
नेपाल हेल्थ न्युज, तुलसीपुर । लुम्बिनी प्रदेशमा बाल मृत्युदर घटेको छ । आर्थिक वर्ष २०७५–७६ मा पाँच वर्षमुनिको बाल मृत्युदर प्रतिहजार ४५ रहेकामा हाल ३३ रहेको छ ।
शनिबार प्रस्तुत गरिएको बजेट वक्तव्यमा लुम्बिनीका आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले नवजात शिशु मृत्युदर प्रतिहजार ३० रहेकामा हाल २१ मा सीमित भएको तथ्याङ्क उल्लेख गरेका छन् ।
लुम्बिनीमा गरिबीको दर पनि घटेको छ । पाँच वर्षअघि ३० प्रतिशत रहेकामा हाल गरिबीको दर १८ प्रतिशतमा झरेको छ । बेरोजगारीको दर ११ प्रतिशतबाट घटेर आठ प्रतिशत पुगेको छ । पाँच वर्षअघि रु पाँच खर्ब ४० अर्ब रहेको कूल गार्हस्थ्य उत्पादन चालु आवमा सात खर्ब ७८ अर्ब हुने अनुमान गरिएको छ । प्रतिव्यक्ति आय अमेरिकी डलर आठ सय तीनबाट बढेर एक हजार एक सय २६ पुगेको जनाइएको छ ।
त्यस्तै माध्यमिक तह (कक्षा ९–१२) को कूल भर्नादर ७५ प्रतिशतबाट ८४ प्रतिशत र खुद भर्नादर ४० प्रतिशतबाट ५७ प्रतिशतमा वृद्धि भएको छ । लुम्बिनीमा सिँचाइ व्यवस्था पनि वृद्धि भएको छ । बाह्रै महिना सिञ्चित हुने भूमि २४ प्रतिशतबाट ३५ प्रतिशत पुगेको उल्लेख गरिएको छ । लुम्बिनी प्रदेश माछामासु र दूध उत्पादनमा आत्मनिर्भर भई अन्य प्रदेशमा समेत आपूर्ति भइरहेको जनाइएको छ । कूल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान १४ प्रतिशत पुगेको मन्त्री आचार्यले बताए ।
विसं २०७५ मा सडकको लम्बाइ ११ हजार दुई सय ३३ किलोमिटर रहेकामा हाल १५ हजार ७६ पुगेको छ । तीस मिनेटको दूरीमा पक्की सडकमा पहुँच भएको जनसङ्ख्या ५० प्रतिशतबाट ६५ प्रतिशत पुगेको छ भने एक सय नौमध्ये एक सय आठ पालिकामा बाह्रै महिना पहुँचयोग्य सडक निर्माण भएको जनाइएको छ ।
लुम्बिनीमा विद्युत्को पहुँच पनि विस्तार भएको छ । विद्युत्मा पहुँच पुगेको जनसङ्ख्या ८१ प्रतिशतबाट ९८ प्रतिशत पुगेको छ भने इन्टरनेटमा पहुँच भएका घरपरिवार ४९ प्रतिशतबाट ७६ प्रतिशत पुगेको उल्लेख गरिएको छ । रासस
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
