
नेपाल हेल्थ न्युज, बलेवा । निसीखोला गाउँपालिका–३ को बोहोरा गाउँमा गर्भवती र सुसारेलाई लक्षित गरी प्रतीक्षा घर सञ्चालनमा आएको छ । बोहोरागाउँ स्वास्थ्यचौकी भवनसँगै सञ्चालनमा ल्याइएको प्रतीक्षा घरमा टाढाबाट आउने गर्भवती र सुसारे लाभान्वित भइरहेका छन् ।
गर्भवती सुत्केरी हुनुपूर्व अनिवार्य रूपमा कम्तीमा आठ पटक गर्भ परीक्षण गराउनुपर्ने र स्वास्थ्य संस्थामा गएर सुत्केरी हुनुपर्ने प्रावधान भएकाले टाढाबाट आउने सेवाग्राहीको सहजताका लागि प्रतीक्षा घर सञ्चालनमा ल्याइएको स्वास्थ्यचौकीकी अनमी ताराकुमारी चन्दले बताउनुभयो ।
‘टाढाबाट आउनेहरू यसअघि आफन्त वा होटलमा बस्ने गर्दथे । प्रतीक्षा घर सञ्चालनमा आएपछि गर्भ परीक्षण गराउन, सुत्केरी हुन आउनेहरूलाई खाने, बस्ने समस्या छैन’, उहाँले भन्नुभयो ।
उक्त प्रसूति प्रतीक्षा घरमा एकपटक चार जनासम्म बस्न मिल्ने श्ययासहित अन्य सामग्रीको व्यवस्थापन गरिएको अनमी चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार यो घरमा खाना पकाउने सामग्री, ग्यासको चुल्हो, स्वच्छ खानेपानीका साथै बाहिर विभिन्न सन्देशमूलक सामग्री लेखिएका छन् ।
गत वर्ष एक सय सात जनाले सेवा लिएका बताउँदै चालु आवको पाँच महिनामा ५२ जनाले सेवा लिइसकेका चन्दले जानकारी दिनुभयो ।
“सुत्केरी हुने एक/दुई दिनअघि यहाँ आएर बस्दा जोखिम कम हुने भएकाले गर्भवतीलाई सोहीअनुसार सुझाव दिँदै आएका छौँ”, उहाँले भन्नुभयो ।
सदरमुकामबाट एक सय २० किमी पश्चिममा पर्ने दुर्गम गाउँ भएकाले गर्भवती र सुरारेको सहजताका साथै स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रोत्साहन गर्ने उद्देश्यले प्रतीक्षा घर सञ्चालनमा ल्याइएको स्थानीय सिनियर अनमी तिला मल्लले बताउनुभयो ।
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
