
नेपाल हेल्थ न्युज, बाँके । बाँकेमा १३ पटकसम्म औषधी खुवाउने अभियान सञ्चालन गरेपनि प्रभावकारी नभएपछि १४ औं पटक सुरु गरिएको हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रम सुस्त गतिमा चलिरहेको छ ।
नेपालगन्ज उपमहानगर, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिकाको एउटा वडामा सञ्चालन गरिएको हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रम यस पटक पनि सफल हुने कुरामा निकै चुनौती देखिएको स्वास्थ्यकर्मीहरुले जनाएका छन् ।
स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले जनप्रतिनिधिहरुले नै सहयोग नगरेकोले अभियान सफल पार्न निकै चुनौती उत्पन्न भएको बताउनुभयो । उहाँले फेरी नेपालगन्जमानै सबैभन्दा ठुलो चुनौती देखिएको जनाउँदै अधिकांश जनप्रतिनिधिले सहयोग नगरेको गुनासो गर्नुभयो ।
उता, नरैनापुर गाउँपालिकाका अनुसार अभियानको ८औं दिनसम्म ४४.६ प्रतिशत जनसङ्ख्याले औषधी सेवन गरेका छन् । पालिकाका स्वास्थ्य संयोजक नगेन्द्रकुमार शाहले अहिलेसम्म नरैनापुरमा १८ हजार ३६ जनाले औषधी खाएको जनाउँदै यसलाई ८० प्रतिशत पुर्याउने अभियानमा आफुहरु लागेको बताउनुभयो ।
नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहका अनुसार सरकारले हरेक वर्ष करोडौं रुपियाँ यो अभियानमा खर्च गरेपनि लक्षित वर्गले औषधी नखाँदा अभियान प्रभावकारी हुन सकेको छैन ।
उहाँले ग्रामीण भेगको तुलनामा शहरी क्षेत्रमा औषधीप्रति भ्रम बढी रहेको र शिक्षित वर्गले नै औषधी नखाने गरेको बताउनुभयो ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीका अनुसार यस पटकको अभियानअन्तर्गत बाँकेका दुई पालिका र एक वडामा दुई लाख ५७ हजार जनालाई औषधी खुवाउने लक्ष्य राखिएको छ ।
उहाँले औषधी सेवन गराउन स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य सङ्गठन र स्थानीय स्वास्थ्यकर्मीहरू सक्रिय रहेपनि अपेक्षित परिणाम आउन नसकेको देखिएको बताउनुभयो ।
नेपालगन्जका धार्मिक संस्था र अगुवाहरुले औषधी सेवन गरेर देखाउँदा पनि समुदायमा सो अभियान प्रभावकारी बन्न सकेको छैन । यसैबिच नेपालगन्जमा दारुल उलुम फैजुन्नबी जामा मस्जिदमा धर्मगुरुहरूलाई औषधी खुवाइएको छ ।
मस्जिदका अध्यक्ष अब्दुल रहमान मियाँ र मुफ्ती जाफर रजाले सबैलाई औषधी सेवन गर्न आग्रह गर्नु भएको छ ।
यसअघि १३ पटकसम्म औषधी खुवाउने अभियान असफल भएपछि यस पटक बाँके जिल्लामा मात्रै १४ औं पटक सो अभियान सञ्चालन गरिएको छ । यस पटक ८० प्रतिशतले औषधी खाएनन् भने नेपाललाई सन २०३० सालमा हात्तीपाइले रोग मुक्त घोषणा गर्न सम्भव नहुने इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत रामकुमार महतोले बताउनुभयो ।
नेपालमा सन् २००३ देखि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउन थालिएको हो । सन् २०२० मा यो अभियान १३ जिल्लामा सीमित रह्यो । बाँकेमा सन् २०१० (वि.सं. २०६७) देखि अभियान सुरु भए पनि अहिलेसम्म लक्ष्य पूरा हुन सकेको छैन ।गोरखापत्र
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
