
नेपाल हेल्थ न्युज, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो जीवनको परवाह नगरी बिसौँ वर्षदेखिका बेथिति अन्त्यका लागि आफूले अभियान सञ्चालन गरेको बताउनुभएको छ । शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
मुख्यमन्त्री सिंहले बेथिति अन्त्यका लागि विगतका सङ्घीयमन्त्री वा प्रदेशका मुख्यमन्त्रीहरूले पनि कुनै काम नगरेको आरोप लागाउनुभयो । उहाँले स्वास्थ्य तथा शिक्षा क्षेत्रमा भएका बेथिति अन्त्यका लागि अभियान सञ्चालन गर्दा विभिन्न ठाउँबाट भड्काउने प्रयास गरेको भन्दै आफूले आँट गरेर अगाडि बढेको दाबी गर्नुभयो ।
मधेशका केही स्थानमा एकैदिन भएको २१ वटा अस्पताल अनुगमनमा २० वटा बिनादर्ता सञ्चालन गरिएको पाइएकाले उक्त अस्पताल तत्काल बन्द गरिएको उहाँको भनाइ छ । उहाँले विगतका सरकारले पनि विभिन्न धम्कीका कारण काम गर्न नसकेको हुनसक्ने भन्दै आफूले बेथिति अन्त्यका लागि ज्यानको बाजी लगाएर भए पनि अभियान जारी राख्ने बताउनुभयो ।
मुख्यमन्त्री सिंहले भन्नुभयो, ‘‘चपुर, नवलपुर र हरिवनमा २१ वटा अस्पतालको अनुगमन गर्दा २० वटा बिनादर्ताको थियो जुन त्यही दिन बन्द गयौँ र एउटा मात्र सञ्चालन भयो । अब यो २० जना मेरो पछाडि खनिएर लाग्छ । तर उनीहरूले जे–जे भन्नु छ भनोस्, जबसम्म कन्ट्रोल हुँदैन तबसम्म यो अभियान रोकिँदैन ।’’
मुख्यमन्त्री सिंहले मधेश प्रदेशका आठै वटा जिल्लामा नक्कली डाक्टरले मान्छेको ज्यानसँग प्रत्यक्ष खेलवाड गरेको भेटिएको बताउनुभयो । बिना मापदण्ड खोलिएका अस्पतालहरूमा डाक्टरको एनएमसी नम्बर समेत नक्कली भेटिएको उहाँको भनाइ छ । उहाँले एम्बुलेन्स चालक तथा अनमी र अहेब पढेका व्यक्तिहरूले समेत अस्पताल सञ्चालन गरेको भेटिएको बताउनुभयो ।
मुख्यमन्त्री सिंहले एसइई नजिक आइसकेकाले त्यसमा भएका बेथिति अन्त्यका लागि आफूले अभियान सञ्चालन गरी रहेको बताउनुभयो । उहाँले मधेशका आठ वटै जिल्लाका शिक्षा अधिकारीलाई एसइई परीक्षामा कतै चिट भेटिए केन्द्रध्यक्षलाई निलम्बन गर्नेसम्मको तयारी गरेको बताउनुभयो ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

