
नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपालमा डेंगु संक्रमणको प्रकोप बढ्दै जाँदा ६ जिल्ला उच्च जोखिममा परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसवर्ष गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ ।
पछिल्लो तथ्यांक अनुसार गण्डकी प्रदेशमा मात्र यस वर्ष १३ हजार ८९८ जना संक्रमित भेटिएका छन्, जुन देशभरका कूल संक्रमितको झण्डै ५० प्रतिशत हो । गण्डकी प्रदेशमा डेंगुका कारण ८ जनाले ज्यान गुमाइसकेका छन् । देशभर भने डेंगुबाट १२ जनाको मृत्यु भएको छ ।
प्रदेशभित्र सबैभन्दा धेरै प्रभावित जिल्ला कास्की छ । जहाँ ७ हजार १६१ संक्रमित फेला परेका छन् । त्यसैगरी तनहुँमा २ हजार २२६ जना संक्रमित भेटिएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का अनुसार यसवर्ष २८ हजार २१२ संक्रमित भएका भएका छन् । काठमाडौँ उपत्यकामा पनि संक्रमणको दर उच्च रहेको छ । काठमाडौंमा ४ हजार ३१३ र ललितपुरमा १ हजार १११ संक्रमित भेटिएका छन् । त्यसैगरी पर्वतमा १ हजार ६७७ र चितवनमा १ हजार ९९ संक्रमित पुष्टि भएका छन् ।
टेकु अस्पतालका चिफ कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेका अनुसार केही बिरामीहरूमा दोहोरो संक्रमण देखिएको छ । यस्ता बिरामीहरूलाई आईसीयूमा राखेर उपचार गर्नुपरेको छ ।
इडीसीडीका अधिकारीहरूका अनुसार मृत्यु हुने अधिकांश व्यक्तिहरू दीर्घरोगी रहेका छन्। उच्च रक्तचाप, मधुमेह, मुटुरोग र कमजोर रोग प्रतिरोधी क्षमता भएका व्यक्तिहरू बढी जोखिममा रहेको डा. चालिसले बताउनुहुन्छ ।
इडिसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार यो वर्ष गण्डकी प्रदेशका तीन जिल्ला ‘हटस्पट’ बनेका छन् ।
उहाँका अनुसार अघिल्लो वर्षको संक्रमित लामखुट्टेका अण्डाहरू विकसित भएर यो वर्ष डेंगु फैलिएको हो । माघ र फागुन महिनाको तथ्यांकले नै गण्डकी प्रदेशमा डेंगु फैलिने संकेत दिएको थियो । यसैले स्थानीय तहलाई विशेष प्राथमिकतामा राखेर काम गरिएको डा. दाहालले बताउनुभयो ।
उहाँका अनुसार कुनै क्षेत्रमा डेंगु फैलिने यकिन अनुमान गर्न नसकिए पनि फागुन-चैतमा देखिएको संक्रमितको संख्याले असार–साउनको संक्रमण दरको पूर्वानुमान गर्न सकिन्छ । तर कुन क्षेत्रमा डेंगु फैलिन्छ भनेर यकिन गर्न नसकिने उहाँको भनाइ छ ।
स्वास्थ्य विज्ञहरूले डेंगु नियन्त्रणका लागि समुदाय स्तरमा सचेतना र लामखुट्टेको वृद्धि रोक्ने खोज तथा नष्ट अभियानलाई तीव्रता दिनुपर्ने सुझाव दिनुभएको छ । विशेष गरी जोखिम समूहका व्यक्तिहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
