
नेपाल हेल्थ न्युज, उदयपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदयपुरको गाईघाटमा नै मेडिकल कलेज स्थापना गर्ने बताउनुभएको छ । मेडिकल कलेज स्थापनाको माग सहित राजधानी पुगेको त्रियुगा नगरपालिकाको प्रतिनिधि मण्डलसँग शनिबार भेटघाटको क्रममा प्रधानमन्त्री दाहालले सिंहदरबारमा उक्त कुरा बताउनु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले उदयपुरमा यसअघिनै मेडिकल कलेज स्थापना गर्ने निर्णय भइसकेको बताउनु हुँदै त्रियुगा नगरपालिकाले प्रस्ताव गरेको स्थानमा मेडिकल कलेज स्थापना गरिने बताउनुभयो ।
त्रियुगा नगरपालिकाको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले आगामी बजेटको तयारी रहेको बेला ध्यानाकर्षण गर्न आउनु भएकोले आगामी बजेटमा त्रियुगा नगरपालिकामा मेडिकल कलेज निर्माणको प्रक्रिया सुरु हुने स्पष्ट पार्नु भयो ।
प्रधानमन्त्री दाहालले नेपाल सरकारको घोषित नीति अनुसार उदयपुरको गाईघाटमा मेडिकल कलेज स्थापना गर्न कुनै समस्या नरहेको पनि बताउनु भयो । सो अवसरमा त्रियुगा नगरपालिकाका नगरप्रमुख बसन्त कुमार बस्नेतले गाईघाटमा मेडिकल कलेज स्थापनाका लागि त्रियुगा नगरपालिका वडा नं. ४ स्थित फछ्र्यौट क्षेत्रमा ६३ बिगाहा जग्गाको व्यवस्थापन गरी मेडिकलका नाममा ल्याउन प्रक्रिया सुरु गरिसकिएको प्रधानमन्त्रीलाई जानकारी गराउनुभयो ।
यसैबिच उक्त सर्वपक्षीय सर्वदलीय प्रतिनिधि मण्डलको टोली नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार भेटगरी मेडिकल कलेज उदयपुरको गाईघाटमा स्थापना गर्न आवश्यक पहल गर्न आग्रह गरेको छ ।
प्रतिनिधिमण्डल सँगको भेटमा अध्यक्ष ओलीले जनघनत्व, सदरमुकाम र जग्गा व्यवस्थापनको आधारमा गाईघाटमा नै मेडिकल कलेज स्थापना गर्न उपर्युक्त रहेको बताउनु भयो ।
मेडिकल कलेज गाईघाटमा नै स्थापना गर्नु पर्ने माग सहित पुगेको टोलीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मेडिकल कलेज स्थापना गर्दा धेरै कुरा अध्ययन गरेर निर्णय गरिने भएकाले उदयपुरमा त्रियुगा नगरपालिकाको विकल्प नरहेको बताउनु भयो ।
त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राईले गाईघाटमा मेडिकल कलेज निर्माणको काम यस वर्षको बजेटमा समावेश गरेर अघि बढाउनको लागि अध्यक्ष ओलीलाई आग्रह गर्नु भएको थियो ।
संविधान सभा सदस्य तथा एमाले पोलिटब्यूरो सदस्य मन्जु कुमारी चौधरी, नेपाली काँग्रेसका नेता विदुर बस्नेत, एमाले उदयपुरका अध्यक्ष भागवत राउत, कोशी प्रदेश सभाका उपसभामुख सृजना दनुवार, त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राई, कोशी प्रदेश सांसद सम्झना तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टी उदयपुरका सभापति चित्र बहादुर कार्की, त्रियुगा नगरपालिकाका विभिन्न वडा अध्यक्ष सहितको टोलीले शिक्षा मन्त्री सुमना श्रेष्ठ, पूर्व शिक्षा मन्त्री अशोक कुमार राई, शिक्षा सचिव दीपक पाण्डेलाई भेटेर ध्यानाकर्षण गराएको छ ।
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
