
नेपाल हेल्थ न्युज, काठमाडौँ । हार्भे कुशिङ आधुनिक न्यूरोसर्जरीका पिता हुन् । उनलाई आधुनिक युगका पहिलो न्यूरोसर्जन भन्दा पनि अतियुक्ति हुन्न । न्यूरोसर्जरीलाई अहिले देखिरहेको स्वरूपमा ल्याउनमा कुशिङको निकै ठूलो योगदान छ । हाल यस क्षेत्रमा प्रयोगमा आइरहेका कयौं सर्जिकल उपकरणहरूको विकासकर्ता पनि यिनै कुशिङ हुन् । उनले विकास गरेका कुशिङ फोर्सेप्स र कुशिङ भेन्ट्रिकुलर क्यानुला मध्ये केही उपकरणहरू रहेका छन् ।
सन् १९०४ मा कुशिङले न्यूरो सर्जरीमा आफ्नो सारा समय लगाउने घोषणा गर्दा सो क्षेत्रको अवस्था आशालाग्दो थिएन । अरु डाक्टरहरूले शल्यक्रिया गर्दा बिरामीको मृत्यु हुने सम्भावना ३० देखि ५० प्रतिशतसम्म थियो । तर कुशिङले भने मस्तिष्कको कठिनतम शल्यक्रियापछि पनि बिरामीहरू जीवित रहने दरमा उल्लेख्य सुधार ल्याउन सके ।
सन् १९१० सम्म आइपुग्दा कुशिङको मामिलामा भने यो दर झरेर १३ प्रतिशतभन्दा पनि तल आयो । यसबीच कुशिङले न्यूरोसर्जरीबारे लेखहरु लेखे । अमेरिका र क्यानडाभर चिकित्सकहरूलाई यसबारे पढाए पनि । इन्ट्राक्रेनियल प्रेसर (आईसीपी) को अवधारणा, आईसीपी नियन्त्रण गर्ने नविनतम तरिका र बृहतर रिफरल बेसका कारण पनि कुशिङले शल्यक्रिया गरेका बिरामीहरूको बाँच्ने सम्भावना उच्च बनेको हो ।
कुशिङको निधन भएकै ८४ वर्ष बितिसक्यो । तर न्यूरो सर्जरीको क्षेत्रमा उनको छाप अहिले पनि उत्तिकै गाढा छ । कुशिङले २० औं शताब्दीको शुरूमा मस्तिष्कको शल्यक्रियामा उपयोग हुने केही आधारभूत प्रविधिहरूको विकास गरेका थिए । यसैले उनलाई न्यूरोसर्जरीको क्षेत्रमा अग्रणी व्यक्तित्व र विज्ञको रुपमा स्थापित गरेको हो । कुशिङकै प्रभावले गर्दा न्यूरोसर्जरीको क्षेत्रमा नयाँ र स्वयत्त विधा बनेको हो भन्दा पनि अतियुक्ति हुन्न । २० औं शताब्दीको पहिलो दशकमा उनी न्यूरोसर्जरीका अग्रणी शिक्षक पनि हुन् ।
उनको तस्विर आफैं अमेरिकन न्यूरोलोजिकल सर्जन संघको ब्रान्ड हो । उनको परिवारमा बुबा, हजुरबुबा र जिजुबुबा सबै डाक्टर थिए । कुशिङ पुलित्जर पुरस्कार विजेता पनि हुन् । उनले विलियम ओस्लरबारे लेखेको मेडिकल बायोग्राफीले सन् १९२६ मा पनि जितेको छ । सर्जिकल विज्ञानमा दिएको योगदानका लागि कुशिङले कयौं पुरस्कारहरू पनि पाएका छन् ।
सन् १८६९ अप्रिल ८ मा जन्मिएका कुशिङको ७ अक्टोबर १९३९ मा न्यू हेभेन, कनेक्टिकटमा मायोकार्डियल इन्फेक्शनको जटिलताबाट निधन भयो । उनको जन्मदिनका अवसरमा हरेक वर्ष ८ अप्रिलमा विश्व न्युरो सर्जन दिवस मनाउने गरिएको छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

