नेपाल हेल्थ न्युज, काठमाडौं । गर्मी मौसम सुरु भएसँगै आँप खाने चलन बढेसँगै यसले छालामा डन्डीफोर (एक्ने) गराउँछ कि गराउँदैन भन्ने प्रश्न फेरि चर्चामा आएको छ। तर छालारोग विशेषज्ञहरूले आँपलाई सोझै डन्डीफोरको कारण मान्नु गलत हुने बताएका छन्।
जेनोवा शाल्बी अस्पतालकी छालारोग विशेषज्ञ डा. सुरभी देशपाण्डेका अनुसार आँप आफैँमा सामान्यतया छालामा डन्डीफोर गराउने फल होइन। तर अत्यधिक मात्रामा सेवन र असन्तुलित जीवनशैलीका कारण केही व्यक्तिमा छालासम्बन्धी समस्या देखिन सक्छ।
उनका अनुसार डन्डीफोर हुनुका मुख्य कारणहरूमा हर्मोनल परिवर्तन, चिल्लो छाला, तनाव, निद्राको कमी, अस्वस्थ खानपान, जंक फुड, पानीको कमी तथा वंशाणुगत कारणहरू बढी जिम्मेवार हुन्छन्। यी कारणहरू भएमा आँप नखाँदा पनि डन्डीफोर देखिन सक्ने चिकित्सकहरूको भनाइ छ।
विशेषज्ञहरूले आँपलाई छालाका लागि फाइदाजनक फलका रूपमा समेत उल्लेख गरेका छन्। यसमा भिटामिन ‘ए’, भिटामिन ‘सी’ तथा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइने भएकाले छालालाई स्वस्थ राख्न मद्दत गर्ने बताइन्छ।
तर समस्या आँपमा नभई त्यसलाई खाने तरिका र मात्रामा हुने चिकित्सकहरूको भनाइ छ। धेरै मानिसहरूले आँपलाई आइसक्रिम, गुलियो डेजर्ट वा तारेको–भुटेको खानेकुरासँग मिसाएर खाने भएकाले यस्तो संयोजनले शरीरमा इन्फ्लेमेसन बढाउन सक्ने उनीहरूको चेतावनी छ।
गर्मीमा अत्यधिक पसिना आउनु, अनुहार बारम्बार छुनु तथा सरसफाइमा कमी हुनु पनि डन्डीफोर बढ्ने कारण बन्न सक्छ। यस्तो अवस्थामा मानिसहरूले गलत रूपमा यसको दोष आँपलाई दिने गरेको चिकित्सकहरू बताउँछन्।
डा. देशपाण्डेका अनुसार कतिपय अवस्थामा मानिसहरूले डन्डीफोर ठानेको समस्या वास्तवमा ‘म्यांगो डर्माटाइटिस’ हुन सक्छ। आँपको बोक्रामा पाइने ‘उरुसिओल’ नामक तत्त्वले केही व्यक्तिमा एलर्जी गराउँदा मुख र अनुहार वरिपरि चिलाउने, रातो दाग वा साना दाना देखिन सक्छ।
यस्तो अवस्थामा आँप राम्ररी धुने, बोक्रा ताछेपछि हात सफा गर्ने जस्ता सावधानी अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्।
विशेषज्ञहरूले सीमित मात्रामा आँप सेवन सुरक्षित रहेको बताएका छन्। सामान्यतया एक दिनमा एउटा सानो आँप खान सकिने र मधुमेहका बिरामीका लागि दुई–तीन साना टुक्रा मात्र उपयुक्त हुने सल्लाह दिइएको छ।
त्यस्तै बजारमा पाइने कृत्रिम आँप जुस तथा फ्लेवरयुक्त उत्पादनहरूमा रिफाइन्ड चिनी र प्रिजर्भेटिभ्स बढी हुने भएकाले तिनबाट टाढा रहन चिकित्सकहरूले सुझाव दिएका छन्। एजेन्सी
(यो सामग्री सामान्य जानकारीका लागि हो। स्वास्थ्यसम्बन्धी निर्णयका लागि विशेषज्ञको सल्लाह आवश्यक हुन्छ।)
गर्मी मौसममा स्वस्थ रहन के खाने ?
बिहीबार, असार ४, २०८३
जानीराखौँ लसुनको औषधीय गुण
सोमबार, असार १, २०८३
थालबाट सुरु हुन्छ स्वास्थ्य
शुक्रबार, वैशाख ११, २०८३
बीउको तेल सेवनले स्तन क्यान्सरको जोखिम बढाउन सक्छः अध्ययन
आइतबार, भदौ १५, २०८२
