
नेपाल हेल्थ न्युज, काठमाडौँ । देशका सातै प्रदेशमा अब क्यान्सर उपचार सेवा विस्तार भएको छ । स्वास्थ्य तथा जनसंंख्या मन्त्री प्रदीप पौडेलले मन्त्री भएलगत्तै गत असार ३१ गते गरेको पहिलो निर्णय उनी मन्त्री भएको दुई महिनाभित्र पूर्ण कार्यान्वयनमा आएको हो । पहिलो निर्णयका रुपमा उनले क्यान्सर नियन्त्रण रणनीति २०३० स्वीकृत गर्नु भएको थियो ।
सोमबार गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मन्त्री पौडेलको उपस्थितिमा भरतपुर क्यान्सर अस्पतालमार्फत क्यान्सर उपचार सेवा विस्तार गरिए पछि देशका सातै प्रदेशमा क्यान्सर उपचार सेवा उपलब्ध भएको हो ।
यसअघि बागमती प्रदेशअन्तर्गत भक्तपुर र भरतपुर तथा लुम्बिनीको नेपालगञ्जमा रहेको क्यान्सर उपचार सेवा दुई महिनाको अवधिमा थप पाँच प्रदेशमा पुगेको हो ।
भक्तपुर क्यान्सर अस्पतालमार्फत कोशी प्रदेशको विराटनगर र मधेश प्रदेशमा नारायणी अस्पताल वीरगन्ज, बीपी कोइराला मेमोरियल क्यान्सर भरतपुरमार्फत गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट क्यान्सरसम्बन्धी परीक्षण तथा उपचार सेवा उपलब्ध गराउने गरी सम्झौता भएको छ ।
मन्त्री पौडेलले गत साउन २७ गते सार्वजनिक गर्नु भएको आफ्नो योजना तथा प्राथमिकतामा समेत क्यान्सर उपचार सेवा विस्तार गर्ने उल्लेख गर्नु भएको थियो ।
आफूले गरेको पहिलो घोषणा पूर्णरुपमा कार्यान्वयनमा आएको जानकारी दिँदै मन्त्री पौडेलले अबको चरणमा मानव अङ्ग प्रत्यारोपण तथा मुटुको उपचारका सेवा समेत विस्तार गर्न सकिने बताउनुभयो ।
मन्त्री पौडेलले भन्नुभयो, ‘क्यान्सरसँगै मानव अङ्ग प्रत्यारोपण र मुटु उपचार सेवासमेत विस्तार गर्ने नीति लिएका छौँ । ’
संघीय क्यान्सर अस्पतालको सेवा नै विस्तारित अस्पतालबाट पाउने भएकाले खर्च र समय दुवै बचत हुने मन्त्री पौडेलको सचिवालयले जनाएको छ । अब सेवा विस्तार भएका अस्पतालको सेवा र गुणस्तरमा समेत थप सहायता पाउनेछन् । स्याटेलाइट क्लिनिक तथा आफ्ना दक्ष जनशक्तिसमेत पठाएर विस्तारित अस्पतालमार्फत सेवा दिइने भएकाले यो प्रभावकारी हुने सचिवालयले जनाएको छ ।
यसअघि संघ मातहतका तीन अस्पतालले मात्र क्यान्सर उपचार सेवा उपलब्ध गराउँदै आएका छन् ।
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
