
नेपाल हेल्थ न्युज, काठमाडौँ । हेटौंडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा उपकरण थन्किएका छन्। मुटुरोग चिकित्सक नियुक्त नहुँदा ती उपकरण थन्किएको अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंले बताउनुभयो।
बिरामीको अत्यधिक चाप रहने अस्पतालमा चिकित्सक नभएर उपकरण थन्काउन बाध्य भएको बताउँदै सञ्चालक सदस्य चौलागाईंले चाँडोभन्दा चाँडो चिकित्सक नियुक्तिका निम्ति सम्बन्धित निकायलाई घच्घच्चयाइरहेको बताउनुभयो।
उहाँले भन्नुभयो– ‘मुटुरोग विशेषज्ञको नियुक्तिका लागि गरिएको विज्ञापनमा एकजना चिकित्सकको आवेदन पर्यो, तर उमेरका कारण उहाँलाई नियुक्ति दिन मिलेन। विज्ञापन भएका बेला निवेदन पर्दैनन् र परेका निवेदनमा पनि उमेर नपुग्ने, मापदण्ड पूरा नहुनेलगायत विविध समस्या आइलाग्छन्।’
अन्य उपकरण अन्य विशेषज्ञबाट पनि चलाउन सकिने तर मुटुरोगका उपकरण मुटुरोग विशेषज्ञबाहेकले चलाउन नमिल्ने भएकाले चिकित्सक नियुक्तिविना उपकरण प्रयोगमा ल्याउन कठिन भएको उहाँको भनाइ छ।
अस्पतालले स्त्रीरोग विशेषज्ञ सेवा सञ्चालन गरेपछि मधेस प्रदेशबाट सुत्केरी हुन आउनेको संख्यामा वृद्धि भइरहेको छ। हाडजोर्नी, छालारोग, सघन उपचार कक्षलगायत सेवा पनि उपलब्ध भएकाले अस्पतालमा बिरामीको चाप बढेको सदस्य चौलागाईंले बताउनुभयो।
रोटरी क्लब अफ मकवानपुरको सहयोगमा आठ महिनाअघि ल्याइएको एक करोड रुपैयाँको उपकरण प्रयोगविहीन छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट श्रीधर अर्यालले विशेषज्ञ चिकित्सकको शीघ्र व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

