
नेपाल हेल्थ न्युज, पर्वत । सरुवा रोगको सङ्क्रमण न्यूनीकरणमा बर्सेनि विभिन्न अभियान सञ्चालन गरिए पनि पर्वतमा प्रभावकारी हुन सकेको छैन । जिल्लास्थित स्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षमा पर्वतमा क्षयरोगका ५५, एचआइभी एड्सका १३ र कुष्ठरोगका छ जना नयाँ बिरामी थपिएका छन् ।
चालु आवको सुरुदेखि हालसम्म उक्त सङ्ख्यामा नयाँ सङ्क्रमित थपिएका स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार अनुसार आव २०७९/८० मा क्षयरोगका कूल ७७ जना नयाँ बिरामी फेला परेकामा चालु आवमा उक्त यो सङ्ख्या घटेर ५५ मा झरेको हो ।
थपिएका बिरामीमध्ये मोदी गाउँपालिकामा छ, जलजला र महाशिला गाउँपालिकामा दुईरदुई, कुश्मा नगरपालिकामा १५, फलेवास नगरपालिकामा चार, बिहादी गाउँपालिकामा पाँच र पैयुँ गाउँपालिकामा २१ जना रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।
क्षयरोगको सङ्क्रमणले फोक्सोलाई असर गर्ने र यो हावाका माध्यमबाट सर्ने भएकाले बिरामीले खोक्दा, हाच्छ्युँ गर्दा वा थुक्दा ध्यान पुर्याउनुपर्ने शर्माले बताउनुभयो । उहाँका अनुसार यसको कुनै पनि शङ्का भएमा तुरुन्तै स्वास्थ्य संस्थामा जानुपर्दछ ।
जिल्लामा भेटिएका सङ्क्रमितलाई नियमित रूपमा औषधि सेवन गराइएको भन्दै शर्माले लगातार छ महिनासम्म औषधि खाए रोग पूर्ण रूपमा निको हुने जानकारी दिनुभयो । “स्वास्थ्य संस्थामा औषधि निःशुल्क पाइन्छ, तर लापरबाही गरेर बिचमा औषधि छाड्ने वा भाग्ने गरेमा निको हुँदैन । यस्तो अवस्थामा अरूलाई रोग सारेमा अरूलाई पनि औषधिले काम नगर्ने गरी सङ्क्रमण फैलिने जोखिम हुने भएकाले सङ्क्रमितले नियमित औषधि सेवन गर्न अनुरोध गर्दछौँ”, उहाँले भन्नुभयो ।
जिल्लामा अघिल्लो आर्थिक वर्षसम्म एक सय १२ जनामा एचआइभी एड्सको सङ्क्रमण रहेकामा चालु आवमा १३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार योसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या एक सय २५ पुगेको छ । थपिएकामध्ये जलजला गाउँपालिकामा एक, कुश्मा नगरपालिकामा पाँच, फलेवास नगरपालिकाका चार र पैयुँ गाउँपालिकामा तीन जना छन् ।
एचआइभीको लक्षण देखिएका कोही पनि खुलेर नआउने भन्दै पुष्टि भएकाहरूलाई घरमा लगेर औषधि दिने गरिएको कार्यालयका प्रमुख शर्माले बताउनुभयो। विभिन्न सङ्घसंस्थाले पनि एचआइभी एड्सको न्यूनीकरणमा काम गर्दै आएका छन् ।
यसैगरी यसवर्ष मोदी गाउँपालिकामा एक, जलजला गाउँपालिकामा चार र फलेवास नगरपालिकामा एक जना कुष्ठरोगका नयाँ बिरामी फेला परेका छन् । आव २०७९/८० मा मात्रै जिल्लामा १५ जना कुष्ठरोगका बिरामी फेला परेकामा अहिले यो सङ्ख्या केही घटेको पाइएको शर्माले जानकारी दिनुभयो । कुष्ठरोगको औषधि पनि सरकारले निःशुल्क रूपमा उपलब्ध गराउँदै आएकाले सबैले नियमित औषधि सेवन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । रासस
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
