
नेपाल हेल्थ न्युज, काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रको एकमात्र रामघाट प्राथमिक स्वास्थ्य केन्द्र भाडाको घरमा रहेकाले एक्सरे र फार्मेसी सेवा सञ्चालनका लागि ठाउँको अभाव भएको छ । एक्सरे यन्त्र राख्न नौ इञ्च गारोसहितको भवन आवश्यक पर्नेमा सो नहुँदा सेवा दिन समस्या भएको हो ।
यो केन्द्र वीर अस्पताल स्थापनाकालमै पशुपति क्षेत्रको रामघाटमा सञ्चालनमा आएको थियो । पशुपतिनाथको दर्शनमा आउने स्वदेशी एवं विदेशी धार्मिक पर्यटकको प्राथमिक उपचारका लागि केन्द्र स्थापना भएको थियो । पछि पिङ्गलस्थान हुँदै हाल केन्द्र महानगरपालिका वडा नं ८ स्थित इटापाखामा सञ्चालित छ ।
करबाहेक केन्द्र मासिक ८५ हजार भाडा तिरेर सञ्चालन भइरहेको केन्द्रका प्रमुख एवं मेडिकल अधिकृत डा. सुनिता लम्सालले राससलाई जानकारी दिनुभयो । स्थान अभावका कारण एक्स–रे र फार्मेसी सेवा सञ्चालन हुन नसकेको भन्दै ‘एन्टी रेबिज भ्याक्सिन’ लगाएको ५० शुल्कबाहेक अरु सबै सेवा निःशुल्क दिने गरिएको उहाँले बताउनुभयो ।
केन्द्रमा हाल दैनिक ५० देखि ६० जनासम्म बिरामी आउने गरेका प्रमुख लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रमा हाल १३ को स्वीकृत दरबन्दी भए पनि स्थायी पाँच र करारका पाँच गरी १० जना स्वास्थ्यकर्मी एवं कर्मचारी कार्यरत छन् ।
जनशक्ति पूरा नभएकाले कहिलेकाहीँ बेलुकी ८ बजेसम्म पनि काम गर्नुपर्ने अवस्था रहेको स्वास्थ्यकर्मीको गुनासो छ । केन्द्रमा हाल बहिरङ्ग, प्रयोगशाला, इसिजी, खोप सेवा, डट्स, सुरक्षित मातृत्व, परिवार नियोजनलगायत सेवा दिने गरिएको छ । रासस
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
