
नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको पेसागत हकहित समेटिने बताउनुभएको छ ।
नेपाल नर्सिङ सङ्घको ६३औँ वार्षिकोत्सव तथा साधारण सभामा उहाँले स्वास्थ्य सेवा ऐनको मस्यौदा बनिरहेको जानकारी दिँदै भन्नुभयो, “ऐनको मस्यौदा बन्दै छ । नर्सिङको हकहितका लागि पनि विषय समेट्छौँ । सम्भवतः यही ‘सेसन’ मा पास गर्छौँ ।”
नर्सिङ जनशक्ति पलायन हुन नदिन सुविधा वृद्धि गर्ने, सुरक्षित वातावरणमा काम गर्ने अवसर प्रदान गर्ने, राम्रो काम गर्नेलाई प्रोत्साहन र पुरस्कृत गर्ने, व्यक्तित्व विकासमा ध्यान दिएर काम गर्ने वातावरण तयार गरिने मन्त्री पौडेलले बताउनुभयो । उहाँले व्यक्तिगत पहुँचका आधारमा नभई पदोन्नतिका विधिका आधारमा गरिनुपर्ने बताउनुभयो ।
मन्त्री पौडेलले भन्नुभयो, “श्रम ऐनले तोकेको दक्ष जनशक्तिलाई २२ हजारभन्दा तल दिन पाइँदैन । यसबारे रिपोर्ट गरेमा प्रमाणका आधारमा अस्पतालको सम्बन्ध खारेज गर्छौँ । धेरैले रिपोर्ट गर्न डराउनुहुन्छ । आफ्नो अधिकारको लागि आफैँ लड्नुपर्छ ।”
नर्सिङ सङ्घकी अध्यक्ष चन्द्रकला शर्माले नर्सहरू विकराल अवस्थामा काम गरिरहेको बताउँदै यसमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वव्यापी नै नर्सहरूको खडेरी भइरहेको अवस्था छ । नर्सजस्तो प्राविधिक जनशक्तिलाई दैनिक ज्यालादारीमा काम गराइरहेका छन् । तलब भत्ता, सेवा सुविधा न्यून छ । तलब सरकारले भनेअनुसार पाएका छन् वा छैनन् भन्नेमा अनुगमन हुनुपर्छ ।”
नर्सिङ सङ्घकी पूर्व अध्यक्ष तारा पोखरेलले नर्सहरूलाई देशमै बस्ने वातावरण सरकारले मिलाउनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “देशभर एक लाख २० हजार बढी नर्सले लाइसेन्स लिइराख्दा ५० हजार नर्स पनि छन् वा छैनन् भन्नेमा शङ्का छ किनकि नेपालमा काम गर्ने वातावरण छैन । दैनिक ज्यालादारीमा काम गर्ने भए कसले काम गर्छ रु नर्सहरू पलायन भइरहेका छन् । सबै पलायन भए के देशले नर्सलाई आयात गर्न खोजेको हो रु नर्सहरू पलायन हुन नपरोस् ।”
नेपाल चिकित्सक सङ्घका अध्यक्ष अनिलविक्रम कार्कीले नर्सबिना चिकित्सकहरू जहिल्यै पनि अपुरो हुने बताउनुभयो । उहाँले नर्स र चिकित्सकलगायत स्वास्थ्यकर्मीको जनशक्तिको आवश्यकताबारे नबुझिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो राजनीतिक नेतृत्वले स्वास्थ्यको जनशक्तिलाई बुझ्नै चाहेन । स्वास्थ्यका जनशक्तिलाई प्राथमिकतामा नराखेका कारण स्वास्थ्य क्षेत्र पछि परेको हो ।”
भेरी अस्पतालमा तनाव चुलियो—सुरक्षा नभएसम्म काम नगर्ने चिकित्सकको अडान, सेवा ठप्प
बुधबार, वैशाख १६, २०८३
विदेश उपचारमा ‘भीआईपी सुविधा’ खारेजः सर्वोच्चको ब्रेक
मंगलबार, वैशाख १५, २०८३



