
नेपाल हेल्थ न्युज, कैलाली । कोरोना महामारीका बेला सङ्घीय सरकारले भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । दुई वर्ष अगाडि धनगढी उपमहानगरपालिका–३ बडहरामा निर्माण गरिएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन भएको हो ।
विसं २०७८ वैशाखमा रु २८ करोड ८१ लाख लागतमा निर्माण सुरु भएको उक्त होल्डिङ सेन्टर २०७९ साउनमा सम्पन्न भएको थियो । निर्माण सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि स्वामित्व हस्तान्तरण हुन नसक्दा प्रयोगविहीन बनेको कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताउनुभयो ।
उहाँले भन्नुभयो, “होल्डिङ सेन्टरको स्वामित्व सङ्घ, प्रदेश वा स्थानीय सरकार कसले लिने भन्ने अहिलेसम्म केही निर्णय भएको छैन । एक पटक रक्षा मन्त्रालयको पहलमा स्वामित्व कसले लिने र सञ्चालन गर्ने भनेर समिति गठन भएको थियो । सोबारे भएका छलफल वा निर्णय हालसम्म स्थानीय प्रशासनलाई जानकारी छैन ।”
प्रजिअ मिश्रले नेपाली सेनाद्वारा निर्मित उक्त सेन्टर सञ्चालनको ढाँचा र जिम्मेवारी रक्षा मन्त्रालयबाट आउनुपर्नेमा हालसम्म नआउँदा स्वामित्व हस्तान्तरण हुन नसकेको बताउनुभयो । उहाँका अनुसार एक हजार क्षमताको होल्डिङ सेन्टरमा ५९ ब्लक, २० क्वारेन्टिन, दुई चिकित्सक कक्ष, २२ शौचालय तथा १५ वटा भान्सा कोठा निर्माण गरिएका छन् । होल्डिङ सेन्टरको हाल नेपाली सेनाले नै रेखदेख गरिरहेको प्रजिअ मिश्रले जानकारी दिनुभयो । रासस
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
