
नेपाल हेल्थ न्युज, गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पाठेघरको मुखमा हुने क्यान्सरको पहिचान र न्यूनीकरणका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
महिलामा हुने पाठेघरको मुखमा हुने क्यान्सरको जोखिम पहिचान गर्न भिआइए (एसिड राखेर भाइरसको कोषिका हेर्ने विधि) परीक्षण तथा निःशुल्क स्वास्थ्योपचार शिविर आयोजना गरिएको हो ।
गाउँपालिकाको आयोजना तथा क्यान्सर रिलिफ सोसाइटी काभ्रे र अष्ट्रेलियन क्यान्सर फाउण्डेसनको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा पालिकाभित्रका पाँच सय ७० महिलाले उपचार सेवा लिएका गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।
“भिआइए परीक्षणले केही वर्षपछि क्यान्सर हुँदैछ वा पाठेघरको अवस्था कस्तो छ भन्ने पहिचान गर्दछ”, गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले भन्नुभयो, “हामीले औषधि राखेर हेर्छौँ र परीक्षणबाट क्यान्सर बनाउने एचपिभी जीवाणु पोजेटिभ वा नेगेटिभ के छ भन्ने पत्ता लाग्छ । पाठेघरको अवस्था पत्ता लागेपछि सोही अनुसार उपचार गर्न सकिन्छ ।” यो विधिबाट एचपिभी भाइरस पत्ता लागेमा क्यान्सर हुनुअघि नै उपचार गरी बच्न सकिने चिकित्सक बताउँछन् ।
स्वास्थ्य शाखाका प्रमुख भट्टले पालिकाभित्रका सबैलाई पायक पर्ने गरी विभिन्न पाँच वटा वडामा शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो । “शिविरमा २५ देखि ६० वर्ष उमेर समूहका महिलाले सेवा लिएका थिए”, उहाँले भन्नुभयो, “परीक्षण गराएकामध्ये करिब पाँच प्रतिशत महिलामा पाठेघरको मुखको क्यान्सर हुनसक्ने जोखिम रहेको पाइएको छ ।”
शिविरमा क्यान्सरको जोखिम देखिएका महिलाले समयमै थप उपचार गर्नुपर्ने भन्दै जोखिम न्यूनीकरण गर्न मद्दत पुग्ने उद्देश्यले शिविर सञ्चालन गरिएको प्रमुख भट्टले बताउनुभयो । दुर्गम भेगका महिलामा पाठेघरको क्यान्सर, पाठेघर खस्ने समस्या तथा फिस्टुलाको समस्या बढी देखिने भएकाले समस्या पहिचान तथा न्यूनीकरण गर्न शिविर सञ्चालन गरिएको उहाँको भनाइ छ । रासस
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
