
नेपाल हेल्थ न्युज, सिमकोट । हुम्लाको एक मात्र जिल्ला अस्पतालमा औषधी अभाव हुँदा उपचारमा आउने बिरामी मर्कामा परेका छन् । मौसमी बिरामीको सङ्ख्या बढ्दै गएपनि अस्पतालमा औषधी अभाव हुँदा समस्या भइरहेको छ ।
१५ शय्याको जिल्ला अस्पतालमा गत वैशाखदेखि औषधी अभाव हुँदा चिकित्सकले लेखेका औषधी निजी मेडिकलबाट किनेर सेवन गर्न बाध्य भएको बिरामीको गुनासो छ । पानी नपर्दा यो समय अस्पतालमा बिरामीको चाप बढेको छ । रुघाखोकी, झापापखालालगायत रोगका औषधी वितरण कक्षमा नपाउने गरेको सेवाग्राहीको गुनासो छ । अस्पतालमा पाइने निः शुल्क औषधीसमेत नभएको खार्पुनाथ गाउँपालिका-३ रायाका धनबहादुर टमटाले गुनासो गर्नुभयो ।
बहिनीको उपचारका लागि दुई दिनदेखि भर्ना भएर अस्पतालमा बसेको भन्दै चिकित्सकले लेखेको औषधी निजी मेडिकलबाट किन्नु परेको उहाँले बताउनुभयो । चार हजारसम्मको औषधी निजी मेडिकलबाट किनेको भन्दै अस्पतालमा भिटामिनसमेत नभएको टमटाले गुनासो गर्नुभयो । अस्पतालको औषधी वितरण कक्षमा जाँदा औषधी नपाएर निजी मेडिकलमा जानुपर्ने बाध्यता रहेको सिमकोट गाउँपालिका-२ ठेहेका झप्री सुनारले बताउनुभयो ।
निजी मेडिकलबाट औषधी किन्न आर्थिक अवस्था कमजोर भएकाले समस्या भइरहेको उहाँको भनाइ छ । वैशाख यतादेखि अस्पतालमा बिरामीको चाँप बढेको (मेडिकल अफिसर) तथा डाक्टर सुर्जनकुमार सिंहले बताउनुभयो । उहाँको अनुसार आइतबार र सोमबार मात्रै ८०-८० जनाले सेवा लिएका छन् । अन्य दिनमा ५० जना भन्दा कम नहुने डा.सिंहले जानकारी दिनुभयो । लामो समय हुम्लामा पानी नपर्दा मौसमी बिरामीको चाप थपिँदै आएको उहाँको भनाइ छ ।
गाउँघरबाट एक-दुई दिनको पैदल हिँडेर सवारी पुगेको ठाउँबाट जिल्ला अस्पतालमा उपचारका लागि बिरामी आउने गरेका उहाँले बताउनुभयो । डा.सिंहले भन्नुभयो, “अस्पतालमा औषधीको अभाव छ । इमर्जेन्सी, सघन उपचार कक्ष सेवाका लागि भर्ना भएका बिरामीले समेत उल्टी रोक्ने औषधी नभए गुनासो गरिरहेका छन् ।” बहिरङ् (ओपिडी) मा औषधी अभाव रहेको उहाँले बताउनुभयो । अस्पतालमा औषधीको अभाव भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले स्वीकार गर्नुभयो ।
हवाई उडान नभएकाले खरिद गरेर हुम्ला ल्याइने औषधी नेपालगन्जमा थन्किएकाले समस्या भएको उहाँले जानकारी दिनुभयो । अबको एक/दुई दिनमा हवाई उडान सञ्चालन भएमा नेपालगन्ज थन्किएका औषधी ढुवानी भएर यहाँ आइपुग्ने प्रमुख सिंहले बताउनुभयो । रासस
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
