
कविता सिटौला विगत १० वर्षदेखि त्रिवि शिक्षण अस्पतालमा क्रिटिकल केयर नर्स हुनुहुन्छ । उहाँ क्रिटिकल केयर नर्सेस एसोसिएशन अफ नेपाल (सिसिनान) की उपाध्यक्ष पनि हो । सिटौंला त्रिभुवन विश्वविद्यालय (त्रि.बि.) शिक्षण अस्पतालको कलेजो प्रत्यारोपण विभागको नर्सिङ संयोजक र नर्स एजुकेटर हुनुहुन्छ । उहाँको यो कार्याअनुभवले कस्तो देखेको छ त नेपालका अस्पतालको क्रिटिकल केयरको अवस्था, उहाँको अनुभव अनुुभूति आफ्नै शब्दमा…
आइसीयूमा सिकिस्त बिरामीलाई सेवा गर्ने नर्सलाई क्रिटिकल केयर नर्स भनिन्छ । जसमा बेसिक लाइफ सपोर्ट र रुटिन नर्सिङ केयरको ज्ञान तथा क्षमतामा कन्फिडेन्ट हुनुपर्छ । आइसीयुमा प्रत्येक मिनेटले नपुगेर त्यहाँ बिरामीको प्रत्येक सेकेन्डमा जाँच गर्नुपर्छ । एउटा नर्स ब्रेकमा बाथरुम गएको बेला आइसीयूको एउटा बिरामीको ज्यान तलमाथि पर्न सक्छ । त्यसैले आइसीयूलाई अत्यन्तै संवेदनशील क्षेत्र मानिन्छ ।
क्रिटिकल केयर नर्सको काम भनेको फ्लोरमा बसेर निर्देशन कार्यान्वयन गर्नु हो । राउण्डमा भएको छलफल र डाक्टरले दिएको निर्देशन पालना गर्नुपर्छ । डाक्टरले भनेको औषधि बिरामीलाई चलाउने काम पनि क्रिटिकल केयर नर्सले नै गर्नुपर्र्छ । आइसीयूमा पुगेका हरेक किसिमका रोगीको समस्या न्यूनिकरण गर्ने व्यवहारिक पाटो नर्सले नै सम्हालेका हुन्छन् ।
नेपालको चिकित्सा क्षेत्रमा क्रिटिकल केयरमा काम गर्ने तालिम प्राप्त नर्सहरुको संख्या असाध्यै कम छ । खासमा क्रिटिकल केयरको महत्व र आवश्यकता बुझेर त्यहाँ काम गर्ने नर्सहरुको क्षमता बढाउनु पर्ने थियो । नेपाल सरकारले निश्चित मापदण्ड बनाउनु पर्ने हो । तर, सरकारले नै वास्ता गरेको छैन । अन्य देशमा क्रिटिकल केयरमा काम गर्न दुई वर्ष फ्लोरमा काम गरेर क्रिटिकल केयरको तालिम लिनुपर्छ ।
नेपालमा त्यस्तो कुनै मापदण्ड बनाइएको छैन । एसएलसी पास गरेर पीसीएल नर्सिङ पढेको फ्रेस जनशक्तिले आईसीयूमा सीधै काम गर्न पठाउनु पर्ने हाम्रो बाध्यता छ । काममा पठाउनु अघि त्यो नर्ससँग आईसीयूमा काम गर्ने सीप र शिक्षा छ÷छैन भनेर हेर्ने चलन र अवस्था दुवै छैन ।

एउटा फ्रेस नर्सले आवश्यक तालिम बिनै भेन्टिलेटरमा गएर सिकिस्त बिरामी हेर्नुपर्ने अवस्था डरलाग्दो हो । नेपालमा क्रिटिकल केयर नर्सिङको मापदण्ड बनाउने र सोही अनुसार काम भयो कि भएन भनेर हेर्ने एवं विधागत नर्सिङ जनशक्तिलाई प्रमाणीकरण गर्ने आधिकारिक निकाय पनि छैन ।
विश्वमै भएका विभिन्न रिसर्चहरुको रिपोर्ट हेर्ने हो भने तालिमले नर्सहरुलाई दक्ष बनाउँछ भनिन्छ । तर, हाम्रोमा यो प्राक्टिस छैन । यो अवस्थामा सुधार आउन पोलिसी लेबलबाटै क्रिटिकल केयरमा काम गर्ने नर्सको मापदण्ड सेट हुनु जरुरी छ ।
सिसिनानले क्रिटिकल केयर नर्सको डेफिनेसनमा भनेको छ, ‘क्रिटिकल केयर नर्ससँग बेसिक तालिम लिएको सर्टिफिकेट हुनुपर्छ र अर्गान लाईफ सपोर्टको ज्ञान हुनुपर्छ ।’ यो कुरा नेपाल सरकारको स्वास्थ्य योजनामा पनि हामीले वकालत गर्दै आएका छौं । न्युनतम ३ महिनाको तालिम पछि मात्रै एउटा नर्सलाई क्रिटिकल केयरमा पठाउन सकियो भने बिरामीले सहि स्याहार पाउँथे भन्ने हाम्रो मान्यता हो ।
तीन महिनाको आधारभूत तालिम लिएर मात्र एउटा नर्सले क्रिटिकल केयर सेवा प्रदान गर्न योग्य हुन्छ । सिसिनानले हालसम्म ४ सयलाई क्रिटिकल केयर सम्बन्धि आधारभूत तालिम दिइसकेको छ । नेपाल नर्सिङ काउन्सिलबाट मान्यता प्राप्त जोसुकै नर्स पनि यो ३ महिने तालिममा सहभागी हुन सक्छन् । यसको प्रमाणपत्र प्राप्त गर्न ८० प्रतिशत अंक ल्याउन जरुरी हुन्छ । त्यसमा सैद्धान्तिक र व्यवहारिक क्षमता हेर्ने गरिन्छ । साथै ७० जनाले इन्सट्रक्टिभ तालिम लिन सफल भएका छन् । यसका लागि व्याच्लर इन नर्सिङ गरेर आइसियूमा कम्तिमा पनि २ वर्ष काम गरेको हुनुपर्छ । उनीहरुको ६ महिनाको तालिम हुन्छ ।
क्रिटिकल केयर अत्यन्तै संवेदनशील ठाउँ हो । यो ठाउँमा मृत्युको मुखमा पुगेका बिरामीको जीवन फर्काउने जिम्मेवारी हुन्छ । यहाँको सम्वेदनशीलता हेरेर सरकारले क्रिटिकल केयर नर्स हुन के कस्तो क्षमता चाहिन्छ ? के कस्तो सीप सिक्नुपर्छ ? के पढ्नुपर्छ ? भन्ने मापदण्ड बनाउनुपर्ने हो । त्यो छैन् ।
पछिल्लो समय हाम्रो नेपाल सरकारले डब्लुएचओको मापदण्डलाई फलो गरेर मिनिमम हेल्थ स्ट्याण्डर्डको मापदण्ड तोकेको छ । तर, यो सबै अस्पतालमा कार्यान्वयन भएको अवस्था छैन् । त्रिविको तत्कालको अवस्था हेर्ने हो भने हामी आफूलाई भाग्यमानी मान्छौं । यहाँ एक जना सिकिस्त बिरामीको सेवा १ जना नर्सले गर्छ ।
सबैलाई थाहै छ, आइसीयूका ३ लेभल हुन्छन् । लेभल थ्रीमा सिकिस्त बिरामी राखिन्छ । उनीहरुलाई विभिन्न सेवा, उपचार पद्धती र औषधिको खाँचो हुन्छ । उनीहरुले एक बिरामी एक नर्स सेवा पाएका छन् । हाम्रो आइसीयू देशकै सबैभन्दा राम्रो आइसीयू हो । हाम्रो डाटा अन्तराष्ट्रिय रुपका तुलना हुन्छ । हामीसँग विदेशबाट पनि नर्सहरु सिक्न आउँछन् । त्यसैले हामीले यहाँका आइसीयूको स्ट्यान्डर्ड मेन्टेन गरेका छौँ ।
यहाँका आइसीयूको क्षमता तथा संख्या बढाउने तर्फ सरकारको ध्यान गएको छैन । दिनहुँ मेरो बिरामीलाई आइसीयू मिलाइदिनु पर्यो भनेर राजनैतिक रुपमा फोन तथा दवाब आउने गर्छ । तर, हामीले फोनकै आधारमा बिरामी लिन सक्ने अवस्था हुँदैन । फोनबाट आएका बिरामी लिने पनि अस्पतालको आफ्नै खालको मापदण्ड छ । त्यो मापदण्ड पुरा भएर बेड खाली भयो भने उहाँहरुको अवस्थालाई हेरेर आइसीयूमा बोलाछौँ । तर, सिसिनानका तर्फबाट हेर्दा अझै कतिपय सरकारी अस्पतालमै नर्स बिरामी अनुपात पु¥याउन सकिराखेका छैनन् । हुनुपर्ने चाहिँ यदि सिकिस्त बिरामी छ, भेन्टिलेटरमा छ, विभिन्न औषधिहरु चलिरहेको छ, डाइलासिस भइरहेका बिरामी छन् भने एउटा बिरामीलाई एउटा नर्सले नै हेर्नुपर्ने हुन्छ । यो लेवल थ्री आईसियू हो ।
लेभल टु आईसियूमा २ जनासम्म बिरामीलाई एउटा नर्सले हेर्न सक्छ । लेभल वान आईसियूमा एउटा नर्सले ३ जना बिरामी हेर्न सक्छ । उनीहरुलाई मोनिटरिङ मात्रै भए पुग्छ । यो डब्लुएचओले नै सेट गरेको मापदण्ड हो ।क्रिटिकल केयर नर्स मल्टिडाइमेन्सनल हुनुपर्छ । एउटा नर्सले आइसीयूको बिरामीलाई बच्चाको रुपमा हेरेर सेवा गर्नुपर्छ । जसरी नयाँ भर्खर जन्मिएको बच्चाको हेरचाह परिवारको अन्य सदस्यले गर्नुपर्छ, आइसीयूमा राखिएको बिरामी त्यस्तै हो । उसलाई त्यहि भावनाले हेरचाह गर्नुपर्छ । आइसीयूमा पुगेको एउटा बिरामीले आफ्नो डाइलासिस गर्न सक्दैन, आफ्नो केयर गर्न सक्दैन, आफैंले औषधि खान सक्दैन, आफ्नो भेन्टिलेटर व्यवस्थापन गर्न सक्दैन । यो सबै काम नर्सले गर्नुपर्छ ।
म नर्सिङ पास गर्ने बित्तिकैबाट आइसीयूमा छिरेको मान्छे हुँ । २०७० सालमा झापाको बिर्तामोडमा रहेको मनमोहन सामुदायिक अस्पतालमा ३ महिना काम गरेँ । त्यसपछि टिचिङ अस्पतालमा ३ महिनाको क्रिटिकल केयरको तालिम लिएँ । ग्राण्डी अस्पतालको आइसीयूमा ९ महिना बिरामीको सेवा गरेको अनुभव छ । त्यसपछि टिचिङ अस्पताल प्रवेश गरेँ र अहिलेसम्म यहीँको क्रिटिकल केयर नर्सका रुपमा कार्यरत छु । हाम्रो यहि समयमा डियुटी भन्ने हुँदैन । जुनसुकै सिफ्टमा पनि काम गर्नुपर्ने हुनसक्छ । कलेजो प्रत्यारोपणमा कहिलेकाँही १२ घण्टा लगातार खट्नुपर्छ । अहिले म बिहान ८ बजे अस्पताल आइपुग्छु । बेलुका ४ बजेसम्म डिउटी मै हुन्छु ।
नेपाली अन्य कामकाजी महिलाले जस्तै मैले पनि दोहोरो जिम्मेवारी पुरा गर्नुपर्छ । महिलाहरु जति नै अगाडी आए पनि उनीहरुलाई बाँध्ने केही तत्व हुन्छ । यो मेरो मात्रै होइन अन्य क्रिटिकल केयर नर्सको पनि अवस्था हो । मलाई परिवारको भरोसा र साथ भएकाले पनि अलि सहज छ । यो सहजता सबै नर्सले पाएका हुँदैनन् । अझ नेपालको सन्दर्भमा नर्सहरुले भोको पेट नै काम गरिरहेको अवस्था छ ।
कतिपय अस्पतालमा आज पनि नर्सहरुले मासिक १५ हजारमा काम गरिरहेका छन् । नर्सको आर्थिक अवस्थालाई लिएर बोल्न पनि लाज हुने अवस्था छ । सरकारले एउटा मान्छेको न्युनतम जीवन बाँच्न कति खर्च लाग्छ भनेर त्यहि अनुसारको तलब खाका बनाउनुपर्ने हो ।
एउटा नर्सको महत्व कति हो भन्ने कुरा त भनिराख्नुपर्ने अवस्था छैन । तर उनीहरुकै जीविकोपार्जन गर्न सक्ने अवस्था छैन । प्राइभेट अस्पतालको अवस्था भन्दा सरकारी अस्पतालका नर्सको अवस्था अलि राम्रो त छ, पर्याप्त छैन । पछिल्लो समय विदेश जाने नर्सहरुको संख्या ठूलो छ । यसको पछाडी सबैभन्दा ठूलो भूमिका आर्थिक पाटोले नै खेलेको छ ।
अर्को कुरा पर्याप्त जनशक्ति पनि छैन् । थोरै जनशक्तिले धेरै काम गर्नुपर्छ, शारीरिक तथा मानसिक थकान बढ्न जान्छ । आईसीयूमा रहेका जटिल बिरामीलाई एक सेकेण्ड छोड्न मिल्दैन । त्यस्ता बिरामीलाई प्रर्याप्त समय दिन नसकेको खण्डमा उनीहरुको ज्यान नै तल माथि हुन सक्छ । नेपालमा तालिम प्राप्त जनशक्तिको अभावका कारण तत्काल भर्ना भएको नर्सको हातमा आईसियूका सिकिस्त बिरामी छाड्नुपर्ने स्थिति छ । यो चुनौतिको विषय हो । त्यसैले नीति निर्माण तहमा नै क्रिटिकल केयरसम्बन्धि प्रणाली र मापदण्डको आवश्यकता छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

