
नेपाल हेल्थ न्युज, काठमाडौँ । सरकारले औषधि विधेयकको मस्यौदा तयार गरी संसदमा टेबल गर्ने तयारी गरेको जनाएको छ ।
औषधि उत्पादन, गुणस्तर तथा मूल्य निर्धारण सम्बन्धमा छलफल गर्न आज बसेको संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा औषधि उत्पादन, वितरण तथा गुणस्तरलगायतका सम्बन्धमा कानूनी व्यवस्था गर्न सरकारले तयार पारेको औषधि विधेयक अब चल्ने संसदमा पेस गर्न लागेको जानकारी दिनुभयो ।
नेपालमा हाल एक सय ७३ कम्पनीले उत्पादन गरेका औषधिले ५० प्रतिशत आवश्यकता पूर्ति गर्दै आएको र ५० प्रतिशत औषधि आयातमा निर्भर गर्नुपर्ने अवस्था रहेको मन्त्री पौडेलले बताउनुभयो ।
कतिपय जटिल रोगका औषधीहरू नेपालमा उत्पादन नहुने जानकारी दिनुहुँदै मन्त्री पौडेलले औषधिको मूल्य निर्धारण, गुणस्तर तथा स्वदेशी औषधि उत्पादनलाई प्रोत्साहन गर्न सरकारले गठन गरेको समितिले अध्ययन गरिरहेको र उक्त समितिले दिने सुझावका आधारमा सरकारले औषधिको मूल्य निर्धारण र गुणस्तर सुनिश्चित गर्ने गरी काम अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।
देशभरका सरकारी अस्पतालमा रहेका फार्मेसीमा औषधिको मूल्य सूची टाँस्न सरकारले निर्देशन दिएको बताउनुहुँदै मन्त्री पौडेलले फार्मेसी अध्ययन गरेकाहरूलाई मात्रै औषधि विक्री वितरणको काममा सहभागी गराउने व्यवस्था गरिएको बैठकलाई जानकारी गराउनुभयो ।
बैठकमा औषधि व्यवस्था विभागका महानिर्देश नारायण प्रसाद ढकालले सिटामोल र जीवनजलजस्ता अत्यावश्यक औषधीहरू उत्पादन मूल्यभन्दा आधा मूल्यमा विक्री गर्नुपर्ने अवस्था रहेकाले सरकारले चाडै नै मूल्य निर्धारण गर्ने बताउनुभयो ।
बैठकमा सांसदहरुले बिरामीले सबै प्रकारका औषधीहरू अस्पतालहरूबाटै सहज रुपमा पाउने व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभयो ।
सांसदहरुले औषधिमा गुणस्तर हुनुपर्ने, स्वदेशी औषधि प्रयोग बढाउनुपर्ने तथा औषधि विक्रीवितरणको अनुगमन समेत गरिनुपर्नेमा जोड दिनुभयो ।
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
