नेभिगेशन

नेपाल नर्सिङ संघको निर्वाचनः कसले मार्ला बाजी ?

नेपाल हेल्थ न्युज काठमाडौं । १५ हजार ५ सय २७ मतदाता रहेको नेपाल नर्सिङ संघको २० औं केन्द्रीय कार्य समितिको निर्वाचन भोली हुँदै छ । मंसिर २८ गते हुने निर्वाचनमा देशभर २० ठाउँमा मतदान केन्द्र तोकिएको छ । विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान गर्न सकिने छ । संघको २० औं केन्द्रीय कार्य समितिका लागि दुई प्यानल चुनावी मैदानमा छन् । संयुक्त प्रगतिशील समूहबाट चन्द्रकला शर्मा र संयुक्त नर्सिङ पेशागत समूहबाट गंंगाकुमारी थापाले अध्यक्ष पदको लागि उम्मेदवारी दिनुभएको छ । त्यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिनुभएकी बसन्ती थापा पनि चुनावी मैदानमा हुनुहुन्छ ।


चन्द्रकला शर्माको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा प्रा. रमेश सुब्बा, उपाध्यक्षमा बबिता घिमिरे, महासचिवमा डा. देवकाकुमारी आचार्य, सचिवमा बेली पौडेल, कोषाध्यक्षमा तुलसा देवी अधिकारी रहनुभएको छ । यसैगरी सदस्यहरुमा खुला तर्फ मेनुका पोख्रेल, जनजातितर्फ हरिप्रसाद कोजु, आदिवासीबाट कला वस्याल गुरुङ्ग, दलितबाट कोपिला विश्वकर्मा, मधेशीबाट पासपति जयसवाल, मुस्लिमबाट सवेनाज वेगम, अनमीबाट जानुका मोक्तान र शान्तिकुमारी विश्वकर्मा चुनावी मैदानमा उत्रिनुभएको छ । यो समुहबाट नेपाल नर्सिङ्ग परिषद सदस्यमा राधादेवी आचार्य, सुमिता पाठक र राजदेवी अधिकारीले उम्मेदवारी दिनुभएको छ ।


संयुक्त नर्सिङ पेशागत समूहबाट अध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएकी गंगाकुमारी थापाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा कल्पना श्रेष्ठ जोशी, उपाध्यक्षमा मनिषा कोइराला, महासचिवमा मिनाकुमारी कार्की, सचिवमा जया मिश्र, कोषाध्यक्षमा रमादेवी पहारी ज्ञवाली चुनावी मैदानमा हुनुहुन्छ । यसैगरी यो समूहबाट सदस्यहरुमा खुुला तर्फ सानुकुमारी विष्ट, आदिवासी तर्फबाट रुपादेवी थापा, जनजातिबाट रति पक्वाङ्ग,दलितबाट निशा विक, मधेशीबाट अञ्जु ठाकुर, मुस्लिमबाट गाफ्रे आलम अन्सारी, अनमीबाट सफला बुढाथोकी र सिताकुमारी प्याकुरेल हुनुहुन्छ । यो समुहबाट नेपाल नर्सिङ्ग परिषद सदस्यमा ज्ञानु महर्जन, मित्रा देवकोटा र सरला केसीले उम्मेदवारी दिनुभएको छ । त्यस्तै स्वतन्त्रबाटअध्यक्ष पदका लागि बसन्ती थापा र महासचिवमा जानकी धामीले पनि उम्मेदवारी दिनुभएको छ ।
०००


निजी स्वास्थ्य संस्था र शिक्षण संस्थामा कार्यरत नर्सहरूलाई नेपाल सरकारले तोके बमोजिमको तलब र सुविधाको व्यवस्था गर्न सरोकारवाला निकायहरूसँग पैरवी गर्ने प्रा चन्द्रकला शर्माको मुख्य एजेन्डा हो । पछिल्लो समय धेरै नर्सहरू रोजगार नपाएर विदेश पलायन भइरहेकाछन् । संघको निर्वाचनमा निर्वाचित भएपछि नर्सहरूलाई स्वदेशमै काम गर्नसक्ने वातावरण सिर्जना गर्न पहल गर्ने उहाँले पतिवद्धता जनाउनुभएको छ ।

हाल अस्पतालमा विरामी र नर्सको अनुपात मिल्न सकेको छैन । एउटै नर्सले ४० भन्दा बढी विरामीलाई हेर्नुपर्दा नर्सको कार्यभार बढेको छ । नर्सको कार्यभार कम गर्न अस्पतालमा नर्स र विरामीको अनुपात मिलाउने, विश्वविद्यालयमा शिक्षक र विद्यार्थीको अनुपात मिलाउने, सेवा प्रवाहको प्रकृति अनुसार जोखिम भत्ता प्रदान गरिने, विद्यालय नर्सको स्यायी व्यवस्था गर्ने, औधौगिक नर्सको व्यवस्था गर्ने, नर्सहरूलाई आन्तरिक तथा अन्तर्राष्ट्रिय अध्ययनको अवसर प्रदान गर्ने र ५० वर्ष नाघेका नर्सहरूलाई नाईट ड्युटी गर्न नलगाउने उहाँका चुनावी एजेन्डा छन् ।

प्रा.शर्माका अनुसार हाल नर्सहरूको योग्यता अनुसार दरबन्दी पुर्याउन सकिएको छैन । निर्वाचित भएपछि नर्सको योग्यता अनुसार दरबन्दीको लागि पहल गर्ने उहाँ बताउनुहुन्छ । दुर्गम क्षेत्रमा रोकिएको वृत्ति विकासलाई सहजीकरण गर्ने र नर्सिङ संघलाई सवै प्रदेशमा विस्तार गर्न महत्वजपूर्ण भूमिका निवार्ह गर्ने उहाँको भनाइ छ ।

त्यस्तै अनलाइन सिस्टमबाट सदस्यता लिनसक्ने व्यवस्था मिलाउने, नीति निर्माणमा नर्सिङ पदाधिकारीको अनिवार्य सहभागिताका लागि पहल गर्ने, राष्ट्रिय स्वास्थ्य अनुसन्धान केन्द्र तथा प्रतिष्ठापनहरूमा कम्तिमा एकजना नर्सिङ पदाधिकारीव्यवस्थाका लागि पहल गर्ने लगायत उहाँका २८ वटा चुनावी एजेन्डा छन् ।


०००
शर्मा र थापाका चुनावी एजेन्डाहरू धेरै हदसम्म मेल खान्छन् । चुनावमा निर्वाचित भएपछि स्वास्थ्य ऐनमा नर्सिङ सेवासँग सम्बन्धित विभेदपूर्ण संशोधन गर्न पहल गर्ने गंगाकुमारी थापाको मुख्य एजेन्डा हो । बाध्यभएर विदेश पलायन भइरहेका नर्सहरूलाई विदेश जानबाट रोकी स्वदेशमै जिविकोपार्जन गर्नसक्ने बनाउन आफूले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ ।

निजी र सरकारी कलेजमा सेवा–सुविधामा एकरूपता ल्याउने, प्रसुती विदा कम्तीमा ६ महिना कायम गर्ने, बिरामीको अनुपातमा नर्सिङ दरबन्दी बढाउन राज्यलाई दबाव दिने, करारमा रहेका नर्सलाई स्थायी बनाउने, नर्सिङ पेशाकर्मीलाई जोखिम भत्ता व्यवस्था गर्ने उहाँका एजेन्डा हुन् ।

त्यस्तै नेपाल नर्सिङ संघलाई संंघीय संरचना अनुरुप प्रदेश तथा जिल्ला कमिटीहरूमा गठन गरी कृयाशील राख्न पहल गर्ने संयुक्त नर्सिङ पेशागत समूहकी अध्यक्ष थापाको भनाइ छ । औद्योगिक नर्सको अवधारण ल्याई प्रत्येक उद्योग तथा कारखानामा नर्सको व्यवस्था गर्ने उहाँको प्रतिवद्धता छ ।

नर्सिङ संघलाई प्रविधिमैत्री बनाउने, नर्सिङ संघ र स्वास्थ्य मन्त्रालयबीच भएको २१ बुँदे सम्झौतालाई तत्काल कार्यान्वयन गर्ने लगायतका २५ वटा चुनावी एजेन्डा थापाले बनाउनुभएको छ ।

निजी र सरकारी नर्सले एउटै काम गर्छन् । एउटै एजुकेशन छ । कामको प्रकृति पनि एउटै हो । तर, पाउनुपर्ने पारिश्रमिक र सुविधा समान छैन । ब्याचलर पढेका नर्सहरु ८ देखि १२ हजारमा काम गर्नुपरिरहेको संयुक्त नर्सिङ पेशागत समुहबाट महासचिवमा उम्मेदवारी दिनुभएकी मिना कुमारी कार्कीले बताउनुभयो ।

बिरामीलाई गुणस्तरीय नर्सिङ सेवाको सुनिश्चितता मेरो प्रतिवद्धता, प्रा. चन्द्रकला शर्मा

https://www.youtube.com/watch?v=m2-OAuSWD_k&t=383s

‘नर्सको सम्मान गरौं, सम्पूर्ण नर्स एक हौं’ गंगा थापा अध्यक्षको उम्मेदवार, संयुक्त नर्सिङ पेशागत समूह

https://www.youtube.com/watch?v=6mBEScHc1lM&t=447s

नर्सको समस्याबारे राज्य वेखबर ,पारिश्रामिक एकरुपता ल्याउने मेरो प्रमुख एजेन्डा

https://www.youtube.com/watch?v=mKup0oQJtlE&t=612s

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट