मधुमेह जस्ता भात खान नहुने रोगले आक्रमण गरेपछि मकैका च्याख्ला र कोदोका पिठोले भाटभटेनीका महलमा भित्रिने मौका पाएका हुन् ।
उच्च रक्तचाप र हृदयरोग जस्ता रोगले भेटिसके पछि सलाद र झोलिलो मौलिक नेपाली खानाले शहरीया परिवारको थालीमा उभिने मौका पाएका हुन् ।
सबै रोगले भेटाएपछि र डाक्टरले खान नहुने वस्तुहरुको तालिका थमाइदिएपछि डाइटिङ्गका नाममा एकादशीका दिन ब्रत बसे झैँ खानेकुरा खान पथपरेजमा बस्ने शैलीले फेरि ढोका ढकढक्याउने मौका पाएको हो ।
एक दशक अघिसम्म गरिवका खाना भनेर तिरष्कृत हुने खाद्यान्न आजभोलि धनिका घरमा अविच्छिन्न सम्मानित भएर भित्रिन थालेका छन् ।
एक दशक अघिसम्म सडकमा बेच्न राखिने पोलेका मकै खाँदै बस्ने औपचारिक लुगा लगाउने कुनै पनि कार्यालयका कर्मचारी देख्न पाइने थिएन । अझ पोलेका मकै खान लाज मान्ने प्रवृत्ति थियो ।
आजभोलि कार्यालयका ड्रेसमा अझ परिचय पत्र घाँटीमा भिरेरै प्रतिष्ठित संस्थामा कार्यरत कर्मचारीहरु गफिँदै पोलेको मकै सडकमा खाँदै गरेको देख्नु सामान्य हुन थालेको छ ।
कार्यालयहरुका हाकिमहरु पोलेको मकै मगाएर खाजा खान थालेको देखिन्छ ।
एक दशक अघिसम्म बजारबाट तरकारी किनेर लैजाँदा साग झोलाको अन्तर कुन्तरमा लुकाउनेहरु धेरै हुन्थे । पर्वल किन्दा छाति फुकाउने र साग किन्दा बोली लुकाउनेहरुको संख्या त्यस बेला बाक्लो हुन्थ्यो । तर आजभोलि सागका मुठा हातमा गौरव साथ हल्लाउँदै जानेहरु भेटिन्छन् ।
एक दशक अघि खाजाका लागि रष्टुरेण्टमा पुग्नेहरुको अर्डर हुन्थ्यो–मःम, चाउमिन । आजभोलि खाजाका लागि मानिसहरु सुख्खा रोटी, चिउरा सेट पाइने खाजा सेन्टर खोजी खोजी जानेहरु धेरै भेटिन्छन् ।
मासु भन्ने वित्तिकै भुतुक्कै भइहाल्ने नेपालीहरु आजभोलि साकाहारी भएँ भन्दै गौरव गर्न थालेका छन् ।
विभिन्न भतेरहरुमा मासुको चाङ्ग लगाएर प्लेट भर्नेहरु आजभोलि हरियो सलाद, मिक्स भेजिटेवल बढि हाल्ने गरेको देखिन थालेको छ । अझ त्यस्ता पार्टीहरुमा अन्तिम क्रममा राखिने माछा मासुको भाँडा नजिकै लाइन बाक्लिने गरेकोमा आजभोलि दुइ चार पिस मात्र मासुका टुक्रा राखी खानेहरु बढि देखिन थालेका छन् । आखिर एक दशकभित्रै खानाको प्रवृत्तिमा यस्ता खाले परिवर्तन देखा परेका छन् । एक डेढ दशक अधिसम्म धनि र हुने खानेको रोग भनेर चिनिने चिनी रोग अर्थात मधुमेह, हृदयाघात (हार्ट अट्याक) र उच्च रक्तचाप जस्ता समस्या आजभोली आम नेपालीको सबैभन्दा ठूलो दुष्मन बनेर खडा भएको छ । धेरै नेपालीलाई यसले प्रेम गर्न थालेको छ । किन यस्तो भइरहेको छ ? हो, अवश्य पनि यसमा आम नेपालीको खानाको शैलीमा पछिल्लो दुइ दशक यता देखिएको परिवर्तनको नतिजा भएको छ । पारम्परिक रुपमा हेर्यो भने खानेकुराका प्रकार र त्यसका नियम समयवद्ध रहेको पाइन्छ । जस्तो हरेक महिना दुइ पटक आउने एकादशीका दिन भात नखाइ रोटी र मासुजन्य खाना नखाई सात्विक खाना खाने शैली नेपाली समाजमा विद्यमान थियो । त्यसैगरी औँशी –अमावश्य) का दिन मासु नखाने चलन रहेको थियो । कतिपय ब्यक्तिहरुले पूर्णिमा ब्रत समेत गर्ने हुँदा त्यस दिन पथपरेजमा नै रहन्छन् । त्यसैगरी वर्ष दिनभरमा कम्तिमा १० देखि १५ दिन नियमवद्ध खाना खाने दिन रहेको हुन्छ । यसरी हेर्दा कम्तिमा पनि महिनामा तीन देखि ४ दिन मासुको भोजन नगर्ने र पथपरेजमा रहने संस्कृति र नियम छ । यि दिनहरुमा मकैको पुवा, गहुँको सुख्खा रोटी, चामलको पुवा, फलफूल, दुध, साग सब्जिी एवं तरकारी लगायतका हल्का खानेकुरा खाने चलन हुन्छ । साथै कोही ब्यक्तिहरुले हप्तामा कम्तिमा एक दिन विभिन्न देवताको आराधना गर्दै ब्रत बस्ने चलन रहेको छ । यस दिन पनि सादा खानेकुरा खाने प्रचलन हो ।
त्यसैगरी माता पिता वा हजुरबुबा हजुरआमाको तिथि श्राद्ध आदिमा पाक्ने खाना बेग्लै हुने गर्छ । जसमा कर्कलो, मासको फुरौला, विभिन्न थरीका तरकारीहरु, दही, दुध लगायतका शाकाहारी खाना तयार हुन्छन् । विभिन्न स्थलको तीर्थ यात्रा गर्दा पनि खानेकुराहरुका आप्mनै विधि रहेका छन् । जसमा खासगरी मांसजन्य पदार्थ नखाने र शाकाहारी खाना खाने प्रचलन रहेको हुन्छ । वर्ष दिनमा आउने कतिपय चाडपर्वमा पकाइने खानेकुराको विविधताले नेपालीको स्वास्थ्यमा सन्तुलित पोषण दिँदै विभिन्न खाले जटिल रोगहरुबाट बचाउँदै स्वस्थ जीवनयापनमा ठुलो भुमिका खेलेको थियो ।
मकै, कोदो, फापर, गहुँ, चामल आदिको प्रयोग सन्तुलित ढंगबाट खानाका परिकार बनाएर खाने प्रलन नेपाली समाजमा सदियौंदेखि रहँदै आएको थियो । त्यसमा सागसब्जी र तरकारीको समिश्रण र दुध एवं दुग्धजन्य पदार्थहरु घिउ, दही, मोही जस्ता पदार्थले थप सन्तुलित बनाउँदै आएका थिए ।
पछिल्ला केही समयमा नेपाली समाजमा एउटा पदार्थबाट बनेका खानेकुरा बढि खाने र मासु पनि बढि खाने खाना संस्कृतिले गर्दा नेपालीलाई कतिपय रोगले ग्रस्त बनाउन थालेको देखिन्छ । जसमा मधुमेह, हृदय रोग, उच्च रक्तचाप, मिर्गाैला सम्बन्धित रोगहरु, दाँतका समस्या आम नेपालीको धेरै समस्याका रुपमा देखा परिराखेका छन् । त्यसैले पनि होला आजभोलि मकै, कोदोका परिकारले फेरि पुनर्जीवन पाउन थालेका छन् । रोगले च्यापेपछि माते संस्कृति र मासु नभई गाँस नजाने संस्कृति परिवर्तनतर्फ धकेलिन बाद्य भएको हो । साथै राष्ट्रिय रोग ग्याँष्ट्रिक हुँदै कब्जियतको शिकार भएपछि सागले पनि सम्मान पाउन थालेको हो । शहरीयाहरको हातमा सागले सम्मान साथ हल्लिने मौका पाएको हो ।
त्यसैगरी मधुमेह जस्ता भात खान नहुने रोगले आक्रमण गरेपछि मकैका च्याख्ला र कोदोका पिठोले भाटभटेनीका महलमा भित्रिने मौका पाएका हुन् । उच्च रक्तचाप र हृदयरोग जस्ता रोगले भेटिसके पछि सलाद र झोलिलो मौलिक नेपाली खानाले शहरीया परिवारको थालीमा उभिने मौका पाएका हुन् । यि सबै रोगले भेटाएपछि र डाक्टरले खान नहुने वस्तुहरुको तालिका थमाइदिएपछि डाइटिङ्गका नाममा एकादशीका दिन ब्रत बसे झैँ खानेकुरा खान पथपरेजमा बस्ने शैलीले फेरि ढोका ढकढक्याउने मौका पाएको हो । त्यसैले नेपाली समाजमा ऋषिमुनि र पुर्वजहरुले अनुसन्धान गरी बडो बैज्ञानिक ढंगबाट तयार पारिएको र विकसित भएको नेपाली मौलिक संस्कृतिलाई गौरवमा साथ अवलम्बन गर्ने बानी बसाल्ने तर्फ ध्यान दिने पो हो कि ? हजुरबुबा हजुरआमाको श्राद्धको तिथिका दिन बफ, चिकन मःमको अर्डर दिन छोडेर मासुविनाको खाजा खान उमेर हुँदा देखि र रोगले च्याप्नु अघि देखिनै थाल्ने पो हो कि ? भोलि डाक्टरले लिष्ट थमाउनु अघि नै मकै, भटमास, कोदो, गहुँ, रोटी, सागसब्जी, सलाद लगायतसंग मित्रता गास्न आजै थाल्ने पो हो कि ?
(पन्त दिव्य दृष्टि ज्योतिष सेवा तथा अनुसन्धान केन्द्रका संस्थापक हुनुहुन्छ । सम्पर्क नम्बर ९८४१५२७५१०)
गर्मी मौसममा स्वस्थ रहन के खाने ?
बिहीबार, असार ४, २०८३
जानीराखौँ लसुनको औषधीय गुण
सोमबार, असार १, २०८३
थालबाट सुरु हुन्छ स्वास्थ्य
शुक्रबार, वैशाख ११, २०८३
बीउको तेल सेवनले स्तन क्यान्सरको जोखिम बढाउन सक्छः अध्ययन
आइतबार, भदौ १५, २०८२
