
नेपालमा अझै पनि बाथरोगको उपचार गर्ने दक्ष जनशक्ति र जनचेताको कमी छ । वाथरोग न्यूनिकरणमा सरकारको प्राथमिकता प्रायः शून्य नै देखिन्छ । संसारमा सयौं प्रकारका वाथ हुने भएपनि विशेषगरी नेपालमा गठिया, मेरुदण्ड, युरिक एसिड, हड्डी खिइने र मांशपेशीको वाथ धेरै देखिने गरेको छ ।
हड्डी, नशा र मांशपेशीले शरीरको बनोट निर्धारण हुने भएकाले बाथका अधिकांश बिरामीहरुमा हड्डी खिइने, नशा च्यापिने र मेरुदण्डको समस्या हुने गर्छ । प्रायः सबैखाले बाथरोगले हड्डी, नशा र मांशपेशीलाई नै असर पुर्याउँछ । चिकित्सकीय भाषामा यसलाई ‘कोल्याजन टिस्यु डिजिज’ भनिन्छ । विशेषगरी र्युमाटोइड आर्थराइटिसका बिरामीहरु बढी नशा सम्बन्धी समस्या लिएर आउने गरेका हुन्छन् ।
लुपस बाथले पनि सिधै नशालाई असर पुर्याउँछ । लुपस बाथका कतिपय बिरामीहरुमा नशा ब्लक, हात खुट्टा नचल्ने र प्यारालाइसिसमेत हुनसक्छ । खासगरी ५० वर्ष उमेर माथिका धेरै व्यक्तिमा घुँडा दुख्ने समस्या देखिएको छ । उनीहरुमा मेकानिकल दुखाइ हुन्छ जसमा सिढी चढ्दा, उठबस गर्दा गाह्रो हुने गर्दछ । ओस्टियोआर्थराइटिस बाथका कारण पनि यस प्रकारको समस्या हुनसक्छ । त्यस्तै महिलाहरुमा गठिया बाथ, बालबालिकामा जीआईए बाथ र वयस्कलाई यूरिक एसिड बाथ बढी पाइन्छ ।

बाथ रोग पुरानो भइसकेको अवस्थामा जीवनभर औषधि सेवन गर्नुपर्छ । तर प्रारम्भिक चरणमा पहिचान भएमा औषधोपचार गरेर नियन्त्रणमा राख्न सकिन्छ । निश्चित समयपछि चिकित्सकको सल्लाहमा औषधि छोड्न पनि सकिन्छ । औषधिको धेरथोर साइड इफेक्ट भएपनि डराइहाल्नुपर्दैन । हरेक तीन महिनामा रगत जाँच गरेर हेमोग्लोबिन, डब्लुबिसी,लिभर, किड्नीमा बाथको मात्रा हेर्ने जाँच गरिन्छ ।
यूरिक एसिड बाथ भएकाहरुले खानपान र जीवनशैलीमा विशेष ध्यान दिनुपर्छ । शारीरिक व्यायाम गर्नुपर्छ । रातो मासु गुलियो खानेकुरा, धुम्रपान मद्यपान गर्न हुँदैन । ओस्टियोआर्थराइटिसका बिरामीहरुले शारीरिक वजन नियन्त्रणमा राख्नुपर्छ । युरोपियन देशहरुमा गरिएको एक अध्ययनमा १० प्रतिशत तौल घटाउन सकेमा ५० प्रतिशतसम्म दुखाइ कम हुने देखिएको छ ।
खासगरी चिसो, अस्वस्थ्यकर जीवनशैली, मोटोपना, शारीरक अभ्यासको कमी र अस्वस्थक खानपानले बाथ रोग बढाएको छ । बाथ रोग बारे धेरै मानिसको गलत बुझाइ छ । कतिपयले बाथलाई युरिक एसिड भन्ने बुझ्दछन् । खानेकुरा बार्छन् र दुखाई कम गर्न स्टेरोइडको धुलो प्रयोग गर्दछन् । त्यसैले बाथरोगका लक्षणबारे ज्ञान हुन जरुरी छ ।
बाथरोगका १६ लक्षण
- हातका औंलाहरु दुख्ने वा सुन्निने
- हात खुट्टाका औंला निलो सेतो हुने
- बिहान उठ्ने बेला हात, खुट्टा वा जीउ अरठ्ठो हुने
- खुट्टाको बूढी औंला वरिपरी रातो भएर टेक्न नहुने
- गोलिगाँठो दुःख्ने र सुन्निने
- राती तथा बिहान ढाड दुःख्ने
- बिहान ढाड अरठ्ठो हुने
- घुँडा दुःख्ने र सुन्निने
- कुर्कुचा दुःख्ने (प्रायः बिहान उठ्ने बेला)
- पाइताला पोल्ने (प्रायः राती) वा झम्झमाउने
- पिडौंला दुःख्ने वा करकर खाने
- जीउ गल्ने र छिटो छिटो थकान हुने
- मासंपेशीहरु कमजोर हुने
- छालामा डावर अथवा निको नहुने घाउ आइरहने
(बाथ रोग विशेषज्ञ डा. कर्माचार्य नेशनल बाथरोग सेन्टरमा कार्यरत हुनुहुन्छ ।)
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
