
नेपाल हेल्थ न्युज, महेन्द्रनगर । लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ । तराईका जिल्लामा अधिकांश देखिने मलेरिया, डेङ्गुलगायत रोगको सङ्क्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि बढ्दै गएको देखिएको छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले पहाडी जिल्लामा लामखुट्टे बढेसँगै पछिल्लो समय डेङ्गुको सङ्क्रमण पनि बढ्दै गएको बताउनुभयो । उहाँका अनुसार गत माघ यता सुदूरपश्चिममा एक सय ४० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी डोटी जिल्लामा ४७ जना सङ्क्रमित फेला परेका उहाँले जानकारी दिनुभयो ।
निर्देशनालयको तथ्याङ्कअनुसार अछाममा २६, कञ्चनपुरमा २४, बाजुरामा १५, दार्चुलामा १०, कैलालीमा नौ, बझाङमा चार, डडेल्धुरामा तीन र बैतडीमा दुई जनामा सङ्क्रमण देखिएको छ । “पानी पर्न थालेपछि तराईमा समेत सङ्क्रमण बढ्ने जोखिम रहन्छ”, जोशीले भन्नुभयो, “अहिले तराईमा अत्यधिक गर्मीका कारण लामखुट्टे मरेका छन् । पानी परेर केही चिसो हुन थालेपछि सङ्क्रमणको जोखिम बढ्ने छ ।” उहाँले पछिल्ला केही वर्षयता सुदूरपश्चिमका पहाडीका साथै तराईका जिल्लामा एकैसाथ सङ्क्रमण देखिन थालेको बताउनुभयो ।
डेङ्गु नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारले किट र औषधि व्यवस्थापन, चिकित्सकसहित स्वास्थ्यकर्मीको क्षमता विकास एवं प्रशिक्षणका साथै यहाँका अस्पतालहरूमा सङ्क्रमित बिरामीका लागि छुट्टै वार्ड र शय्याको व्यवस्थापन गरेको निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत जोशीले जानकारी दिनुभयो । स्थानीय तहले लामखुट्टेको लार्भा भएका ठाउँको पहिचान गरी ‘खोप र नष्ट गर’ सञ्चालन गरिरहेका उहाँको भनाइ छ ।
निर्देशनालयका अनुसार सन् २०२३ मा सुदूरपश्चिममा एक हजार एक सय ९४ जनामा डेङ्गु सङ्क्रमण देखिनाका साथै चारजनाको मृत्यु भएको थियो । रासस
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
