
नेपाल हेल्थ न्युज, बैतडी । बैतडीको सिगास गाउँपालिका वडा न. ५ स्थित भुवनेश्वरी माविका छात्राहरूमा कन्भर्शन डिसअर्डरको समस्या देखिएको छ । विद्यालयका करिब १ दर्जन किशोरीहरूमा दिउँसोको समयमा काम्ने, झम्टिने र भाग दौड गर्ने जस्ता समस्या देखिने गरेको छ ।
उनीहरुलाई दिउँसोको १२ बज्नुभन्दा केही समय अगाडी यो समस्या देखिने गरेको छ । उनीहरूलाई यो समयमा सम्हाल्नै मुस्किल पर्ने गरेको छ । निकै भयानक रूपले प्रस्तुत उनीहरुलाई नियन्त्रणमा लिन विद्यालयका शिक्षक शिक्षिका र विद्यार्थीहरूले निकै मेहेनत गर्नुपर्छ ।
१२ बर्ष पहिल्यैदेखि यस विद्यालयका छात्राहरूमा यो समस्या देखिन सुरु भएको हो । यस बर्ष भने जेठ महिनाको २६ गतेबाट यस्तो समस्या देखिएको हो । जेठ र असारको महिनामा यस्तो समस्या देखिने गरेको शिक्षक रघुवीर सिंह धामी बताउनुहुन्छ । दैनिक नयाँ नयाँ विद्यार्थीमा यो समस्या देखिने गरेको उहाँले बताउनुभयो ।
यो समस्या देखिनेमा कक्षा ७, ८ र ९ का छात्राहरू रहेका छन् । छात्राहरूलाई समस्या देखिएको अवधिमा केही पनि होस नहुने कक्षा ९ की छात्रा बसन्ती धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “सबैभन्दा पहिला खुट्टा काम्छन्, त्यसपछि माथी माथी सर्दै जान्छ र अन्तिममा बेस्सरी टाउको दुख्छ र छटपटाहट सुरु हुन्छ, छटपटाउन थालेपछि केही होस हुदैँन् ।”
कम समस्या भएको अवस्थामा अलि अलि जानकारी हुने गरे पनि बढी छटपटाहट भइरहेको अवस्थामा भने केही पनि थाहा नहुने गरेको कक्षा ७ की छात्रा की छात्रा ललिता धामीले बताउनुभयो ।
यस समयमा उनीहरू दौडेर भिरमा समेत पुग्ने गरेका छन् । अरू व्यक्तिहरू उनीहरूको नजिक गएपछि वा फोटो खिच्छ थालेपछि झम्टिन आउने गर्दछन् । यो समयमा उनीहरूलाई एकान्त कोठामा छाडेपछि आधा घण्टा भित्रमा निको हुने गरेको विद्यालयका प्रधानाध्यापक बिरेन्द्रसिंह धामीले बताउनुभयो ।
यस विद्यालयका किशोरीहरूमा देखिएको समस्याका विषयमा समाचार प्रकाशन/प्रसारण गरेपछि सरोकारवालाहरूको ध्यानाकर्षण भएको थियो । गाउँपालिकाले जिल्ला अस्पताल बैतडीलाई चिठी पठायो । अस्पतालमा कार्यरत मनोसामाजिक विमर्शकर्ताहरू ५ दिनको योजना बनाउँदै भुवनेश्वरी माविमा पुगे । उनीहरू भने विद्यालयबाटै असहयोग भएको भन्दै फर्किएका छन् ।
मनोविमर्शकर्ता तारा भट्टले भन्नुभयो, “हामीले सबैभन्दा पहिला शिक्षक शिक्षिकाहरूका लागि कक्षा सञ्चालन गर्यौँ, त्यसपछि समस्या देखिने गरेका विद्यार्थीहरूलाई कक्षामा सहभागी गरायौँ, सोही समयमा पुनः समस्या देखियो र उनीहरू विद्यालयबाटै भागेर भिर पाखातर्फ दौडिए । अन्तमा शिक्षकहरूले धार्मिक रूपमै ठिक गर्ने बताएपछि हामी फर्किन बाध्य भयौँ ।”
यो समस्यालाई तान्त्रिक कुराहरूसँग समेत जोडेर हेर्ने गरिएको छ । गाउँघरमा बैना कामेको भन्ने गरिएको छ । कतै आचँली लागेको भन्छन् भने कतै बैना कामेको भन्ने गरिन्छ । उनीहरू धामी झाँक्रीबाटै यो समस्याको समाधान हुनेमा विश्वास गर्दछन् ।
एक पटक आएर फर्किएका मनोसामाजिक विमर्शकर्ताहरू फर्के पनि पुनः विमर्शकर्ताहरू बोलाउने तयारी भइरहेको सिगास गाउँपालिकाले जनाएको छ । विद्यालयका किशोरीहरू काप्ने समस्या सञ्चारमाध्यममा आएपछि काठमाडौँबाट निःशुल्क रुपमा आउन मनोविमर्शकर्ताहरु सम्पर्कमा आएकाले उनीहरू बोलाएर समस्या समाधान गरिने गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो । सीपी लोहिया, रेडियोनेपाल
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
