नेभिगेशन

एउटा शल्यक्रिया कक्षकी नर्सको कथा

 कति सालदेखि काम गर्दै हुनुहुन्छ ? मैले ६० सालदेखि काम शुरु गरेको हो । अहिले करिब १४ —१५ वर्ष भयो । यहीबाट मेरो नर्सिङको शुरुवात हो । अहिले अपरेसन थिएटरमा सिनियर नर्स छु । पि.सि.एल. नर्स त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज र बी.एन. ओम हेल्थ नर्सिङ क्याम्पसबाट गरेको हो । नर्सिङलाई नै किन छान्नुभयो ? कक्षा ६–७ मा फ्लोरेन्स नाइटिङेलको ‘लेडी वीथ द ल्याम्प’ भन्ने शीर्षकको पाठ पढ्दा मलाई दुखी, बिरामीको उपचार र सेवा गर्ने मन पलाएको थियो । ‘अरुको मर्का पर्दा गरेको सेवा प्रार्थना गर्दा उठेको हात भन्दा पनि पवित्र हुन्छ’ भनाईले उक्त पेशामा आकर्षित भएकी हुँ । प्रेरणा कसरी पाउनुभयो ? म सानै छँदा जन्मदिनमा प्राय म मित्रपार्कमा रहेको मदर टेरेसाबाट प्रेरित रहेको संस्थामा राखिएका बालबालिकाहरूलाई चाहिएको केयर दिने, लुगा धोइदिने, जाडो मौसममा बच्चालाई न्यानो बनाइदिने, नुहाइदिने र ड्रेसिङ गरिदिने (घाउ चोट लागेको बच्चा हरुलाई) गर्दथँे । हो, यिनै कुराहरुबाट म नर्सिङ प्रति प्रेणित भएकी हुँ । भविष्य कतिको देख्नुभएको छ ? मैले पि.सि.एल. नर्सिङ अध्ययन गर्दाको समय २०५५—५६ तिर अध्ययन शुरु गर्दा आफन्तहरुले त्यति राम्रो ठानेका थिएनन् । ‘छोरी बिग्रिए नर्स, छोरा बिग्रिए कमर्स’ भनेर उडाउँथे । तर बुबाको सहयोगका कारण नर्सिङ शिक्षा अध्ययन गर्न सफल भएकी हुँ । यो पेशालाई इमान्दारिताका साथ अघि बढाउनेहरुका लागि भविष्य राम्रो छ । जस्तै—रोजगारीको अवसर पाइने आदि । कठिनाइ कति छ ? राम्रो ठाउँमा पुग्न काँडाहरु बीच हिँड्नुपर्छ । नर्सले पनि हरेक कठिनाई लाई आत्मसात गर्दै अगाडि बढेकी हुन्छिन् । नर्स एउटी केटी भएकीले बिरामीका आफन्तहरु जो मै हुँ भनाउँदाहरुले जिस्क्याउने र मनोबल गिराउने जस्ता काम गर्छन् । पेशालाई आदर गर्न जान्दैनन् । चिकित्सक र नर्सबीच कतिको समन्वय हुन जरुरी छ ? चिकित्सक र नर्स एउटा अस्पतालका अभिन्न अङ्ग हुन् । एक अर्काका परिपुरक भन्दा नि औचित्य नहोला । दुवैबीचको समन्वयका कारण बिरामीले आवश्यक उपचार प्राप्त गर्छन् । चिकित्सकले कुन रुपमा हेर्नुहुन्छ ? हरेक ठाउमा सबैकुरा राम्रो हुन्छ भन्ने हुँदैन । परिपक्व र सेवाको भाव भएका डाक्टरहरुले नर्सलाई धेरै सम्मान, आदर गरेको पाइन्छ भने कोहि कोहिले नर्सलाई डोमिनेट गर्न खोज्छन् । सेवाको मूल्यांकन कतिको हुन्छ ? संस्थाले मूल्यांकन गरे नगरे पनि बिरामी राम्रोसँग निको भएर खुशीका साथ घर गएको बेलामा निकै खुशी लाग्छ । कस्तो अवस्थामा नर्स कठोर बन्नुपर्छ ? जिद्धि गर्ने बिरामी, चौतर्फी प्रेसर हुँदा कहिलेकाँही कठोर पनि बन्नुपर्ने अवस्था आउँछ । नर्सको सुरक्षाको व्यवस्था हुन्छ ? हरेक संस्थाको आ—आफ्नो नियम हुन्छ । सुरक्षा गार्ड पनि राखेको हुन्छ । तर कतिपय अवस्थामा घटना हुनसक्छ । त्यस्तो अवस्थामा हामी आफैंले प्रतिकार गरेर काम गर्नुपर्छ । नर्सिङप्रतिको आकर्षणको पछाडि के लुकेको छ ? नर्सको काम बिरामीको सेवा गर्ने हो । तर यो सेवा मात्र नभएर अहिले बेरोजगारबाट रोजगारीका अवसरहरु प्राप्त हुने, विदेशमा जान सजिलो माध्यम हो । यसका साथै स्वास्थ्य सम्वन्धि हरेक कुरा थाहा हुने र अरुलाई शेयर गर्न सजिलो भएकोले नर्सिङ सेवा कुनै पनि बेला उपयोगमा आइरहेको हुन्छ । अहिले विद्यालयमा पनि नर्स राख्ने प्रचलन छ । त्यसैले यो पेशा प्रति आकर्षण बढ्दो छ । कतिपय नर्सले जागिर नपाएको गुनासोबारे के भन्नुहुन्छ ? सिमित अस्पताल र असिमिति नर्सको उत्पादन, मापदण्डअनुसार अस्पतालहरुले नर्स नराखेका कारण पनि हरेक वर्ष उत्पादन भएका नर्सहरुले आवश्यक जागिर प्राप्त गर्न नसकेको हुनसक्छ । शुरुमा काम गर्दा स्मरण गर्ने केही घटनाहरु छन्न् ? जागिर खाएको पहिलो दिन रातिको समय म इमर्जेन्सीको ड्यूटीमा खटिएको थिएँ । त्यो दिन दुर्घटनामा परेर आएको एक जना बिरामीलाई रातभर उपचार र केयर गरेको थिएँ । इमर्जेन्सीमा एकजना मात्र बिरामी हुनुहन्थ्यो । पछि उहाँ स्टेबल अवस्थामा आउनुभको थियो । तर बिहान एक्कासी ग्यास्पिङमा गएर मरेको घटनाले अहिले पनि मनमा नरमाइलो अनुभव हुन्छ । त्यो क्षण मलाई निकै नरमाइलो लागेको थियो । नर्सिङलाई व्यवस्थित गर्न के गर्नुपर्ला ? मुलुकमा भएका अस्पतालहरुको क्षमता अनुसार नर्सको उत्पादन हुनुपर्छ । नर्सलाई गाउँ गाउँमा पठाउन सरकारले दरबन्दी सृजना गर्नुपर्छ । नर्सले कति समय ड्यूटी गर्नुपर्छ ? हाम्रो संस्थामा एक हप्तामा ४८ घण्टा ड्यूटी पु¥याउनुपर्छ । मर्निङ र इभिनिङ सिफ्टमा ६—६ घण्टा र नाइटमा १२ घण्टा गर्नुपर्छ । दिउँसो ७ घण्टा ड्यूटी गर्नुपर्छ । हप्तामा एक दिन बिदा हुन्छ । शल्यक्रिया कक्षमा नर्सलाई कसरी जिम्मेवारी छुट्याइएको हुन्छ ? शल्यक्रिया कक्षमा आकस्मिक र रुटिन दुवै शल्यक्रिया हुने गर्छ । यसमा स्क्रब नर्स, सर्कुलेटिङ नर्स, एनेस्थेसिया नर्स, रिकभरि नर्स छुट्याएर जिम्मेवारी सुम्पिएको हुन्छ । अहिले मैले स्क्रब नर्सको भूमिका निर्वाह गरिरहेको छु । यो शल्यक्रिया गर्दा डाक्टरहरुसँग रहेर काम गर्नुपर्ने हुन्छ । जसमा स्क्रब नर्सको काम भनेको डाक्टरले मागेको सामान दिने, गणना गर्ने, स्टेरिल मेन्टेन, शल्यक्रिया गरेको घाउलाई ड्रेसिङ बनाउने आदि इत्यादि पर्दछन् । नर्समा हुनुपर्ने गुण -नम्रता -आत्मियता र आफ्नोपन - सञ्चार कौशल - पारस्परिक कौशल - समानुभुति - समस्या समाधान गर्ने खुबी -सहनसिलता
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्तर्वार्ता