
नेपाल हेल्थ न्युज, दार्चुला । कानूनले ‘बिहेबारी बीस वर्ष पारी’ भनेपनि दार्चुलामा २० वर्षमुनि नै सुत्केरी हुने सङ्ख्या धेरै छ । यहाँका १४ प्रतिशत महिला २० वर्षमुनि नै सुत्केरी भइरहेका छन् । स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०र०८१ मा २० वर्षमुनिका १४ दशमलव ३ प्रतिशत महिलाले संस्थागत सुत्केरी गराएका छन् ।
गत आर्थिक वर्षमा दार्चुलामा ७७ दशमलव ८ प्रतिशत संस्थागत सुत्केरी रहेकोमा १४ दशमलव ३ प्रतिशत २० वर्षमुनिका महिला रहेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कुँवरले जानकारी दिनुभयो।
अघिल्लो आर्थिक वर्ष २०७९–८० मा १० प्रतिशत र आर्थिक वर्ष २०७८–७९ मा १२ दशमलव ६ प्रतिशत सुत्केरी २० वर्षमुनिको छ । यसरी हेर्दा बिगत तीन वर्षदेखि २० वर्षमुनिको सुत्केरी घटेको अवस्था छैन ।
कम उमेरमै विवाह गर्दा बाल सुत्केरी बढ्दै गएको तथ्याङ्कले देखाएको छ । स्वास्थ्य संस्थामा दर्ता भएको तथ्याङ्कले १७ वर्षदेखि नै महिलाहरू आमा बन्ने गरेको पाइएको छ । दुहुँ गाउँपालिकामा १७.७ प्रतिशत, महाकाली नगरपालिकामा ८.३ प्रतिशत, नौगाड गाउँपालिकामा २१.६ प्रतिशत, अपिहिमाल गाउँपालिकामा १३.१३ प्रतिशत, मार्मा गाउँपालिकामा १२.७ प्रतिशत, शैल्यशिखर नगरपालिकामा १५.७ प्रतिशत, लेकम गाउँपालिकामा २५ प्रतिशत र मालिकार्जुन गाउँपालिकामा १६.६ प्रतिशत महिलाले संस्थागत सुत्केरी गराएका छन् ।
बाल सुत्केरीले प्रजनन सम्बन्धी जटिलता बढ्ने गरेको स्वास्थ्य कार्यालय दार्चुलाका वरिष्ठ जनस्वास्थ्य अधिकृत कुँवरले बताउनुभयो । यस्तै उच्च रक्तचाप, प्री–ईक्लाम्पसिया र प्रसवको समयमा समस्याहरू बढ्ने जोखिम हुन्छ । किशोरी आमाले जन्म दिने शिशु प्रायः कम तौलका र अस्वस्थ हुन्छन् ।
किशोरी गर्भवती हुनुले मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने, घरेलु हिंसाको जोखिम बढ्ने र यसको कारण मातृ तथा बाल मृत्युदर बढ्ने वरिष्ठ जनस्वास्थ्य अधिकृत कुँवरले बताए । यो दर घटाउनका लागि अभिभावक, समुदाय र सरकारको महत्वपूर्ण भूमिका हुने उहाँले औँल्याउनुभयो ।
अभिभावकले आफ्ना छोराछोरीलाई शिक्षा प्राप्त गर्न प्रोत्साहित गर्नुपर्ने, सुरक्षित यौन व्यवहारका बारेमा खुल्ला संवाद गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने र स्थानीय जनप्रतिनिधि, बौद्धिक वर्ग र समुदायले जनचेतना फैलाउने र यस्ता कार्यलाई निरुत्साहित गर्नुपर्ने उहाँको तर्क छ ।
यस्तै बालविवाहविरुद्धका कानूनी प्रावधानहरूको कडाइका साथ कार्यान्वयन गर्ने, किशोरीहरूको अधिकारको संरक्षण गर्ने, शिक्षा प्रणालीमा सुधार ल्याउने र किशोर किशोरीमैत्री स्वास्थ्य सेवाको पहुँचलाई बढाउने कार्यमा सबै तहका सरकार लाग्नु गर्ने उनले बताए ।
१९ प्रतिशतले प्रोटोकल अनुसार गर्भ जाँच गराउँदैनन्
दार्चुलामा १९ प्रतिशत महिलाले प्रोटोकल अनुसार गर्भ जाँच नगराउने गरेको पाइएको छ । स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङ्क अनुसार ८१ प्रतिशत महिलाले मात्र चार पटक गर्भ जाँच गर्ने गरेका छन् । गत आर्थिक वर्ष २०८०–८१ मा चार पटक गर्भ जाँच गराउने प्रतिशत ८१ दशमलव ४ रहेको छ । आर्थिक वर्ष २०७९–८० मा चार पटक गर्भ जाँच गराउने प्रतिशत ७७ दशमलव ४ रहेको थियो ।
आर्थिक वर्ष २०७८र७९ मा त्यो भन्दा कम ६७ दशमलव २ प्रतिशतले मात्रै चार पटक गर्भ जाँच गराएका थिए । आर्थिक वर्ष २०८०–८१ मा सबैभन्दा बढी महाकाली नगरपालिकामा ९७ दशमलव ५ प्रतिशत गर्भवती महिलाले गर्भ जाँच गराएका छन् भने सबैभन्दा कम जिल्लाको शैल्यशिखर नगरपालिकामा ५० दशमलव २ प्रतिशतले जाँच गराएका छन् ।
यस्तै पहिलो पटक २० वर्ष मुनिका गर्भ जाँच गराउने महिलाको प्रतिशत गत आर्थिक वर्षमा १२ दशमलव ७ रहेको छ । महिला गर्भवती भएपछि प्रोटोकल अनुसार चौथो, छैटौँ, आठौँ र नवौँ महिनामा गर्भ जाँच गराउनुपर्ने हुन्छ । तर, दार्चुलामा अझै १९ प्रतिशत महिलाले प्रोटोकल अनुसार गर्भ जाँच गराउने गरेका छैनन् । अब नयाँ परिमार्जित प्रोटोकल अनुसार गर्भवती जाँच कम्तीमा पनि ८ पटक गर्नुपर्ने भएको छ ।
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
