नेपाल हेल्थ न्युज, काठमाडौँ ।परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले प्रजनन् स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको जानकारी दिनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहनुभएकी मन्त्री डा राणाले सोमबार न्युयोर्कमा महिला राजनीतिक नेताहरूको एक उच्चस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै बिगत सम्झँदा निकै कहालीलाग्दो अवस्था भएपनि पछिल्ला वर्षहरुमा नेपालले यस क्षेत्रमा प्रगति गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो “सबैभन्दा पहिला त खुसीको कुरा म के सुनाउन चाहन्छु भने नेपालको वर्तमान संविधानले महिलाको प्रजनन् अधिकार र सुरक्षित मातृत्वको विषयलाई मौलिक हकअन्तर्गत नै राखेको छ । संविधानको मौलिक हकमा यो व्यवस्था राख्ने एसियाका थोरैमध्येको नेपाल पनि एक देश हो । महिलालाई दिइएको प्रजनन अधिकारका क्षेत्रको यो सबैभन्दा बलियो कानुनी प्रावधान हो भन्ने मलाई लाग्दछ ।”
विगतमा असुरक्षित गर्भपतनका कारण नेपालका कैयौँ महिलाको ज्यान जाने गरेको, उनीहरू कानुनी कारबाहीको भागिदार बन्नुपरेको र कैयौँ महिला जेल पर्ने गरेको प्रसङ्ग पनि उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो “एक समय त यस्तो पनि थियो कि जेलमा परेका एक सय जना महिलामध्ये आधाभन्दा बढी त भ्रूण हत्याको अभियोगमा थिए । तर पनि यसमा पुरुषहरूको दोष या अपराध भने कतै देखाइँदैनथ्यो । हामीले ती महिलाको पक्षमा वकालत गर्यौँ र उनीहरुलाई जेलमुक्त गरायौँ । अहिले त्यस्तो अवस्था छैन । महिलाहरूले सुरक्षित रुपमा गर्भपतन गराउने अधिकार पाएका छन् र सुरक्षित छन् ।”
महिलाहरूको यो अवस्थाका विरुद्धमा आफूहरू विगत लामो समयदेखि सङ्घर्ष गरेको अनुभव पनि उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो “नेपालका महिलाको अवस्था यस्तो भएपछि हामीले महिलाको प्रजनन् अधिकारका पक्षमा अभियान नै चलायौँ । संयोगवश मेरा श्रीमान् शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री बन्नुभयो र विशेष गरी यस विषयमा मेरो नेतृत्वमा नेपालका सबै पार्टीका महिलाले ‘लबिङ’ गरेका थियौँ । त्यसपछि सुरक्षित गर्भपतन र महिलाको प्रजनन् अधिकारसम्बन्धी कानुनी प्रावधान आयो ।”
वर्तमान संविधानमा प्रजनन् स्वास्थ्य र सुरक्षित मातृत्वसम्बन्धी अधिकारको व्यवस्था राख्नका लागि आफूहरूले गरेको सङ्घर्षको कथा सुनाउँदै मन्त्री डा राणाले भन्नुभयो “संविधान तयार पारिरहेको तत्कालीन संविधान सभाका छ सय एकमध्ये हामी दुई सय ७३ सदस्य त महिला नै थियौँ । हामीले तयार पारेको पहिलो मस्यौदा नै गायब पारिएछ । कुनै पुरुष सांसदले त्यो गायब पारे होलान् भन्ने लाग्यो । पछि सबै पार्टीका महिला सांसद एक भयौँ र दबाब दिएर त्यसलाई पारित गराएरै छोड्यौँ ।”
उहाँले विकसित राष्ट्रहरूका तुलनामा नेपालको कूल ग्राहस्थ्य उत्पादन अत्यन्तै थोरै भए पनि मानव विकास सूचकाङ्कमा भने नेपालले प्रगति गरिरहेको प्रसङ्ग उल्लेख गर्दै महिलाको प्रजनन् अधिकार, सुरक्षित मातृत्व र अन्य धेरै यस्तै महिला अधिकारका कारण यो सम्भव भएको धारणा पनि राख्नुभयो ।
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
