नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल क्यान्सर रिलिफ सोसाइटीका निवर्तमानअध्यक्ष एवं क्यान्सर अभियन्ता लोकेन्द्रबहादुर श्रेष्ठ (इश्वर) ले क्यान्सर उपचार सेवा उमेर समूहमा केन्द्रित गर्न नहुने धारणा व्यक्त गर्नुभएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कात्तिक ११ गते मन्त्रीस्तरीय निर्णय गर्दै कान्ति बाल अस्पताल काठमाडौँ, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरलगायतका सरकारी अस्पतालहरुमा १४ वर्ष मुनिका बालबालिकाहरुको क्यान्सर रोगको निःशुल्क उपचार मंसिर १ गतेबाट लागू गरिने निर्णय गर्नुभएको थियो ।
निवर्तमानअध्यक्ष श्रेष्ठले क्यान्सर उपचारमा समान पहुँच हुनुपर्ने उल्लेख गर्दै आर्थिक सहायता रकमलाई स्वास्थ्य बीमामा रुपान्तरण गर्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो —‘विपन्न नागरिक क्यान्सरको उपचार कुनै उमेर समूहमा मात्र सीमित हुनु हुँदैन । यो रोगले समाजका सबै उमेरका नागरिकलाई लाग्न सक्छ, र त्यसैले यसको उपचारमा समान पहुँच आवश्यक छ । आज १४ वर्ष मुनिका बालबालिकालाई निःशुल्क क्यान्सर उपचार दियपनि, देशका सम्पूर्ण नागरिकका लागि यस्तो सेवा आवश्यक छ ।’
‘हामीले विपन्न नागरिकका लागि उपलब्ध आर्थिक सहायता रकमलाई स्वास्थ्य बीमामा रूपान्तरण गर्न सके, यसले समग्र जनसंख्यालाई स्वास्थ्य सुरक्षाको कवच दिनेछ । स्वास्थ्य बीमाको दायरा बढाएर सबै उमेर समूहलाई समेट्ने हो भने, अन्य गम्भीर रोगहरूको उपचार पनि निःशुल्क गर्न सकिन्छ । यो उपायले सम्पूर्ण नागरिकलाई आर्थिक बोझबाट मुक्त गराउनेछ, जसले जीवनस्तरमा सुधार ल्याउन ठूलो सहयोग पुर्याउनेछ ।’—निवर्तमानअध्यक्ष श्रेष्ठले भनाइ छ ।
यस्तो ठोस कदमले सरकारप्रति जनताको विश्वास बढाउने मात्र होइन, आगामी निर्वाचनमा पनि लोकप्रियता कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्नेछ । सरकारको प्रमुख दायित्व भनेको जनताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नु हो । स्वास्थ्यलाई सुदृढ पार्न गरिने यस्ता योजनामा समयमै ध्यान पुर्याइएन भने, जनताले असन्तुष्टि व्यक्त गर्न पछि पर्ने छैनन्, जसको असर आगामी चुनावमा पनि पर्न सक्ने उहाँले धारणा व्यक्त गर्नुभयो ।
‘त्यसैले, अब सरकार जिम्मेवार बन्न जरुरी छ । जनताको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सबै उमेर समूहका लागि क्यान्सर लगायत अन्य रोगहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाएर, समृद्ध र स्वस्थ समाज निर्माणको दिशामा अघि बढ्न आवश्यक छ ।’—उहाँले भन्नुभयो ।
हाल सरकारले क्यान्सर पीडित बिरामीलाई उपचारमा एक लाख रुपियाँ अनुदान उपलब्ध गराउँदै आएको छ ।
नेपालमा हुने कुल मृत्युमध्ये ७१ प्रतिशत मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ । त्यसमध्ये ११ प्रतिशतको क्यान्सरका कारण ज्यान जाने गरेको मन्त्रालय अन्तर्गतको इपिडिमियालोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।
यहाँ सन् २०२२ मा २२ हजार नयाँ बिरामी देखिएकामा १४ हजार बढीले ज्यान गुमाएको पाइएको छ । नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको महाशाखाले जनाएको छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

