नेभिगेशन

पहिलो रोजगारीमै आत्मविश्वासको उडान

जीवनलाई बुझ्ने, आत्मविश्वास बढाउने र परिपक्व बन्ने माध्यम 

नेपाल हेल्थ न्युज, काठमाडौं । कुनै पनि पेशा केवल काम मात्रै होइन, जीवनलाई बुझ्ने, आत्मविश्वास बढाउने र परिपक्व बन्ने माध्यम पनि हो । क्रियटर्स आईभीएफ नेपालकी क्लिनिकल नर्स सरिना रानाभाटले यही यात्रालाई चार वर्षमा आत्मसात् गर्नुभएको छ—एक स्टाफ नर्सका रूपमा मात्रै होइन, एक समर्पित स्वास्थ्यकर्मीको रूपमा ।

पिसिएल नर्सिङ अध्ययन सकेपछि सरिनाको पहिलो जागिरको थलो बनेको थियो क्रियटर्स आईभीएफ नेपाल । पाटन अस्पतालमा प्राक्टिकल गर्नुभएकी सरिना केही हदसम्म ‘भास्ट’ वातावरणमा अभ्यस्त हुनुहुन्थ्यो । तर जब क्रियटर्स आईभीएफको टोलीमा जोडिनुभयो, त्यतिबेला केही पनि थाहा नभएको नयाँ संसारमा पाइला टेकेको अनुभूति भएको उहाँ सम्झिनुहुन्छ ।

‘शुरुमा डर लाग्थ्यो, म सक्दिनँ कि जस्तो लाग्थ्यो’— सरिनाले भन्नुभयो—‘तर यहाँको टिम, म्यामहरूको सहयोग, सपोर्ट र निरन्तर सिकाइले गर्दा अहिले रमाइलो लाग्न थालेको छ ।’ आईभीएफजस्तो सुपरस्पेसियालिटी फिल्डमा काम गर्नु सजिलो छैन । खासगरी जब सैद्धान्तिक ज्ञान मात्रै लिएर आउने नयाँ नर्सलाई रोगीको मानसिक, भावनात्मक र शारीरिक अवस्थासँग काम गर्नुपर्छ । तर सरिनाले आफ्नो डरलाई विश्वासमा बदल्नुभयो ।

‘शुरुमा पठनपाठनमा इनफर्टिलिटीको बारेमा थोरै मात्र पढेकी थिएँ । तर यहाँ आइसकेपछिको अभ्यासले वास्तविकता सिकायो’—

उहाँ भन्नुहुन्छ । सरिनाका अनुसार क्रियटर्स आईभीएफको कार्य वातावरण निकै को—अपरेटिभ छ । ‘यहाँको माहोल घरजस्तै छ—सेकेन्ड होम जस्तो लाग्छ’—उहाँ मुस्कुराउँदै भन्नुहुन्छ—‘म्यामहरू इनर्जेटिक हुनुहुन्छ, स्टाफको समस्याप्रतिको केयरले गर्दा आत्मियता बढेको छ ।

’ आईभीएफ प्रक्रियामा आउने दम्पती प्रायः मानसिक रूपमा निराश भएर आउने गर्छन् । यस्ता अवस्थाका बिरामीसँग संवेदनशील व्यवहार गर्नु, परामर्श दिनु, उनीहरूको भावनालाई बुझ्नु सरिनाको दिनचर्या बनिसकेको छ । ‘जब उहाँहरू हाम्रो परामर्शबाट खुशी हुँदै जानुहुन्छ, हामीलाई पनि आत्मसन्तुष्टि मिल्छ’—उहाँ भन्नुहुन्छ ।

सरिना रानाभाटले देखाउनुभएको छ कि सही मार्गदर्शन, टिमवर्क र सहकार्य भए असहज लाग्ने कुरा पनि आत्मसात् गर्न सकिन्छ । उहाँले सिक्नुभएको छ—‘भयरहित, मन दिएर निरन्तर लागिरहँदा स्वास्थ्य सेवा मात्र होइन, आत्मविश्वासको यात्रा पनि शुरु हुन्छ ।’ 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप करियर