
नेपाल हेल्थ न्युज, चितवन । जिल्लामा रहेका एचआइभी सङ्क्रमितमा यौनरोग (भिरिङ्गी) र क्षयरोगको समस्या देखिने गरेको छ । यस वर्ष गरिएको एचआइभी सङ्क्रमित भएकाहरूको परीक्षणका क्रममा भिरिङ्गी र क्षयरोग देखिएको हो ।
एड्स हेल्थ फाउन्डेसन बागमती प्रदेशका संयोजक कृष्णहरि सापकोटाका अनुसार यस वर्षको जनवरीयता पाँच सय ४४ जना सङ्क्रमितको परीक्षणका क्रममा ४५ जनामा भिरिङ्गी रोगको सङ्क्रमण देखिएको हो । उहाँले भन्नुभयो, “अहिलेको समस्या भनेको एचआइभी सङ्क्रमितमा भिरिङ्गी र क्षयरोगको समस्या बढ्दो क्रममा छ ।” असुरक्षित यौन सम्पर्कका कारण सङ्क्रमितहरूमा भिरिङ्गी रोगको सङ्क्रमणसमेत देखिएको हो । सङ्क्रमित सबैले रोग नियन्त्रणका लागि औषधि सेवन गरिरहेका छन् ।
सापकोटाका अनुसार परीक्षण गरिएकामध्ये १५ जनामा एचआइभी एड्ससँगै क्षयरोगसमेत देखिएको थियो । उनीहरुलाई अहिले नियमित औषधि सेवन गराइएको उहाँले जानकारी दिनुभयो । क्षयरोग देखिनुमा मुख्य समस्या सङ्क्रमितहरूले मादक पदार्थ र धूम्रपानको सेवन अत्यधिक गर्नु रहेको छ । क्षयरोग पुष्टि भएका बाहेक अन्यलाई समेत औषधिको प्रयोग गरिँदै आइएको उहाँले बताउनुभयो ।
फाउन्डेसनको सहयोगमा भरतपुर अस्पतालमा सञ्चालित एन्टी रेट्र्रो भाइरल थेरापी क्लिनिकका संयोजकसमेत रहनुभएका सापकोटाका अनुसार जिल्लामा हाल एक हजार दुई सय १३ सङ्क्रमितले एन्टी रेट्रो भाइरल औषधि सेवन गर्दै आएका छन् । उनीहरूमध्ये पाँच सय ९२ पुरुष, पाँच सय ६८ महिला, ३३ बालबालिका र २० जना तेस्रो लिङ्गी रहेका छन् । सन् २०२४ मा जिल्लाका विभिन्न स्थानमा गरिएको एचआइभी परीक्षणमा ७५ जना नयाँ सङ्क्रमित भेटिएको सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “सन् २०२४ यता तीन सय ९६ जनाको परीक्षणका क्रममा उनीहरूमा सङ्क्रमण पुष्टि भएको हो ।”
यस वर्ष जिल्लामा नयाँ भेटिएका र बाहिरबाट स्थानान्तरण भएर आएका गरी एक सय ५१ नयाँ सङ्क्रमितले औषधि सुरु गरेका छन् । यहाँ नियमित औषधि सेवन गर्नेमध्ये ३० जना स्थानान्तरण भएर गएको उहाँले बताउनुभयो । बाह्र जना सङ्क्रमितले नियमित औषधि सेवन गर्न छाडेको सापकोटाले जानकारी दिनुभयो ।रासस
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
