
नेपाल हेल्थ न्युज, काठमाडौँ । पश्चिम बंगालको कोलकत्ताको एक अस्पतालमा महिला डाक्टरको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक आरोपीलाई पक्राउ गरेको छ ।
कोलकत्ता प्रहरीका अनुसार अभियुक्त घटनापछि आफ्नो घर गएर लुगा धोएर सुतेका थिए । प्रहरीका अनुसार अभियुक्तको अस्पतालसँग प्रत्यक्ष सम्बन्ध नभए पनि अस्पतालमा आउने–जाने गर्थे । उनी कोलकत्ता प्रहरीमा काम गर्ने स्वयंसेवक हुन् । आवश्यक पर्दा प्रहरीलाई सहयोग गर्थे ।
सेमिनार हलमा भेटियो चिकित्सकको शव
मेडिकल कलेजमा अध्ययनरत महिला डाक्टरको शव शुक्रबार बिहान सेमिनार हलमा फेला परेको थियो । उनी राति खाना खाएर सेमिनार हलम सुतेकी थिइन ।
बलात्कार र हत्याको घटना राति ३ बजेदेखि बिहान ६ बजेको बीचमा भएको प्रहरीले जनाएको छ । समाचार एजेन्सी पीटीआईले एक प्रहरी अधिकारीलाई उद्धृत गर्दै घटनास्थलमा फेला परेका प्रमाणका हेर्दा महिला डाक्टरको हत्या पश्चात बलात्कार गरिएको संकेत गर्ने बताएको छ ।
घटनापछि अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । यसैबिच कोलकत्ता आरजी कार मेडिकल कलेज तथा अस्पतालका प्रिन्सिपल डा. सन्दीप घोषले राजीनामा दिएका छन् । चिकित्सा शिक्षा विभागका एक अधिकारीले बीबीसीलाई भने–‘सामाजिक सञ्जालमा भएको बदनामी र आफ्नी छोरी मान्ने डाक्टरको मृत्युका कारण उनले यो निर्णय लिएका हुन्।’
आइतवार कोलकत्ता पुलिस कमिश्नर विनीत गोयलले पोस्टमार्टम रिपोर्ट परिवारलाई बुझाइसकेको र लापरवाही गरेको भन्दै सो क्षेत्रमा तैनाथ एक सहायक प्रहरी अधिकृतलाई हटाइएको बताए ।

यसैबीच अस्पताल प्रशासनले कर्तव्यमा लापरवाही गरेको भन्दै दुईजना सुरक्षाकर्मीलाई पनि हटाएको छ । दुवै जना अस्पतालमा करारमा कार्यरत थिए ।
सुरुमा प्रहरीले यो घटनालाई हत्याको मुद्दा माने पनि परिवारको आग्रहमा जबरजस्ती करणीको मुद्दा पनि थपेको छ ।
कसरी पक्राउ परे आरोपी ?
प्रहरीले घटनाको अनुसन्धान गर्न एसआईटी गठन गरेको थियो । अनुसन्धान सुरु भएको ६ घण्टाभित्रै आरोपीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले सीसीटीभी फुटेज बाहेक घटनास्थलबाट केही प्रमाणहरू पनि सङ्कलन गरे । घटनास्थलबाट सङ्कलन गरेको प्रमाणको सहयोगमा प्रहरीले अभियुक्तसम्म पुग्यो । प्रहरीले सेमिनार हलमा टुटेको ब्लुटुथ इयरफोन फेला पारेको थियो । जुन अभियुक्त फोनसँग कनेक्ट भएको थियो ।
यसबाहेक सीसीटीभी फुटेजमा अभियुक्त बिहान ४ बजे अस्पतालको आकस्मिक भवनमा प्रवेश गरेको पनि देखाइएको छ । यस समयमा आरोपीले इयरफोन लगाएका थिए । करिब ४० मिनेटपछि अस्पतालबाट बाहिर निस्कँदा उनको कानमा इयरफोन थिएन ।
अभियुक्तले कोलकत्ता प्रहरीमा नागरिक स्वयंसेवकको रूपमा काम गरेका थिए । उनी धेरै पटक अस्पतालबाहिर प्रहरी चौकीमा तैनाथ समेत भइसकेका थिए ।
अभियुक्त २०१९ मा मा नागरिक स्वयंसेवक बनेका थिए । त्यसयता उनी कोलकाता पुलिसमा संलग्न थिए । अस्पताल नजिकैको पोस्टिङ भएका कारण अभियुक्तको अस्पतालमा चिनजान थियो । प्रहरीले दोषीलाई कडा भन्दा कडा सजाय दिने प्रयास गरिने जनाएको छ ।
तर, अभियुक्त पक्राउ परेपनि आन्तदोलनरत चिकित्सकको आक्रोश शान्त भएको छैन । शुक्रबारदेखि नै चिकित्सकहरुले अस्पताल परिसरमा आन्दोलन गरिरहेका छन् । अस्पताल परिसरभित्रै डाक्टरको बलात्कार र हत्याको यो घटनाले महिलाको सुरक्षामा पनि प्रश्न उठाएको छ ।
यसै क्रममा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आफू मृत्युदण्डको विरुद्ध भएपनि यस मामिलामा दोषीलाई मृत्युदण्ड दिने पक्षमा रहेको बयान दिएकी छिन् ।
आन्दोलनमा उत्रिए स्वास्थ्यकर्मी
आरजी कार मेडिकल कलेज पश्चिम बंगालको सबैभन्दा ठूलो अस्पताल हो । २६ एकडमा फैलिएको यस अस्पतालमा १२ सय शय्या छन् । ओपिडीमा दैनिक औसत २५ सय बिरामी आउँछन् । यसबाहेक आपतकालीन विभागमा पनि दैनिक एक हजारभन्दा बढी बिरामी आउने गरेका छन् ।

उक्त घटनापछि आवासीय चिकित्सक महासंघले सोमबार देशभरका अत्यावश्यक बाहेकका स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेका छन् ।
दिल्लीका सरकारी अस्पतालहरूले पनि सोमबारदेखि अनिश्चितकालीन हडतालको घोषणा गरेका छन् । धेरै अस्पतालले जारी गरेको विज्ञप्तिमा सोमबारदेखि ओपीडी, अपरेशन थिएटर र वार्ड ड्युटी बन्द हुने जानकारी दिएका छन् । बीबीसी

स्वास्थ्य पत्रकार मञ्चको अस्तित्व संकटमाः नेतृत्व विवादपछि सामूहिक बहिर्गमन
आइतबार, असार २२, २०८२
'म पनि सन्जिव तिवारी' अभियानमा चिकित्सकको साथः अवहेलनाको मुद्दामाथि चिकित्सा क्षेत्रको चासो
शुक्रबार, असार २०, २०८२
यो वर्ष ६० हजारभन्दा बढीलाई डेंगु संक्रमण हुन सक्ने उच्च जोखिम
शुक्रबार, असार २०, २०८२
नेपाल चिकित्सक संघका महासचिवलाई उच्च अदालतको कारण देखाउ आदेश
बिहीबार, असार १९, २०८२