नेपाल हेल्थ न्युज, काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा ४० प्रतिशत मृत्यु हृदयघातबाट हुने गरेको बताएको छ । यो एक दिनमा १० हजार वा प्रतिवर्ष ४० लाख मृत्यु बराबर हो । सङ्गठनले युरोपेलीहरूसँग नुनको सेवन कम गर्न आग्रह गरेको छ ।
डब्ल्युएचओको युरोप शाखाका निर्देशक हान्स क्लुजले विज्ञप्तिमा भन्नुभयो, “नुनको सेवनलाई २५ प्रतिशतले कम गर्ने लक्षित नीतिहरू लागु गर्दा सन् २०३० सम्म हृदयाघातबाट करिब नौ लाख मानिसको ज्यान बचाउन सकिन्छ ।”

युरोपमा ३० देखि ७९ वर्षबीचका तीन वयस्कमध्ये एकजना उच्च रक्तचापबाट पीडित छन् । रक्तचाप प्राय नुनको अधिक सेवनले हुन्छ । डब्ल्युएचओको युरोपेली क्षेत्रका ५३ मध्ये ५१ मुलुकमा औसत दैनिक नुनको सेवन डब्ल्युएचओले सिफारिस गरेको अधिकतम पाँच ग्राम वा एक चम्चाभन्दा बढी हुन्छ । यसको मुख्य कारण प्रशोधित खाद्य पदार्थ र स्न्याक्स हो ।
“नुनको उच्च सेवनले रक्तचाप बढाउँछ, रक्तचाप हृदयाघात वा स्ट्रोकजस्ता हृदय रोगहरूका लागि प्रमुख जोखिम कारक हो”, डब्ल्युएचओले भनेको छ ।
सङ्गठनले युरोपमा रक्तचापको विस्तार विश्वमा सबैभन्दा बढी रहेको बताएको छ । सङ्गठनको प्रतिवेदनअनुसार यस क्षेत्रमा महिलाको तुलनामा पुरुषको मृत्यु हुने सम्भावना करिब अढाई गुणा बढी छ ।
हृदयाघातबाट मृत्यु हुनेमा भौगोलिक विभाजन पनि छ । पश्चिमी युरोपको तुलनामा पूर्वी युरोप तथा मध्य एसियामा हृदयाघातबाट युवा (३० देखि ६९ वर्ष समूह) मृत्यु हुने सम्भावना करिब पाँच गुणा बढी छ । रासस
आहारपूरकलाई औषधिको दायरामा राख्ने प्रस्तावप्रति व्यवसायीको आपत्ति
मंगलबार, साउन १२, २०८३
‘लेट्स ब्रेक इट’ अभियानः २०३० सम्म हेपाटाइटिस सी उन्मूलनको लक्ष्यमा नेपाल-डा. सर्वेश शर्मा
मंगलबार, साउन १२, २०८३


