
नेपाल हेल्थ न्युज, काठमाडौँ । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुन महिनाभर साढे दुई लाख महिलाको परीक्षण गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि ४९ वर्षसम्मका दुई लाख ५० हजार महिलामा पाठेघरको मुखको क्यान्सर परीक्षण तथा रोग पहिचान गर्ने भएको हो ।
महाशाखा प्रमुख डा.विवेककुमार लालले फागुन महिनाभर देशैभर एकैसाथ महिलाहरुमा क्यान्सरसम्बन्धी परीक्षण गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “क्यान्सरको उपचारसँगसँगै रोग लाग्न नदिन समयमै परीक्षण गरी रोकथाम गर्ने मन्त्रीको प्राथमिकता छ । त्यसैअनुसार यस वर्ष अभियानकै रुपमा एकैसाथ परीक्षण गर्ने योजना बनाएका छौँ ।”
उहाँका अनुसार महाशाखाले यस वर्ष अभियानका रुपमा दुई लाख ५० हजार महिलाको परीक्षण गर्ने लक्ष्य लिएको छ ।
नेपालमा सन् २०२२ मा कुल मृत्यु भएका १४ हजारमध्ये पाठेघरको मुखको क्यान्सरबाट ज्यान जानेको सङ्ख्या सात हजार ७६८ रहेको ग्लोबल क्यान्सर अब्जरभेटरीको तथ्याङ्कमा उल्लेख छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२२ मा मात्र नेपालमा पाठेघरको मुखको क्यान्सरका दुई हजार १६९ तथा स्तनसम्बन्धी दुई हजार दुई सय ५५ नयाँ बिरामी पत्ता लागेका थिए ।
हाल नेपालमा हरेक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने गरेको छ । तर समयमै परीक्षणबाट समस्या पहिचान भएमा रोग निको हुने चिकित्सक बताउँछन् ।
मन्त्रालयले विश्व क्यान्सर दिवसको अवसर पारेर (माघ २२ गते) बाट दुई सातासम्म १६ लाख ८८ हजार नौ सय किशोरीलाई लक्षित गर्दै पाठेघरको क्यान्सरविरुद्धको निःशुल्क खोप अभियानसमेत सञ्चालन गर्दैछ । आगामी वर्षबाट देशभरका सबै किशोरीले नियमित रुपमा खोप लगाउन पाउने गरी व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
