
फिल्म निर्माता, गीतकार तथा साहित्यकार उहाँका थप परिचय हुन् । उहाँ नेपालको पहिलो पुरुष स्त्री तथा प्रशुति रोग विशेषज्ञ हुनुहुन्छ । उहाँले नेपालमा टेस्ट ट्युब बेबी भित्र्याउनेलगायत थुप्रै उल्लेखनीय काम गर्नुभएको छ । हामीले उनै डाक्टरको बाल्यकाललाई समेटेका छौं…
बि.सं.२०१४ सालमा इटहरीको ट्यांग्रे खोला दक्षिणतिर सातामा दुई दिन हाट लाग्थ्यो । हाटमा खरका छाना लगाइएका छाप्रा थिए । हाटमा एकदिन ठूलो आगलागी भयो । थुप्रै मानिस घाइते भए । मानिसहरु पोलेको घाउमा पानी छम्किरहेका थिए ।
त्यतिबेला औषधि पसल हुँदैनथे । गाउँकै किराना पसलमा प्राथमिक उपचारका औषधि बेचिन्थे । बिराटनगरको ललिता मिलसँगै एउटा पसल थियो ।
त्यहि पसलबाट १० वर्षे एक बालक डिटोल, शिवाजलको गोटी र मल्हम, बर्नल, एनासिन, एस्प्रो ट्याब्लेट, बेरालगन लगायतका औषधि बोकेर पुगे । घाइतेका घाउमा लगाइदिए । घाइतेहरुले राहत महसुस गरे । बिस्तारै गाउँमा ती बालकको चर्चा हुन थाल्यो । पुरै गाउँलेले उहाँलाई ‘छोटे डाक्टर’ भनेर बोलान थाले । अहिलेका चर्चित स्त्री रोग तथा प्रशुति रोग विशेषज्ञ डा. भोला रिजाल नै त्यो बेलाका छोटे डाक्टर हुनुहुन्थ्यो ।
गाउँको छोटे डाक्टर बन्ने बेलासम्म उहाँले अनौपचारिक शिक्षा मात्रै लिनुभएको थियो । त्यो समय हुनेखानेले घरमै भारतबाट शिक्षक झिकाउँथे । उहाँका हजुरबुवा ध्रुबलाल रिजालले पनि निर्भयनारायण झा नामका शिक्षक इण्डियाबाटै झिकाउनुभएको थियो । डा. रिजालले घरमै ५ कक्षासम्मको कोर्षबुक पढ्नुभयो ।
त्यसपछि उहाँ औपचारिक स्कुल अध्ययनका लागि धरान जानुभयो । स्कुल भर्ना हुने दिन उहाँले भन्नुभएको थियो—‘म डाक्टरी पढ्न आएको हुँ ।’ उहाँको कुराले शिक्षकहरुलाई चकित पारेको थियो । कक्षा ५ मा भर्ना भएकै दिन कोर्षबुक देखाउँदै रिजालले भन्नुभयो—‘यो त मैले सबै पढिसकें ।’ त्यसपछि उहाँलाई कक्षा ६ मा भर्ना गरियो । कक्षा ९ सम्मको अध्ययन उहाँले धरानमै गर्नुभयो । थप अध्ययनका लागि उहाँ बिराटनगर आउनुभयो ।
बिराटनगर पढाइको पनि उहाँसँग छुट्टै सम्झना छ । बि.सं.२०१७ सालको अन्त्यतिरको कुरा हो, गाउँभरी भूकम्पको हल्ला फैलियो । भूकम्पले सबै तहसनहस बनाउने हल्लाले सबैतिर त्रास फैलिएको थियो । उहाँका ८ जना बुवाका दाजुभाइ धरान, बिराटनगर र इटहरीमा छरिएर बसेका थिए । भूकम्पमा केही भए सँगै भोग्ने भन्दै उहाँका हजुरबुवाले सबैलाई बिराटनगरमै भेला हुन आदेश दिनुभयो । त्यहि वर्ष सगोलमा रहेका छोराहरुको अंशबण्डा भयो । उहाँका बुवाको अंश बिराटनगरमा प¥यो । बुवाहरुको अंशबण्डासँगै रिजालले धरान छोड्नुभयो । बिराटनगरको आदर्श विद्यालयमा भर्ना हुनुभयो । उहाँले त्यहिँबाट एसएलसी पास गर्नुभयो ।
उहाँ सानैबाट अत्यन्तै सक्रिय हुनुहुन्थ्यो । सामाजिक र खेलकुद गतिविधिमा विशेष रुचि राख्ने रिजाल हुनेखाने परिवारमा जन्मिएकाले उहाँको बाल्यकाल सुखसयलमै बित्यो । आफू सुखमा भएपनि उहाँमा अरुको बढी चिन्ता गर्ने स्वभाव थियो । आफ्नो वरपरका कोही समस्यामा परे भने सेवा गर्न उहाँलाई पुगिहाल्नुपथ्र्यो । उहाँका बुवा गीत, कविता लेख्नु हुन्थ्यो । हजुरबुवा त्यो जमानाका नाम चलेका कवि हुनुहुन्थ्यो । बुवा र हजुरबुवाको प्रभावले उहाँ पनि सानैबाट साहित्य सिर्जना गर्नुहुन्थ्यो ।
स्कुल जीवनमै उहाँ विभिन्न सांगठानिक गतिविधिमा सक्रिय हुनुहुन्थ्यो । उहाँले यादव सापकोटा, माधव सापकोटालगायतसँग मिलेर हिमकला मन्दिर नामको सांस्कृतिक संस्था सुरु गर्नुभयो । यो समूहबाट उहाँहरू इन्डियासम्म पुगेर सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्नुहुन्थ्यो ।
उहाँ सानैबाट असाध्यै शान्त स्वभावको हुनुहुन्थ्यो । भन्नुहुन्छ—‘मलाई आफूले गरेको त्यस्तो बदमासी थाहा छैन ।’ अन्य केटाकेटी भन्दा शान्त देखेर हजुरबुवाले उहाँको नाम भोला राखिदिनुभएको थियो ।
बाल्यकालको अविष्मरणीय घटनासँगै जोडिएर आउँछ डा.रिजालको विवाह । डा. रिजाल १५ वर्षको हुँदा १२ वर्षीया सरला घिमिरेसँग विवाह भयो । उहाँ हजुरबुबाका प्रीय नाति हुनुहुन्थ्यो । हजुरबुबा काशी जाने योजनामा हुनुहुन्थ्यो । काशी जानुअघि नातिको विवाह हेर्ने चाहना थियो । कक्षा १० मा पढ्दापढ्दै रिजालको घरमा विवाहको कुरा चल्न थाल्यो ।
आफन्तहरुले धरान, नयाँबजारकी सरला घिमिरेसँग विवाह गरिदिने निर्णय गर्नुभयो । सरलाका दाजुहरु उहाँका क्लासमेट थिए । तर सरलालाई भने उहाँले देख्नुभएको थिएन । सरलासँग विवाह गर्ने तय भएपछि आफन्तहरुले उहाँलाई केटी हेर्न प्रस्ताव गरेका थिए । विवाह नै पक्का भइसकेपछि आएको प्रस्तावमा उहाँले भन्दिनुभयो—‘विवाह नै टुङ्गो लागिसक्यो अब किन केटी हेर्ने ? अब एकै पटक बिहेमै हेरौंला ।’—उहाँले मनमनै सोच्नुभयो, ‘केटी मन परेन भने त्यहिबाट भाग्छु ।’ यसरी उहाँको विवाह २०१९ साल असार ४ गते भयो ।
बिवाहपछि हजुरबुबासँगै रिजाल आइएस्सी पढ्न बनारस जानुभयो । श्रीमतीले पढ्नुपर्छ भनेर ढाडस दिएकै कारण पढ्न गएको उहाँ सुनाउनुहुन्छ । ‘सरलाले मलाई पढ्नुपर्छ भन्थिन्’—उहाँ भन्नुहुन्छ—सानै भए पनि उनी मलाई पढाइमा फोकस हुन प्रेरित गर्थिन् ।’ श्रीमतीको प्रेरणाबाट डाक्टर पढ्न जानुभएका रिजाल श्रीमतीकै प्रसव पीडा देखेर स्त्री रोग विशेषज्ञ बन्नुभएको हो ।
उहाँको जन्म धरानको पुरानो बजारमा भएको हो । उहाँ २००४ साल कार्तिक १४ गते जन्मनु भएको हो । उहाँका पिता जननीप्रसाद रिजाल र माता पूर्णमाया रिजाल हुनुहुन्छ । उहाँ परिवारको साइलो सन्तान हुनुहुन्छ । उहाँको परिवार धनकुटाको सिबुवाबाट धरान सरेको थियो । १९९० को दशकमा त्यहाँ पानीको हाहाकार थियो । उहाँको परिवार पानीको खोजीमा धरान झरेको थियो । पछि खेतीयोग्य जमिनको खोजीमा इटहरी र बिराटनगर सर्यो ।
धरानमा उहाँको परिवार सर्दा त्यहाँको बस्ती निकै पातलो थियो । धरान–बिराटनगर सडक बाहेक विकासका नाममा अन्य संरचना थिएनन् । रिजाल परिवारले ‘ललिता मिल’ स्थापना गरेको थियो । जिएमसी ट्रक किन्यो र दाल, चामल, तेल लगायतका खाद्यान्य धरान, इटहरी लगायतका ठाउँमा ढुवानी गर्न थाल्यो । त्यो समयको जिएमसी ट्रक आज पनि डा. रिजालको आँखामा दौडिरहन्छ । भन्नुहुन्छ, ‘हर्कबहादुर गुरुङले चलाउने त्यो ट्रकको नम्बर १३७ हो ।’
बाल्यकालीन सेवाभावले डाक्टर बन्नुभएका डा. रिजाल जागिरको सिलसिलामा सप्तरीमा हुनुहुन्थ्यो । उहाँको श्रीमतीको गर्भमा तेस्रो सन्तान थियो । तर, श्रीमतीले बच्चा जन्माउन सक्नुभएन । अपरेसन गर्नुपर्ने थियो । त्यहाँ अपरेसन गर्ने डाक्टर भए पनि एनेस्थेसिया (बेहोस गराउने औषधि) दिने कोही थिएनन् । त्यतिबेलाका अञ्चलाधीश महेशकुमार उपाध्यायको गाडी मागेर रातको १२ बजे श्रीमतीलाई बिराटनगर पुर्याउनुपर्यो । बच्चा जन्मिए पनि श्रीमतीलाई ठीक हुन धेरै समय लाग्यो । यो घटनापछि उहाँमा स्त्री रोग विशेषज्ञ बन्ने हुटहुटी सुरु भयो । त्यसपछि उहाँ ढाकास्थित आईपीजीएमआर (अहिले बंगबन्धु शेख मजिव मेडिकल हस्पिटल) मा गाइनोकोलोजीमा पोस्ट ग्रयाजुएट गर्न जानुभयो । र, स्त्री रोग विशेषज्ञ भएर फर्किनुभयो ।
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
