
नेपाल हेल्थ न्युज, चितवन । जिल्लाको राप्ती नगरपालिका निवासी नम्रता गुरुङ (नाम परिवर्तित) अहिले प्राथमिक तहको शिक्षिकाका रूपमा कार्यरत हुनुहन्छ । उहाँ एचआइभी (ह्युमन इम्युनोडेफिशियन्सी भाइरस) एड्स सङ्क्रमित हुनुहुन्छ ।
गुरुङलाई कक्षा १२ पढिसकेपछि एचआइभी सङ्क्रमण देखिएको थियो । आफू छ–सात वर्षको उमेर हुँदा आमाको मृत्यु भएको बताउँदै उहाँले कक्षा १० मा पढ्दापढ्दै बुबाको भारतमा मृत्यु भएपछि काकाकाकीसँगै बस्दै आएको उल्लेख गर्नुभयो । आफूलाई एचआइभी सङ्क्रमण भएपछि जीवन सक्किएको महसुस गरे पनि निरन्तर मेहनत र सङ्घर्ष गरेपछि अहिले शिक्षा सेवामा स्थायी हुन सफल भएको उहाँले बताउनुभयो ।
गुरुङले भन्नुभयो, “सानै उमेरमा बुबाआमा गुमाउन पुगेपछि समाजलाई केही गरेर देखाउनु छ भन्ने उद्देश्यले मेहनत गर्दा दोस्रो पटकमा सफलता हात पारेकी हुँ ।” यसले केही गर्न सक्दैन भन्ने समाजलाई केही गरेर देखाउँछु भन्ने अठोटका साथ लागे गर्न सकिने उहाँको भनाइ छ ।
आफ्नो जीवनमा पाएको दुःखकष्ट सम्झदै उहाँले भन्नुभयो, “आमाको मृत्यु पछि कान्छी आमाले पढ्नलेख्न खर्च नदिँदा निकै दुःख लागेर आउथ्यो । अहिले आफ्नो खुट्टामा उभिएकी छु ।” आमाबुबाको मृत्युपछि सामाजमा आउने र पढ्न चाहनेलाई प्रौढ कक्षा पढाउने, कतिपय अवस्थामा दैनिक ज्यालादारी गर्दै कक्षा १२ सम्मको अध्ययन सम्पन्न गरेको उहाँले स्मरण गर्नुभयो । उहाँले सम्झनुभयो, “पढ्ने रहर हुँदाहुँदै पढ्न सकिन अहिले बल्ल स्नातक तहमा भर्ना भएर दोस्रो वर्षमा अध्ययनरत छु ।”
परिवारको माया र सहयोग नपाउँदा नपाउँदै आफूलाई एचआइभी सङ्क्रमण पुष्टि भएपछि सुरुआती समयमा समाजमा बस्न निकै कठिन भएको गुरुङले सुनाउनुभयो । एचआइभी सङ्क्रमण देखिएपछि तीन महिना एएचएफ नेपालमा काम गर्नुभएकी उहाँले भारतमा रहेका एचआइभी एड्स सङ्क्रमितसँगै विवाहा गरेर भारत जानुभयो ।
भारतमा गएर श्रीमान् श्रीमती दुवैले काम गर्न थालेको बताउँदै गुरुङले आफ्नो एउटा छोरो रहेको जानकारी दिनुभयो । “छोरो अहिले नौ वर्षको भएको छ । कामसँगै पढाइलाई निरन्तर लगिरहेकाले दुःखको फल अहिले पाएको छु”, उहाँले भन्नुभयो । अहिले नियमित औषधि खाइरहेकाले स्वास्थ्यसँगै काममा कुनै समस्या नरहेको उहाँले बताउनुभयो ।
अनेक दुःख र सङ्घर्षका बीचमा निरन्तर मेहनत गरेपछि अहिले प्राथामिक तहमा स्थायी शिक्षकमा नाम निकाल्न सफल भएको जनाउँदै उहाँले भेद्भाव नभए निजामती सेवाअन्तर्गत अधिकृत बनेर देश र जनताको सेवा गर्ने इच्छा रहेको गुरुङले बताउनुभयो ।
विगत १८ वर्षदेखि एआरटी (एचआइभी सङ्क्रमितले सेवान गर्ने औषधि) औषधि सेवन गर्दै आउनुभएकी भरतपुर महानगरपालिका निवासी सविना पण्डित (नाम र थर परिवर्तित) अहिले एड्स सङ्क्रमितको संस्था राष्ट्रिय समन्वय संयन्त्रमा युवाबाट छनोट भएर काम गर्दै हुनुहुन्छ ।
उहाँले एड्स सङ्क्रमण भएको पुष्टि भएपछि औषधि सेवन गर्दा आफूलाई सुरुआती समयमा निकै कठिन भएको बताउँदै अहिले सहज हुँदै गएको जनाउनुभयो । “पहिला मैले केही गर्न सक्दिन भन्ने मनमा भावना आएको थियो । अब भने यो रोग सामान्य हो, आफूले आत्मबल बलियो बनाउन सके जितिन्छ भन्ने अवस्थामा पुगेकी छु । नियमित औषधि सेवन र आत्मबल रोगसँग लड्ने प्रमुख तत्व हुन्”, उहाँले भननुभयो । सङ्क्रमित युवाहरु खुलेर आउन सकेमा समाज परिवर्तन गर्न सकिने भन्दै उहाँले सङ्क्रमितका आवाजलाई सबैले सम्बोधन गर्न आग्रह गर्नभयो ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले एचआइभी एड्स पछिल्लो समय सामान्य रोग जस्तै भएकाले आत्मबल बलियो बनाएर काम गर्न सके सफलता हात पार्न कठिन नहुने धारणा राख्नुभयो । यो रोग सामान्य भए पनि आत्मविश्वास भएमा जीवन सफल बनाउन सकिने उहाँको भनाइ छ ।
एचआइभी एड्स मानव प्रतिरक्षा प्रणालीलाई नष्ट पार्ने भाइरसको सङ्क्रमणका कारण हुने भएकाले नियमित औषधि सेवन र आत्मविश्वासले यो रोगसँग सहजै लड्न सकिने भरतपुर अस्पतालको एएचएफका कार्यक्रम संयोजक कृष्णहरी सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालको एएचएफ कार्यक्रमबाट एक हजार एक सय ९७ जनाले नियमित औषधि सेवन गरिरहेका छन् । यस संस्थाले महिलालाई औषधिसँगै प्रोत्साहनसमेत प्रहान गर्दै आएको उहाँको भनाइ छ । रासस
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
