
नेपाल हेल्थ न्युज, बझाङ । जिल्ला अस्पताल बझाङमा एक हप्तादेखि रेविज रोग विरुद्धको भ्याक्सिन अभाव हुँदा सेवाग्राहीलाई समस्या भएको छ ।
रेविज रोग विरुद्धको भ्याक्सिन अभाव भएपछि जिल्ला अस्पताल बझाङमा रेबिजको सुई लगाउन आउने बिरामीहरू त्यसै फर्कन बाध्य भएका छन् । अस्पतालमा एक हप्तादेखि भ्याक्सिन अभाव भएको जिल्ला अस्पताल बझाङका प्रमुख डा. नवराज जोशीले बताउनुभयो ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको आपूर्ति स्वास्थ्य केन्द्र धनगढीबाट यसअघि भ्याक्सिन आउने गरेकोमा पछिल्लो एक हप्तादेखि भ्याक्सिन नआएकोले समस्या भएको उहाँले बताउनुभयो । अस्पतालबाट पटक पटक भ्याक्सिन माग भए पनि उपलब्ध हुन नसकेको उहाँको भनाइ छ । यो यस अस्पतालको मात्र समस्या नभएर प्रदेशभरिका अस्पतालहरूमा रेविज रोग विरुद्धको भ्याक्सिन अभाव रहेको समेत डा.जोशीले बताउनुभयो ।
रेविज विरुद्धको भ्याक्सिन औषधि पसलहरूमा भने प्रति भाइल ६ सय रुपैयाँसम्म पर्ने गरेको छ । कुकुरले टोकेका व्यक्तिले तीन पटक रेविज विरुद्धको भ्याक्सिन लगाउनुपर्ने हुन्छ । जिल्ला अस्पतालमा दैनिक १०/१५ जना बिरामी रेबिज रोग विरुद्धको खोप लगाउन आउने गरेका छन् ।
छविसपाथिभेरा गाउँपालिका–६ माटेसाघुँका भुवन सिंहले छोरीलाई कुकुरले टोकेपछि आइतबार रेविज विरुद्धका खोप लगाउन जिल्ला अस्पताल लगायत जिल्लाका सबै स्वास्थ्य संस्थामा सोध्दा अभाव भएको भन्ने खबर आएपछि खोप नलगाएरै घर फर्किएको बताउनुभयो । नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत हरेक नागरिकले आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने व्यवस्था गरिएको भए तापनि सरकारी अस्पतालबाट निःशुल्क रूपमा पाउने स्वास्थ्य सेवाबाट नागरिक वञ्चित भएका हुन् ।
आहारपूरकलाई औषधिको दायरामा राख्ने प्रस्तावप्रति व्यवसायीको आपत्ति
मंगलबार, साउन १२, २०८३
‘लेट्स ब्रेक इट’ अभियानः २०३० सम्म हेपाटाइटिस सी उन्मूलनको लक्ष्यमा नेपाल-डा. सर्वेश शर्मा
मंगलबार, साउन १२, २०८३


