
राज्यले निजी स्वास्थ्य संस्थालाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा संगती देखिएको छैन । हामी कदापी ऐन नियम भन्दा बाहिर रहन सक्दैनौ र स्वास्थ्य मन्त्रालय हाम्रो अभिभावकीय निकाय हो । तर जनस्वास्थ्य सेवा ऐन २०७५, नियमावली २०७७ को नियम विपरित वर्षैपिच्छे अस्पताल नविकरण गर्नुपर्ने बाध्यात्मक अवस्था, बीमा तथा विपन्न कार्यक्रमको शोधभर्ना रकम नियमित भुक्तानी नदिने, सहमती र पत्राचारहरुमा १० प्रतिशत निःशुल्क शैयाबारे धेरै असमानता देखिएको छ ।
‘जनस्वास्थ्य सेवा नियमावली २०७७’ को दफा १३ मा प्रत्येक ५ वर्षमा अस्पताल नविकरणको व्यवस्था उल्लेख गरिएको छ । एकातिर अस्पतालहरुमा आवद्ध कर्मचारीहरुलाई स्थायी रुपमा सेवा सुविधाको अवसर दिनुपर्दछ भने अर्कोतर्फ हामी अस्पतालहरु आफैमा अस्थायी सञ्चालन स्वीकृती लिएर वर्षैपिच्छे नविकरणको लागि महिनौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालय धाउन बाध्य छौं ।
यो स्वास्थ्य मन्त्रालयका कर्मचारीहरुको लापरबाही हो । ऐनमा भएका प्रावधान कार्यान्वयन नगर्नु भनेको पनि एक प्रकारको भ्रष्टाचार नै मान्नुपर्छ । म सँग प्रधानमन्त्री कार्यालयबाट ऐन कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशका मुख्य मन्त्रीहरुलाई निर्देशक भएको चिठी पनि सुरक्षित छ । त्यसैले बनेका र भएका नीति नियम कार्यान्वयन हुनुपर्छ । अहिले हाम्रो मुख्य समस्या नविकरण नै हो । कानुन लागू नगर्नेलाई पनि अख्तियार दुरुपयोग आयोगले छानवीन गर्नुपर्छ ।
देशभर निजी स्तरमा ४ सय भन्दा बढी अस्पताल सञ्चालित छन् । सरकारी स्तरमा ७०–८० वटा जति छन् । बागमती प्रदेशमा १ सय भन्दा बढी अस्पताल रहेका छन् । स्थानीय सरकारबाट १५ शैयासम्म, प्रदेश सरकारबाट २५ देखि २०० शैया र २०० भन्दा माथि शैयाका लागि संघीय मन्त्रालयबाट अनुमति लिनुपर्दछ । स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७०, पहिलो संशोधन २०७८ अनुसार स्वास्थ्य संस्थाले सञ्चालन इजाजत पत्र लिन विभिन्न २६ वटा पारामिटर पुरा गर्नुपर्दछ । त्यसमा व्यवस्थापनदेखि गुनासो सुन्ने सम्मका विषय समेटिएका छन् । ऐनमा सरकारी, गैरसरकारी र निजी अस्पताल सबैमा लागू हुने उल्लेख छ । तर कसैलाई काखा र कसैलाई पाखा गर्ने प्रशासनको मनोवृति राम्रो होइन ।

नविकरण नभएको अस्पतालमा बिरामीलाई केही भएमा अस्पताल अवैधानिक भनेर खेद्न थालिन्छ । नेपाल सरकारका जुनसुकै कार्यक्रम सञ्चालन गर्न नविकरण भएको हुनुपर्छ । एकेडेमिक कार्यक्रम चलाएका संस्था नविकरण नभएमा समस्या हुन्छ । नविकरण नभएमा बंैकबाट लिइएको ऋणको पनि नविकरण हुँदैन । यसरी अस्पताल नविकरणमा घाँटी च्याप्प समाउने सास फेरिराख भनेजस्तो अवस्था छ ।
जनस्वास्थ्य सेवा ऐन २०७५, नियमावली २०७७ को नियम अनुसार नविकरणको म्याद सकिएको तीन महिनाभित्र निवेदन दिनुपर्ने उल्लेख छ ।
त्यसैका आधारमा रहेर प्रदेशहरुले पनि आ–आफ्ना कानून बनाउनुपर्ने व्यवस्था छ । गण्डकी, सुदुरपश्चिम , लुम्बिनी प्रदेशहरुले आ–आफ्ना प्रदेश ऐन बनाइसकेका छन् । तर बागमतीलगायतका बाँकी अन्य प्रदेशहरुले बनाएका छैनन् । त्यसैले अहिले अस्पताल नविकरणमा विकराल समस्या छ । संघीय कानूनसँग नबाझिने गरी प्रदेश र स्थानीय सरकारले आ–आफ्नो नियम बनाउन सक्छन् । प्रदेशमा कानून नबने पनि संंघीय कानूनमा टेकेर ऐन कार्यान्वयनमा ल्याउनुपर्छ ।
जनस्वास्थ्य सेवा ऐन २०७५, नियमावली २०७७ सबैका लागि हो । तर सरकारी अस्पतालहरुको त कुनै अनुगमन नै ह्ुँदैन । सरकारी अस्पतालको अनुगमन भएको र त्यसको रिपोर्ट भएको अहिलेसम्म थाहा छैन । सरकारी अस्पतालमा जनशक्ति कति छ ? कति क्षेत्रफल हुनुपर्ने हो ? के के उपकरण छ ? भन्नेबारे तपाईले सुन्नुभएको छ ?
निजी र सरकारी अस्पतालमा उपचारमा हुने शुल्कमा एक रुपमा हुन सक्दैन । सरकारीलाई राज्यले सहुलियत दिएको हुन्छ । निजीमा सेवा र सुविधा अनुसार शुल्क निर्धारण गरिएको हुनसक्छ । तर सरकारले मिनिमम स्टैण्डर्ड सर्भिस भनेर निकालेको छ । सेवा र सुविधाका आधारमा अस्पतालहरुलाई पनि वर्गिकरण गर्न जरुरी छ । त्यसमा सेवाको प्रकृति, जनशक्ति, उपकरणले महत्वपूर्ण भूमिका खेल्छ । यसैको आधारमा शुल्क निर्धारण भएमा समस्या आफैं समाधान हुन्छ ।
म बंगलादेशमा अध्ययनरत रहँदा सरकारी अस्पतालमा आएको बिरामीलाई बाहिर रिफर गर्न पाइँदैनथ्यो । अस्पतालमा शैया खाली छैन भन्न पाइँदैन । जसरी पनि बिरामीको उपचार गर्नुपर्छ । बिरामीलाई उपचार नगरी फर्काउन हुँदैन । यदि फर्काइएमा अस्पताल चाहर्दा चाहर्दै बाटैमा बिरामीको ज्यान जान सक्छ ।
हरेक निजी अस्पतालले गरिब असहायका लागि दिने भनिएको दश प्रतिशत निःशुल्क उपचार सेवा कुन शिर्षकमा, कसरी, कहाँबाट दिने भन्ने स्पष्ट छैन । हचुवाको भरमा १० प्रतिशत निःशुल्क गर्ने नारा लगाएर मात्र हुँदैन । निजी अस्पतालले २५ प्रतिशत आयकर पनि तिर्दै आइरहेका छन् । यदि निजी अस्पतालले १० प्रतिशत निशुल्क उपचार गरेमा राज्यले दिने सुविधामा पनि कन्जुस्याई गर्नुहुँदैन । यसबारे व्यापक छलफल गरेर निचोडमा आउनु जरुरी छ । निजी स्वास्थ्य संस्थालाई प्रोत्साहन गर्ने नीति ल्याउन जरुरी छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

