ ।
- सुत्नेबेला गीत संगीत सुन्न हुँदैन ।
- खाना खाएर राम्रोसँग दाँत माझ्नुपर्छ ।
कतिपय व्यक्तिलाई छोटो समय सुत्दा पनि निन्द्रा पुग्छ । यसलाई ‘सर्ट स्लीपर’ भनिन्छ । उनीहरुलाई दिनमा एक झप्की निदाए पनि पुग्छ । कतिपय सर्ट स्लीपरहरु दिनमा १९ घण्टासम्म काम गर्छन् । तर यसले दीर्घकालिन रुपमा असर पार्नसक्छ ।
निद्रा नमारौँ, निद्रालाई माया गरौँ । नियमित एउटै समय सुत्ने तालिका बनाउनुस् । समयमा सुत्ने र उठ्ने गरेमा स्वस्थ्य जीवनयापन गर्न सजिलो हुन्छ ।
(प्रा.डा. प्रधान वरिष्ठ मनोरोग विशेषज्ञ हुनुहुन्छ ।)
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
