
नसर्ने रोगमध्ये कार्डियोभास्कुलर र मधुमेह समस्या पनि एक हो । यो विश्वको तुलनामा दक्षिण एसियामा बढी पाइन्छ । ब्रेन स्ट्रोक (पक्षघात) मस्तिष्कमा हुने भएपनि मुटु र मुटुबाट निस्कने रगतका नलीसँग सम्बन्धित छ । विगतमा कमजोर आर्थिक अवस्था, शिक्षा र चेतनाको अभावले बिरामी हुँदा पनि घरमै बसेर प्राण त्याग्ने गरिन्थ्यो । धामीझाँक्रीलाई देखाउने प्रचलन थियो । तर अहिले आम रुपमा पहिलेको भन्दा आर्थिक अवस्थामा अलिकति भनेपनि सुधार आएको देखिन्छ । सामान्य साक्षर दर बढेको छ । धेरैको हातमा मोबाइलको पहुँच छ । जसले प्रत्यक्ष वा अप्रत्यक्ष सामाजिक सञ्जालदेखि सञ्चार माध्यमसँग जोडिएका छ । समुदायस्तरमा सरकारी तथा निजी स्वास्थ्य संस्थाहरु बढेकाले उपचारका लागि धामी झाँक्री नभएर स्वास्थ्य संस्था जानुपर्छ भन्ने चेतना बढेको छ । त्यसले रोग पहिचान हुने संख्या पहिलेको तुलनामा बढेको पाइन्छ । पहिला बाटोघाटो थिएन । शारीरिक परिश्रण धेरै हुन्थ्यो । एकदिनमा ५०–६० किलोमिटरसम्म यात्रा तय गर्नुपर्दथ्यो । आजकल बिलासी जीवन बढेको छ । स्वास्थ्यलाई हानी गर्ने खानेकुरा खाने बानी बसेको छ । खाद्य पदार्थमा विभिन्न खालका किटनाशक, विषादीहरुको प्रयोग बढेको छ । यसले रोगको जोखिम पनि बढाएको छ ।
समुचित उपचार पाएमा रक्तचापले खासै असर गर्दैन
मेडिकल भाषामा उच्च रक्तचापलाई हाइपरटेन्सन भनिन्छ । उच्च रक्तचापलाई प्राइमरी र सेकेन्डरी गरी दुई श्रेणीमा बाँडिएको छ । प्राइमरी उच्चरक्तचाप बिना कारण देखिन्छ । यो आफैंमा रोग हो र बिना कारण नै देखिनसक्छ । प्राय यो एक सय व्यक्तिमध्ये ९०–९५ प्रतिशतमा देखिनसक्छ । यसको उपचार गर्न सजिलो र समुचित उपचार पाएमा खासै असर गर्दैन । अन्य रोगको लक्षणका रुपमा देखिने सेकेन्डरी हाइपरटेन्सन हो ।
धेरैजसो मिर्गौला बिग्रिएर सेकेन्डरी हाइपरटेन्सन भएको पाइन्छ । सेकेन्डरी हाइपरटेन्सन एकसय जना मध्ये ५–१० प्रतिशत मान्छेलाई देखिने गरेको पाइन्छ । अन्य रोगका लक्षणका रुपमा देखापर्ने उच्च रक्तचाप डरलाग्दो मानिन्छ ।
आफूखुशी उच्च रक्तचापको औषधि छोड्न हुँदैन
औषधि सेवन नगरी प्राइमरी उच्च रक्तचाप ठिक पार्न सकिदैन । यो जीवनभर रहने भएकाले औषधिले नियन्त्रण गर्नुपर्छ । केही मानिसलाई अत्यधिक तनाव, लामो समयदेखि बढी नुन सेवन, मोटोपन र निस्क्रिय जीवनशैलीले उच्चरक्तचाप हुनसक्छ । तौल घटाउने, नुन कम खाने, तनाव नियन्त्रण गर्ने तथा नियमित शारीरिक व्यायाम गर्नाले उच्च रक्तचाप नियन्त्रण भएमा चिकित्सकको सल्लाह बमोजिम औषधि छोड्न पनि सकिन्छ । तर आफूखुशी औषधि छोड्नहुँदैन । आफूखुशी औषधि छोड्दा हृदयघात, पक्षाघातदेखि मिर्गौला, आँखासमेत खराब हुने सम्भावना बढ्छ ।
उच्च रक्तचाप नियन्त्रण भएमा आयु घट्दैन
समयमा उच्च रक्तचाप नियन्त्रण भएमा सामान्य त आयु घट्दैन । उच्च रक्तचाप नियन्त्रण नभएमा मिर्गौला, आँखा बिग्रने, पक्षघात, हृदयघात, हार्ट फेलियर भई आयू घट्न सक्छ ।
उच्च रक्तचापबाट आउने जटिलताले आयु घटाउने हो ।
उच्च रक्तचापले मधुमेह हुँदैन
जो शारीरिक रुपमा सक्रिय छैन, जसको खानपिन बिन्दास छ, शारीरिक मोटोपना छ, अत्यधिक तनाव लिइरहन्छ भने त्यस्ता मानिसलाई उच्च रक्तचाप हुने सम्भावना बढी हुन्छ । तिनै मानिसलाई नै मधुमेह हुने सम्भावना बढी हुने हो । उच्च रक्तचाप हुँदैमा मधुमेह हुनुपर्छ र मधुमेह हुँदैमा उच्च रक्तचाप हुनुपर्छ भन्ने नियम होइन । दुवै रोगको जोखिम तत्व उस्तै उस्तै हुन्छन् ।
रोग लागेपछि समुचित व्यवस्थापन गर्न नभूलौं
मधुमेहको उपचार नगरी बस्दा हृदयघातको जोखिम ४–५ गुणाले बढ्छ भने उच्च रक्तचापको उपचार नगराउँदा हृदयघातको जोखिम २–३ गुणाले बढी हुन्छ । उच्च रक्तचाप, मधुमेह, धुम्रपान गर्ने, शारीरिक व्यायाम नगर्ने, परिवारका सदस्यलाई हृदयघात भइसकेको व्यक्तिहरु उच्च जोखिममा हुन्छन् ।
म कहाँ उपचारका लागि आउने कतिपय बिरामी ४०–४२ वर्षदेखि नियमित उच्च रक्तचाप, मधुमेहको औषधि सेवन गरिरहेका छन् । रोग लागेपछि समुचित व्यवस्थापन गर्नुपर्छ ।

आफ्नो स्वास्थ्यप्रति गम्भिर बनौं
दुर्गम, सुगम, पढे–नपढेको व्यक्ति भन्दा पनि मानिस आफ्नो स्वास्थ्यप्रति कतिको सचेत छ भन्नेमा निर्भर हुन्छ । कतिपय पढे–लेखेका माथिल्ला तहको जिम्मेवारी निर्वाह गर्ने मान्छेहरु पनि आफ्नो स्वास्थ्यप्रति गम्भिर भएको देखिदैन । प्रेसरका औषधि खानुहुँदैन, बानी लाग्छ भन्ने समुह पनि छन् । कतिपय सामान्य लेखपढ गर्ने मानिस जो गाउँघरमा बस्छन् उनीहरु रोग लागेमा तुरुन्तै उपचार गराइहाल्नुपर्छ अन्यथां दुःख पाइन्छ भनेर उपचार गराउँछन् । साधारणतया पढेलेखेका मानिसलाई रोगबारे ज्ञान हुन्छ । नपढेकाले रोगको खराब पाटोबारे थाहा नपाउँदा कम ध्यान दिन्छन् । सहर बजारका मानिसहरु तुलनात्मक रुपमा सचेत हुन्छन् । स्वास्थ्य चेक जाँच र उपचारको सुविधा उपलब्ध हुन्छ । दुरदराजमा बस्ने मानिसहरुको आर्थिक स्थिति र स्वास्थ्यसंस्थाको पहुँचले फरक पार्नसक्छ ।
औषधि सेवनमा हेलचेक्र्याइँ नगरौं
नियमित औषधि खान बिर्सन हुँदैन । कतिपय बिरामीहरुलाई एक डोज औषधि मिस गर्दा पनि पक्षघात, हृदयघात भएको छ । औषधि नपाएर, जचाँएर मात्र खाने भनेर दुइ हप्तादेखि महिना दिनसम्म छोड्दा पनि केही नभएर आउने पनि छन् । तर, औषधि सेवनमा हेलचेक्र्याइँ गर्नुहुँदैन ।
नराम्रो लत छोड्नुहोला
मेरो प्राक्टिसका क्रममा सुर्तिजन्य पदार्थ, मदिरा सेवन गर्नेहरुको नाम नोटमा लेखेर राख्छु । फलोअपमा आउँदा सोध्ने गर्छु । कतिले छोडेँ भनेर ढाँट्छन् । यस्ता व्यक्तिलाई अर्को पटक आउँदा घरपरिवारको एउटा साथी लिएर आउनुस् भन्छु ।
कतिपय बिरामी एकपटक बुझाएपछि आफ्नो बानी सुधार्ने प्रयास गर्छन् । सुर्तिजन्य पदार्थ, मदिराको लत लागेपछि छोड्न गाह्रो हुन्छ । केहीले प्रयास नै गर्दैनन् । कसैले प्रयास गरेपनि छाड्न सक्दैनन् ।
आफूले सेवन गर्ने औषधिको गुणस्तर ख्याल गर्नुहोस्
अहिले पनि नेपालका सबै मानिस आर्थिक दृष्टिले सक्षम र सबल छैनन् । कतिलाई स्वास्थ्य बीमाको औषधिले निकै भरथेग गरेको हुनसक्छ । स्वास्थ्य भन्दा ठूलो केही छैन । बीमाले दिएको औषधिले काम नगरेमा जोहो गरेरै भएपनि किनेर खानुस् । बीमाले दिएको औषधि कम्पनि स्थापित कम्पनीको हो होइन, कस्तो खालको औषधि हो भनेर क्रसचेक गर्नुपर्छ । स्थापित कम्पनीको नाम चलेकै औषधि हो भने भने लिनुस् । उच्च रक्तचाप, मधुमेह नियन्त्रणमा आएमा त्यस प्रकारका औषधिलाई निरन्तरता दिन सकिन्छ । दम, नशा सम्बन्धि पार्किन्सनिज्म भएका बिरामीले बिमाको औषधि खाएर निको नभएमा अन्य औषधि म्यानेज गर्नुपर्छ ।
डाक्टरको सल्लाहअनुसार फलोअपमा बसको राम्रो
औषधि खाएर राम्रो अनुभव गरेका र स्वास्थ्य अवस्था सामान्य भएका बिरामीले वर्षमा एकपटक जाँच गराउन सल्लाह दिन्छु । अप्ठेरो भएमा जुनसुकै समयमा पनि आउन सकिन्छ । गम्भीर रोग भएकाहरुले डाक्टरको सल्लाहअनुसार फलोअपमा बस्नुपर्छ । बिरामीको रोगको गम्भिरता, रोगको अवस्था र उसलाई अप्ठ्यारो भएनभएको कुरालाई ख्याल गरेर फलोअपको समय दिने गर्छु ।
वर्षमा एकपटक नियमित जाँच गराउनुहोस्
उच्च रक्तचाप र मधुमेह भएका व्यक्तिहरुले कम्तिमा वर्षमा एकपटक रगतको मात्रा, मिर्गौलाको काम (क्रियाटिनिन जाँच), लिपिड प्रोफाइल र आवश्यकता अनुसार सुगरको जाँच गराउनुपर्छ । लक्षण र रोगको स्टेजको आधारमा थप मुटुको जाँच, पेटको अल्ट्रासाउन्ड गर्नुपर्ने हुनसक्छ ।
तनाव व्यवस्थापन गर्न नभूल्नुहोला
तनावले रक्तचाप बढाउँछ । तनावले रक्तचाप बढाएमा पहिला तनाव व्यवस्थापन गर्नुपर्छ । यसलाई जीवनपद्धति सुधार भनिन्छ ।
यदि प्रेसर नियन्त्रणमा नआएमा औषधि सेवन गर्नुपर्छ । अन्यथा मिर्गौला, आँखा, मुटु, मस्तिष्क सबै अंग बिगार्नसक्छ ।
उच्चरक्तचापका बिरामीले खानपानमा ध्यान दिनुपर्छ
सन्तुलित भोजन सबैका निम्ति एउटै हो । नुन, चिल्लो बढी नभएको, सागपात, फाइबर– रेशायुक्त खाना, होल ग्रेन (मकैको च्याख्ला, ब्राउन राइस, गुहँको च्याख्ला, जहुँको ढिडो) आदि खान सकिन्छ । घ्यू हालेको, झुटेको भात, तारेको मासु स्वास्थ्यवद्र्धक खानेकुरामा पर्दैनन् । बोसो, छाला, भित्री अंग नभएको राम्रोसँग पकाएको मासु खान सकिन्छ । पशुको भन्दा कुखुरा, हाँस आदि मासु स्वास्थ्यका लागि राम्रो ठहरिन्छ ।
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
