
नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य संरचनालाई निरोधात्मक पक्षमा ध्यान दिँदै चेतनाको अभिवृद्धिमा काम गर्न आवश्यक रहेको बताउनुभएको छ ।
राष्ट्रिय जनस्वास्थ्य दिवसका अवसरमा नेपाल जनस्वास्थ्य सङ्घले आज आयोजना गरेको कार्यक्रममा उहाँले स्वस्थ नेपाल र स्वस्थ भावी पुस्ता बनाउने कुरामा लागिपर्नुपर्नेमा जोड दिनुभएको हो ।
“बिरामी हुँदा उपचार गर्ने राज्यको दायित्व हो । तर बिरामीको सङ्ख्या बढ्दै जाँदा सबैको निःशुल्क उपचार गर्न नसकिने अवस्था पनि हुन्छ”, उहाँले भन्नुभयो, “सबैलाई कसरी निरोगी बनाउने र कम खर्चमा कसरी सेवा गर्न सकिन्छ त भन्ने मुख्य कुरा हो ।” उहाँले जनस्वास्थ्य क्षेत्रको उपस्थितिले यी लक्ष्य हासिल गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले स्वास्थ्य क्षेत्रमा जनस्वास्थ्य अधिकृतको आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “स्रोत व्यवस्थापन गर्न सकियो भने सबै स्थानीय तहमा जनस्वास्थ्य अधिकृत चाहिन्छ, स्वास्थ्य ऐन छुट्टै चाहिएकै छ । बनाउने क्रममा छौँ । जनस्वास्थ्यकर्मीको दक्षता नीति निर्माणमा चाहिएको छ ।”
सङ्घका उपाध्यक्ष तेजप्रसाद दुलालले जनस्वास्थ्य विषयका महत्व तथा यस क्षेत्रका सवाललाई उजागर गरेर राज्यका विभिन्न निकाय तथा सरोकारवालालाई यसको प्राथमिकताबारेमा सचेतना गर्ने उद्देश्यले दिवस मनाउने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो,“हामी दशौँ हजारको सङ्ख्यामा छौँ तर अझै पनि सबै सङ्गठित हुन सकेका छैनौँ । नीति बनाउँदा जनस्वास्थ्यको विषयलाई पनि ध्यान दिनुपर्छ । उत्पादन भइरहेको छ तर जनशक्तिलाई कसरी काममा लगाउने सोच्नुपर्छ । दक्ष जनशक्तिलाई विदेश पलायन हुन बाट रोक्नुपर्छ ।”
नेपाल जनस्वास्थ्य सङ्घ २०४७ साल मङ्सिर २३ गते स्थापना भएको हो । सङ्घले यस वर्ष ‘जनस्वास्थ्य लगानी गरौँ, स्वस्थ राष्ट्र निर्माण गरौँ’ भन्ने नाराका साथ सप्ताहव्यापी सातै प्रदेशमा दिवसको अवसरमा कार्यक्रम सञ्चालन गरेको छ । रासस
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
