
नेपाल हेल्थ न्युज, काठमाडौं । सुदुरपश्चिम प्रदेशको कञ्चनपुर लालझाडी गाउँपालिकाको नन्देगाउँमा १० शैयाको आधारभुत अस्पतालको भवन निर्माण भएर पनि सञ्चालनमा आउन सकेको छैन । यो त एउटा उदाहरण मात्र हो । सुदुरपश्चिम प्रदेशमा ९५ प्रतिशत अस्पतालहरु अहिले पनि अलपत्र अवस्थामा छन् । शिलान्यास भएका कतिपय अस्पताल आधा निर्माणमै काम रोकिदा भवनको गुणस्तरतामा समेत ह्रास आउने जोखिम बढाएको छ । निर्माण सम्पन्न भएका अस्पतालमा समेत उपकरण र जनशतिm व्यवस्थापन गर्न बजेट नहुँदा अस्पताल सञ्चालन गर्न समस्या छ ।
सरकारले ०७७/७८ को नीति तथा कार्यक्रममा भूगोल र जनसंख्याका आधारमा हरेक स्थानीय तहमा ५, १० र १५ शय्या सम्मका आधारभूत अस्पताल निर्माण गर्ने योजना बनाएको थियो । जस अनुरुप ६ सय ५७ वटा पालिकामा आधारभूत अस्पताल बनाउने योजना सहित ३ सय ९६ अस्पतालहरुको शिलान्यास गरिएको थियो । तर दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने योजना सहित शिलान्यास गरिएको कुल अस्पताल मध्ये ९ वटा अस्पताल मात्र निर्माण सम्पन्न भई ठेकेदारबाट सम्बन्धित पालिकालाई हस्तान्तरण गरिएको अवस्था छ ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा २ वर्ष भित्र अस्पतालको निर्माण सकिने योजना सहित शिलान्यास समेत गरिएको हो । एमाले अध्यक्ष केपी ओलीले अघिल्लो कार्यकालमा आफ्नो सरकारले गरेको कामले गिनिज बुक आधा भरिने दाबी समेत गर्नुभएको थियो। करिब ४ वर्ष पहिला आधारभूत अस्पतालको सपना देखाएका ओली संयोगले यो पटक पनि प्रधानमन्त्री नै हुनुहुन्छ । तर के ओलीले आमनागरिकलाई देखाएको आधारभूत अस्पतालको सपना यो पटक आफ्नो कार्यकालमा पुरा गर्नुहोला त ।
स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्रका रुपमा लिने गरिन्छ । त्यसैले पनि स्वास्थ्य क्षेत्रलाई राज्यले पनि प्राथमिकतामा राखेर विभिन्न योजनाहरु बनाउने गरेको देखिन्छ । सरकारले स्वास्थ्य क्षेत्रमा गरेको महत्वपूर्ण योजना र निर्णयहरु मध्ये ६ सय ५५ आधारभूत अस्पताल निमार्ण योजना पनि एक हो । तर आमनागरिकलाई आधारभूत अस्पतालको सपना देखाएर आजको भोलि नै निर्माण सम्पन्न गर्ने जसरी नै हतार हतार एकैपटक ३ सय ९६ अस्पतालहरुको शिलान्यास गरेको सरकारले अहिलेसम्म आफ्नो योजना सफल बनाउँन सकेको देखिदैन ।
०७७ साउन २८ मा ३ सय ९६ वटा अस्पताल तथा २०७८ मा थप २ सय ५९ आधारभूत अस्पताल बनाउने सरकारले घोषणा गरेको थियो । योजना अनुसार ०७७ मंसिर १५ गते ३ एकैपटक ३ सय ९६ वटा अस्पतालको शिलान्यास गरिएको थियो ।
सरकारले पाँच शय्याका अस्पताल निर्माणका लागि सात करोड ११ लाख, १० शय्याका लागि १० करोड ८३ लाख, १५ शय्याका लागि १८ करोड छ लाख रुपैंया बजेट बिनियोजन गरेको थियो । तर चार वर्षको अवधिमा ३ सय ९६ वटा अस्पतालमा जम्मा ४७ वटा मात्र अस्पतालको निर्माण सम्पन्न गरिएको छ । त्यस्तै २०७८ मा थप गरिएको अस्पतालहरुमा एउटा पनि निर्माण भएका छैनन् ।
अस्पताल निर्माण गर्ने धेरै जस्तो स्थानमा अहिलेसम्म अस्पताल बनाउने जग्गा नै तय भएको छैन । जग्गा तय भएका स्थानमा पनि स्थानीय तहबाट आफ्नै हिसाबमा नक्सांकन गरेर डीपीआर गरिएका कारण पनि अस्पताल निर्माणको काम भएको देखिदैन । तर शिलान्यास भएका अस्पतालमा बजेट अभाव नभएर पालिकाको कमजोरीका कारण निर्माण हुन नसकेको स्वास्थ्य मन्त्रालयको दाबी छ ।
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
विश्व क्यान्सर दिवस २०२६ः फरक पहिचान, साझा लडाइँ
बुधबार, माघ २१, २०८२
बी एन्ड बी अस्पतालमा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ उद्घाटन
सोमबार, माघ १२, २०८२

