
नेपाल हेल्थ न्युज, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले धूम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनलाई अभियानका रुपमा अगाडि बढाएको छ । नयाँ बर्ष २०८१ को प्रारम्भसङै धूम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनलाई अभियानकै रुपमा अगाडि बढाइएको हो ।
पहिलो चरणमा सचेतना प्रवर्धन र कानुनी प्रावधानबारे सचेत बनाउने गरी नेपालगञ्ज उपमहानगरपालिका अगाडि बढेको छ । धूम्रपान तथा सुर्तीजन्य पदार्थको कानुनसम्मत बिक्री वितरण, सार्वजनिक ठाउँहरूमा पूर्णरुपमा सेवन निषेध तथा आमरुपमा सेवन दर घटाउने उद्देश्यका साथ अभियान थालिएको नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो ।
धूम्रपान र सुर्तीजन्य पदार्थको सेवनले निम्त्याउने स्वास्थ्य जटिलता, पारिवारिक तनाव र सामाजिक व्यवहारको असरलाई जनमानसमा सञ्चार गर्दै स्वस्थ समाज निर्माण गर्ने उद्देश्यका साथ अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाउने नगर प्रमुख विष्टको भनाई छ ।
सचेतना अभियानसँगै दण्ड, जरिवाना र कारबाहीको प्रक्रियालाई पनि अगाडि बढाउने नीति नेपालगञ्ज उपमहानगरपालिकाले लिएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो । उहाँले सार्वजनिक ठाउँ, निकाय र पसलहरूमा नियमन गर्ने बताउँदै पालना नगरेको पाइए सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ बमोजिम कारबाही गरिने स्पष्ट पार्नुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाले आज बिहान प्रभातफेरी गरेर अभियानको औपचारिक थालनी गरेको छ । धूम्रपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रण, नियमन तथा सचेतनामूलक प्रभातफेरी गरिएको हो । भेरी अस्पतालबाट सुरु भएको प्रभातफेरी त्रिभुवन चोकमा पुगेर समापन भएको थियो । प्रभातफेरीमा नगर प्रमुख विष्ट, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, जिल्ला प्रहरी प्रमुख तुल बहादुर कार्की, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काको पनि उपस्थिति थियो ।
प्रभातफेरी पश्चात् आयोजित कार्यक्रमलाई नगर प्रमुख विष्ट, प्रमुख जिल्ला अधिकारी पोखरेल र प्रहरी प्रमुख कार्कीले सम्बोधन गर्दै धूम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि आम नगरबासीको साथ आवश्यक रहेको बताउनुभयो । स्वस्थ र सुसंस्कृत समाज निर्माणका लागि प्रत्येक नागरिकले स्वतःस्फूर्त धूम्रपान र सुर्तीजन्य पदार्थ त्याग्ने प्रतिज्ञा गर्नुपर्नेमा उहाँहरूको जोड छ ।
धूम्रपान र सुर्तीजन्य पदार्थको सेवनले मुटु रोग, क्यान्सर जस्ता खतरनाक रोगहरूको जोखिम बढाइरहेको छ । एक अध्ययन अनुसार कुल मृत्युको १५ प्रतिशत सुर्तीजन्य पदार्थ सेवनका कारणले हुने गरेको छ । २९.९ प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको छ । नवीन गिरी, रेडियोनेपाल
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
