
नेपाल हेल्थ न्युज, काठमाडौँ । नोबेल पुरस्कार समितिले यो वर्ष चिकित्साशास्त्रतर्फको पुरस्कार अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रभ्कनलाई संयुक्त रूपमा दिने घोषणा गरेको छ।
उनीहरूलाई 'माइक्रोआरएनए' (microRNA)को आविष्कार र आनुवंशिक प्रणालीको नियमनमा त्यसको भूमिकाका लागि पुरस्कृत गर्ने निर्णय गरिएको नोबेल समितिले जनाएको छ।
विजेताले संयुक्त रूपमा १.१ करोड स्वीडिश क्रोनर (८.१० लाख पाउन्ड) नगद पुरस्कार र पदक पाउने छन्। एम्ब्रोस र रुभ्कनले पहिलो पटक माइक्रोआरएनएले गर्ने 'जीन रेग्युलेशन' पत्ता लगाएका हुन्। जटिल संरचना भएका जीवहरूको उद्विकास यही विधिका कारण सम्भव भएको ठानिन्छ।
मानिसको प्रत्येक कोषमा डीनएनएभित्र आनुवंशिक सूचना हुन्छ। हड्डीका कोष, स्नायुकोष, चर्मकोष, सेतो रक्तकोष, मुटुको कोष र अन्य विभिन्न कोषले त्यस्तो सङ्केत अतिविशिष्ट किसिमले प्रयोग गर्छन्। अहिले पुरस्कृत वैज्ञानिकहरूको अनुसन्धानले त्यो कसरी हुन्छ भनेर व्याख्या गरेको छ।
वंशाणुशास्त्रमा भएका अध्ययनहरूले माइक्रोआरएनए नहुँदा कोष र तन्तुको विकास सामान्य रूपमा हुन नसक्ने देखाएका छन्। माइक्रोआरएनएले गर्ने नियमन मानिसमा असामान्य हुँदा क्यान्सर र जीनमा 'म्यूटेशन' (उत्परिवर्तन) हुन सक्ने देखिएको छ। त्यसबाट जन्मजात श्रवणशक्ति गुम्ने तथा आँखा र हड्डीसम्बन्धी समस्याहरू हुन सक्छन्।
यसअघि कसले पाएका थिए ?

- सन् २०२३ - हङ्गेरीमा जन्मिएकी अमेरिकी वैज्ञानिक काटालिन कारिको र संयुक्त राज्य अमेरिकाका ड्रू भाइस्मान। कोभिड-१९ विरुद्ध एमआरएनए खोप निर्माण गर्न बाटो खोलिदिने प्रविधि विकास गरेकाले
- २०२२ - स्वीडनका वैज्ञानिक स्वान्टे पाबो। मानव प्रजातिको विकासक्रमसम्बन्धी काम गरेबापत पाएका थिए। पुरस्कार समितिले मानव जातिको विलुप्त तर मानवनिकट पूर्वज प्रजाति नीयान्डर्टालको आनुवंशिक कोड पत्ता लगाएर असम्भव देखिने काम गरेकाले
- २०२१ - डेभिड जुलिअस र आर्डम पाटपूटिअन। शरीरले स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियासँग सम्बन्धित अनुसन्धानका लागि
- २०२०- ब्रिटिश वैज्ञानिक माइकल हाउटन तथा दुई अमेरिकी अनुसन्धानकर्ता हार्भी अल्टर र चार्ल्स राइस। हेपाटाइटिस सी भाइरस पत्ता लगाएकाले
- २०१९ - ब्रिटिश वैज्ञानिक पिटर र्याट्क्लिफ र संयुक्त राज्य अमेरिकाका विलियम काएलिन एवम् ग्रेग सिमेन्जा। कोषहरूले अक्सिजनको मात्रालाई कसरी चिन्छन् र अङ्गीकार गर्छन् भन्ने पत्ता लगाएकाले
- २०१८ - जेम्स पी एलिसन र तासुकु होन्जोको। शरीरको रोगप्रतिरोधी क्षमताको प्रयोग गरेर क्यान्सरको उपचारविधि पत्ता लगाएकाले
- २०१७ - जेफ्री हल, माइकल रोस्ब्याश र माइकल यङ। शरीरले कसरी 'सर्कीडीअन रिदम' अर्थात् 'जैविक घडी' कायम राख्छ भन्ने अनुसन्धानका लागि
- २०१६ - योशिनोरी ओहसुमी। विकार पुनर्प्रयोग गरेर कोषहरू कसरी स्वस्थ रहन्छन् भनेर पत्ता लगाउने अनुसन्धानका लागि
- २०१५ - विलियम सी क्याम्प्बेल, सातोशी ओमुरा र यूयू टू। परजीवी नियन्त्रण गर्ने औषधिका लागि
- २०१४: जन ओ'कीफ, मे-ब्रिट मोजर र एड्वर्ड मोजर। मस्तिष्कको परिगमन प्रणाली पत्ता लगाउने अनुसन्धानका लागि
- २०१३ - जेम्स रथ्म्यान, र्यान्डी शेक्म्यान र थोमास स्युड्होफ। कोषले कसरी पदार्थहरू परिवहन गर्छन् भने अनुसन्धानका लागि
- २०१२: जोन गर्डन र शिन्या यामानाका। कोषलाई 'स्टेम सेल' बनाउन सफल भएकोमा
बीबीसी
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
