
नेपाल हेल्थ न्युज, बनियानी (झापा)। जिल्लाको अर्जुनधारास्थित शनिश्चरे नगर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या दोब्बरले वृद्धि भएको छ ।
नगर अस्पतालमा आमा सुरक्षाका कार्यक्रमसँगै शल्यक्रियासहितको प्रसूति सेवा सुरु भएपछि यहाँ प्रसूति सेवा लिनेको सङ्ख्या दोब्बरले वृद्धि भएको हो । नगर अस्पतालमा आर्थिक वर्ष २०८१/८२ को हालसम्म ७६ जनाले प्रसूति सेवा लिएको अस्पतालका अभिलेख शाखा प्रमुख किरणकुमार खरेलले जानकारी दिनुभयो । आव २०८०/८१ मा ८३ जनाले सेवा लिएका थिए ।
आमा सुरक्षा नमूना कार्यक्रमअन्तर्गत सङ्घीय सरकारबाट आवश्यक अत्याधुनिक उपकरण प्राप्त भएपछि प्रसूति गराउन आउने सङ्ख्या उल्लेख्य वृद्धि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा योगेश चेम्जोङले बताउनुभयो । “दक्ष जनशक्तिसँगै पूर्वाधार पर्याप्त भएकाले पनि आकर्षण बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “सेवाग्राहीलाई गुणस्तरीय सेवा दिने प्रयास गरिरहेका छौँ, सेवाग्राहीको विश्वास पनि बढिरहेको छ ।”
गत आवमा नगर अस्पतालबाट ७९ हजार आठ सय ६२ जनाले बहिरङ्ग सेवा लिएका थिए भने चालु आवको भदौसम्म १७ हजार तीन सय ३४ जनाले सेवा लिएको अस्पतालले जनाएको छ ।
हालै नगर अस्पताललाई सङ्घीय सरकारले रु ७६ लाख बराबरको स्वास्थ्य उपकरण प्रदान गरेको छ । अस्पतालको सेवाको स्तरवृद्धिका लागि सङ्घीय सरकारले अत्याधुनिक प्रसूति शय्या, इसिजी मेसिन, फोटोथेरापी मेसिन एक–एक थान, बिरामी शय्या नौ थान, एक्स–रे मेसिन एक थान, बिपी सेट पाँच थान, ल्याब्रोटेरी माइक्रोस्कोप एक थान, सिटीजी मेसिन एक थान र पोर्टेबल भिडियो एक्स–रे मेसिन एक थान प्रदान गरेको हो ।
नगर अस्पतालको भवन निर्माणका लागि सरकारले चालु आवमा रु सात करोड बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । नयाँ भवन सञ्चालनमा आएपछि सेवा विस्तार हुने उहाँले बताउनुभयो । अस्पतालमा दुई चिकित्सक अत्यावश्यक रहेकाले मन्त्रालयसँग माग गरिएको नगरप्रमुख गोम्देनले बताउनुभयो ।
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
