
नेपाल हेल्थ न्युज, चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा पुनः ‘मेमोग्राफी’ सेवा सुरुआत गरिएको छ । स्तन क्यान्सर पहिचानका लागि निकै उपयोगी मेसिन बिग्रिएपछि विगत तीन वर्षदेखि सेवा बन्द रहेको थियो । नयाँ मेसिन जडान गरी पुनः सेवा सुरु गरिएको हो ।
अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार इटालीमा बनेको ‘डिजिटल मेमोग्राफी’ स्वास्थ्य सेवा विभागले खरिद गरी अस्पताललाई उपलब्ध गराएको छ ।
विगतमा अस्पतालमा यो मेसिन भए पनि बिग्रिएपछि विगत तीन वर्षदेखि सेवा बन्द रहेको उहाँको भनाइ छ । बिग्रिएको मेसिन मर्मत हुन नसक्ने भए पनि नयाँ खरिदका लागि स्वास्थ्य मन्त्रालयमा आग्रह गरिएको थियो ।
मेसिन एक महिनाअघि नै अस्पतालमा आएको भए पनि जडानका लागि प्राविधिकहरु आइपुग्न ढिलो हुँदा अहिले सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।
स्तन क्यान्सरको परीक्षणमा अति प्रभावकारी यो मेसिन जडान र सेवा सुरु भएसँगै स्तन क्यान्सर समयमै पत्ता लगाई प्रभावकारी उपचार सुरु गर्न अझ बढी सहयोग मिल्ने उहाँको भनाइ छ ।
अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले तीन करोड हाराहारी पर्ने उक्त मेसिन आएसँगै सेवालाई चुस्त बनाउन सहयोग मिलेको बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय अस्पतालमा भएका पुराना मेसिन उपकरणको मर्मत र नयाँ खरिद गरी सेवालाई थप प्रभावकारी बनाइएको छ ।
क्यान्सरको उपचार र परीक्षण प्रक्रिया आफैँमा लामो हुने भन्दै कार्यकारी निर्देशक डा पौडेलले भन्नुभयो “बिरामी लामो पालो कुर्नुपर्ने अवस्थालाई घटाउँदै लगेका छौँ । अब रेडियोलोजी, शल्यक्रिया, प्रयोगशाला जस्ता सेवामा धेरै लामो पालो कुर्नुपर्ने अवस्था छैन ।”
विगतमा कतिपय प्रयोगशाला परीक्षण बाहिर पठाउनुपर्ने बाध्यताको अन्त्य गरिएको भन्दै उनले दुईवटा सिटी स्क्यान मेसिन सञ्चालन गरेर नियमित सेवा दिएको बताउनुभयो ।
कार्यकारी निर्देशक डा पौडेलले भन्नुभयो, “अब कुनै पनि परीक्षण र शल्यक्रियाका लागि अस्पताल बाहिर जानु पर्ने बाध्यता छैन ।” अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणका लागि समेत चिनियाँ सरकारको सहयोगमा काम भइरहेको छ । रासस
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
