
नेपाल हेल्थ न्युज, महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले सेवालाई विस्तार गर्दै लगेको छ । चालु आर्थिक वर्षको दश महिना अस्पतालबाट ७३ हजार चार सय ५० ले बहिरङ र ३१ हजार सात सय ६५ जनाले आकस्मिक कक्षबाट सेवा लिएको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णनन्द भट्टले जानकारी दिनुभयो।
त्यस्तै तीन हजार आठ सय ६३ जनाले खोप सेवा, दुई सय १९ जनाले शल्यक्रिया, एक हजार सात सय ९१ जनाले सुत्केरी सेवा लिएको अस्पतालले जनाएको छ । बाह्र हजार तीन सय १७ जनाले भिडियो–एक्सरे सेवा लिएको अस्पतालबाट पाँच सय १६ जनाले यो अवधिमा ‘इसिजी’ सेवा लिएको अस्पतालको भनाइ छ ।
त्यसैगरी चालु आवको वैशाखसम्म एचआइभिका २२ र क्षयरोगका ६६ जना बिरामी थपिएको अस्पतालले जनाएको छ । केही समयअघि मात्रै अस्पतालले सुरु गरेको डायलासिस सेवातर्फ एक हजार आठ सय ६१ जनाले निःशुल्क सेवा लिइरहेको अध्यक्ष भट्टको भनाइ छ ।
अस्पतालको आन्तरिक सुधारका साथै भौतिक संरचना निर्माणमा समेत तीव्रता दिइरहेको बताउँदै अध्यक्ष भट्टले विशेषज्ञ सेवा थपका लागि पनि अग्रसरता देखाइएको जानकारी दिनुभयो । आठ प्रकारका विशेषज्ञ सेवा दिइरहेको अस्पतालमा अझै दरबन्दी अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मी भने उपलब्ध छैनन् । “यस वर्ष डायलासिस सेवा दश शय्यामा विस्तार गरेका छौँ”, भट्टले भन्नुभयो–“विशेषज्ञ सेवा विस्तारदेखि अस्पतालको भौतिक पूर्वाधार निर्माणमा पहल भएको छ ।”
उहाँले अस्पतालले सिटी स्याक्न सेवा, अस्पतालका थप संरचना निर्माणदेखि व्यवस्थापनमा माथिल्लो निकायमा पहल गरिरहेको बताउनुभयो । कुनै बेला चिकित्सकको अभाव झेल्दै आएको अस्पतालमा अहिले विशेषज्ञ सेवा विस्तार हुँदा बिरामीको चाप पनि बढ्दै गएको छ । “दैनिक चारदेखि छ सयको सेवाग्राही आइरहेका छन्”, उहाँले भन्नुभयो “आकस्मिक सेवामा पनि दैनिक एक सयको हाराहारीको सङ्ख्यामा सेवाग्राही आइरहेका छन् ।” रासस
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

